निरन्तर वर्षाले किसान मारमा

भरत जर्घामगर

सिरहा —  हरेक वर्षायाममा सिरहाका विभिन्न ठाउँ जलमग्न हुन्छन् । कारण ‘निकास’ को उचित प्रबन्ध नहुनु । तर, बजार क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भए पनि किसानीको खेतमा पानी नहुँदा सिरहामा रोपाइँ हुन सकेको छैन ।

‘खेतीकिसानीका लागि खेतमा पानी हुनुपर्छ, तर आलिधुर भत्काउने जलमग्न होइन’ सिरहा ईटाटारका वासुदेव यादव भन्छन्, ‘आकाशे पानीको भरमा खेती गर्दै आएका थियौं तर निरन्तर वर्षाले व्याड र रोपाइँमा बसेका किसानलाई क्षनै क्षति पुर्‍यायो ।’ कारण ‘अधिक’ वर्षा हुनु ।


अन्न भण्डार मानिएको यस क्षेत्रका किसान आकाशे वर्षा नहुँदा निराश थिए । ढिलो मनसुन सक्रियपछिको वर्षासँगै किसान उत्साहित त भए तर निरन्तर वर्षाले रोपाइँलाई प्रभावित तुल्यायो । ‘लामो खडेरी पछि वर्षा त भयो, मन खुशि थियो, तर लामो दिनरातको वर्षाले काम गरेन’ सिरहा इटाटारका किसान वासुदेव यादव भन्छन्, ‘पहिला रातमा वर्षा हुन्थ्यो, दिनभर किसानलाई काम गर्नका लागि मौसम छ्यांग हुन्थ्यो । तर यसपटक मौसमको भेउ पाउन सकिन ।’ उनका अनुसार दिनरात वर्षाले छाडेन्, प्रकृतिले समेत साथ दिएन । उनी भन्छन् ‘प्रकृतिले पनि साथ दिन छाड्यो, युवा पुस्ताले खेती गर्न छाडे । खेतीपाति बुढापाकाको काँधमा आइपरेको छ ।


त्यसो त वासुदेवको ३ विघा जग्गामा अहिलेपनि रोपो हुनसकेको छैन । नजिकै सहजा सिंचाई आयोजना छ । विगतमा त्यही आयोजनाको कारण उनको जग्गा सिंचित हुन्थ्यो । तर अहिले सतही सिंचाई योजना खिचातानीका कारण सुचारु छैन । उनी आकाशे वर्षाको भरमा छन् । भन्छन् ‘लामो समय पानी परेन, पानी त पर्‍यो तर खेतमा नअड्ने गरी आलीधुर भत्काएर गयो, किसानीलाई मारैमार ।’


वासुदेवमात्र होइन, सिरहाका अधिकांश किसान रोपाइँ हुन नसक्दा चिन्तित छन् । असार बित्न लाग्दासमेत जिल्ला ४ प्रतिशतमात्र रोपाइँ भएको छ । केही दिन यता मनसुन सक्रिय भए पनि किसानले रोपाइँ गर्न सकेका छैनन् ।

बर्सेनि डुबान
सिंचाई अभावमा ग्रामीण क्षेत्रका किसान धान रोपाइँ गर्न सक्दैनन् भने भेल निकासको दीर्घकालीन समस्या हल नर्गदा सिरहाका बजार क्षेत्रका स्थानीय डुबानको मारमा पर्छन । जिल्लामा कमला, बलान, गागन र खुट्टी मूख्य खोला हुन । यी सतही नदी प्रवाह क्षेत्रमा वर्षायाममा जलस्तर बढी हुन्छ । वर्षायामसँगै यो जलप्रवाह बढेको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित कमला नदीको बगरमा सानो कुटी बनाएर बस्दै आएका गुद्रु मुखियाको घर बाढीले बगाउँदा मुखिया रातभरी कुटीछेउको रुखको हाँगामा फसेका छन् । बिहीबार राति कुटी बगाएपछि मुखियाले नजिकैको रुखमा चढेर आफ्नो ज्यान जोगाए । बाढी आएलगत्तै बगरको रुखमा चढेका मुखिया शुक्रबार दिनभर हाँगामाथि छन् । नदीमा आएको बाढीको बहाव अत्यन्त तीब्र भएकोले उनको उद्धार हुनसकेको छैन ।


मुखियाको उद्धार गर्न पुगेको उद्धार टोली बाढीमा जान नसकेपछि बाढी कम हुने आशामा नदीको किनारामा नै उभिएका छन् । निरन्तर वर्षाकाकारण बाढीका बहाव कम हुने नदेखिएकोले जिल्ला प्रशासन कार्यालय सिरहाले गृह मन्त्रालयसँग मुखियाको उद्धारको लागि हेलिकप्टर माग गरेको छ ।


यस्तै, सिंचाइ प्रयोजनका लागि कमला नदीको बााधसँग जोडिएको कल्भर्ट भत्किँदा कमलाको बाढी सिरहा नगरपालिका–६ स्थित बसबिट्टा गाउँमा पस्दा जलमग्न भएको छ । सिंचाइँका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेको स्थानीयले जानकारी दिए ।

