कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

बाढीले यातायात अस्तव्यस्त

जनकपुर — लगातारको वर्षाले नदीमा आएको बाढीले सडक र पुल भत्काउँदा जनकपुरसँग धनुषाका ग्रामीण क्षेत्रको सडक सञ्जाल टुटेको छ । जनकपुरबाट पूर्वपश्चिम राजमार्ग जोड्ने सडक सुचारु रहे पनि भारतसँग जोड्ने जटही र भिठामोड सडक ठप्प छन् ।

जनकपुर जोड्ने ग्रामीण यातायातका साधन बाढीकै कारण सञ्चालनमा आउन सकेका छैनन् । महोत्तरीको भब्सी खोलाले पूल भत्काउँदा काठमाडौं चल्ने बस थन्किएका छन् । यात्रु आभावमा पूर्व चल्ने अधिकांश बस चलेका छैनन् ।


भारतीय नाका जोड्ने जनकपुर–जलेश्वर–भिठामोड सडक खण्डको पिपरामा झण्डै ५० मिटर सडक बाढीले बगाएको छ । सडकबाट नदीको भेल छ । हिलाम्मे र डुवान सडकका कारण यात्रुलाई पैदल यात्रा गर्न कठिन छ । बाढीले महोत्तरीको खैरा चोकभन्दा दक्षिण रातो नदीले झण्डै ३० मिटर सडक बगाएको छ । जनकपुर–भिठामोड सडक अवरुद्ध हुँदा आलु, प्याज, चामल, दालसँगै पेट्रोलियम पदार्थ लोड गरेको सयौं ट्रक भारतीय नाकामा रोकिएका छन् ।


आपूर्ति असहज हुँदा आलु, प्याजलगायतका खाद्यान्नको मूल्य आकासिएको छ । भारतीय नाका जोड्ने अर्को जनकपुर–जटही सडक हिलाम्मे भएकाले बस सेवा सञ्चालन गर्न कठिन भएको जनकपुर अञ्चल बस व्यवसायी संघका पूर्वअध्यक्ष श्यामसुन्दर चौधरीले बताए । चौधरीका अनुसार सामान्य दिनमा जनकपुरबाट जटही चल्ने १७ बसमध्ये अहिले मुस्किलले ४ वटा बस सञ्चालनमा छन् । सञ्चालनमा रहेका बसमा पनि यात्री हुँदैनन् ।


जनकपुरलाई सघारा, यदुकुहा, धनुषाधाम, प्रसाही, खजुरी लगायतका ग्रामीण इलाकासँग जोड्ने सडक पनि क्षतिग्रस्त बनेकाले ग्रामीण इलाकासँग जनकपुरको सम्पर्क विच्छेद भएको छ । सडक यातायात अवरुद्ध भएपछि बिरामी र गर्भवतीसमेतलाई अस्पताल ल्याउन कठिन भएको छ ।


पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा बाढीको प्रभाव नदेखिए पनि जनकपुरबाट पूर्व चल्ने अधिकांश बस भने चलेका छैनन् । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार अन्य मार्गको यातायात ठप्प भएकाले यात्रुको संख्यामा पनि उल्लेख्य कमी आएको छ ।


पूर्व जाने यात्रीको आभावमा बस सेवा कटौती गर्नु परेको उनले बताए । सामान्य दिनमा १ सय ५० देखि २ सय वटा बस पूर्वका विभिन्न सहरका लागि प्रस्थान गर्थे अहिले मुस्किलले २० वा २५ वटा बस सञ्चालनमा छन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?