प्रकाशित : असार २९, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

उप्किने, भत्किने, टालटुल पार्ने

बेंसीसहर–डुम्रे सडकको बेहाल
आश गुरुङ

लमजुङ — मुग्लिन–पोखरा जोड्ने पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि शाखा सडकहरू निर्माण गरिए  । गोरखा जान आँबुखैरनीबाट सडक खनियो भने लमजुङ जोड्न तनहुँको डुम्रेबाट  ।

डुम्रेबाट ०२९ मा खन्न सुरु गरिएको सडक बेंसीसहरको ४२ किलोमिटरसम्म पुर्‍याउन डेढ दशक लाग्यो । डुम्रे–बेंसीसहर सडकको ट्र्याक ०४६ मा खुलेको हो । ट्र्याक खुलेलगत्तै बेंसीसहरकी कमला केसीलाई बेंसीसहरबाट डुम्रेसम्म शक्तिमान गाडी र डुम्रेबाट नारायणगढ पुग्न ठूलो बस चढेको अझै सम्झना छ । ‘पिच भएपछि त सडकमै सुते पनि निद्रा लाग्ला जस्तै राम्रो थियो । त्यही सडक बिग्रिँदा अहिले गाडीमा चढ्न पनि मन लाग्दैन,’ सडकको अहिलेको दुरवस्था बताउँदै उनले भनिन्, ‘गाडी ठोक्किने, उफ्रने गर्छ । गाडीभित्रै हिलो पस्छ । बाटो बिग्रिएर बेहाल भएपछि डुम्रेबाट बेंसीसहर पुग्न २ घण्टा लाग्छ ।’


०५२ देखि कालोपत्रे गर्न थालिएकामा उक्त सडक पूरा हुन ४ वर्ष लागेको थियो । ‘मैले त्यतिबेलै भनेको थिएँ, पाउँदीदेखि बेंसीसहरसम्मको सडक कालोपत्रे गुणस्तरको भएन,’ तत्कालीन जिल्ला विकास समिति सभापति जमीन्द्रमान घले भन्छन्, ‘अहिले बिग्रनुको कारण त्यही हो । जग बलियो भए मात्रै घर बलियो हुनेरहेछ ।’


उनका अनुसार पहिलेदेखि डुम्रेबाट पाउँदीसम्मको बाटो राम्रो तर पाउँदी–बेंसीसहर खण्ड अस्तव्यस्त थियो । सडक बनेयता बर्सेनि मर्मतसम्भार हुँदै आएको छ । सधैं जीर्ण छ । ठाउँठाउँमा पिच उक्किएका छन् । सडक कालोपत्रे भएको दुई दशकसम्म पनि विस्तारको काम भएको छैन । २०५६ बाट निर्मित ७० मेगावाटको मध्यमर्स्याङ्दीले पाउँदीदेखि उदिपुर दलालसम्मको सडक बढी प्रयोग गर्‍यो । बढी भार बोकेका गाडी गुडदा त्यतिबेलै सडक छियाछिया भयो । ४ वर्षमा सक्ने गरी सुरु गरिएको सडक करिब ९ वर्ष लाग्यो । स्थानीयले सडक बनाउन दबाब दिए पनि मध्यमर्स्याङदीले सिउँडीबार क्षेत्रमा बाहेक अरूमा झारा टार्ने काम गरेको थियो । त्यसयता जिल्लामा थुप्रै आयोजना थपिए । निर्माण सामग्री ओसार्नर् ेएक मात्र सडकलाई झन् भार थपियो ।


कालिका कन्स्ट्रक्सनले पाउँदीदेखि बेंसीसहरसम्म र डुम्रेदेखि पाउँदीसम्मको बाटो शर्मा एन्ड कम्पनी कन्स्ट्रक्सनले निर्माण गरेको हो । गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीका अनुसार सडक निर्माण गर्दा त्यतिबेला जताबाट सजिलो भयो, उतैबाट ल्याएको देखिन्छ । ‘४२ किलोमिटर सडकलाई मिल्ने ठाउँबाट ल्याएको भए ३२ किलोमिटर मात्रै हुने देखिन्छ तर बाटो घुमाइयो,’ उनले भने, ‘बाढी आएर यातायात अवरुद्ध बनाउने ठाउँमा पुलको आवश्यकता भए पनि निर्माण गरिएन ।’ कमसल निर्माण सामग्री प्रयोग गरिएको आवाज उठे पनि त्यतिबेला सडक आएकामा सबै मक्ख थिए ।


बेंसीसहर–काठमाडौं चल्ने माइक्रोबसका चालक टसबहादुर गुरुङका अनुसार कैयौंपटकको बाढीले सडकमै बास बस्नुपरेको छ । कजबेका ठाउँमा पुल निर्माण गर्न माग गरे पनि सुनुवाइ भएको छैन । ‘बिग्रिएको सडकमा गाडी गुडाउँदा ५ वर्षसम्म केही नहुने गाडी वर्ष दिनमै बिग्रियो । ठोक्किएर तेल, मोबिल चुहिन्छ । अगाडि, पछाडि ठोक्किएर ध्वस्त छ,’ उनले भने, ‘बिग्रिएको सडकले दुर्घटना बढाएको छ । बिस्तारै आउँदै गरेको सवारी पनि सडकका कारण चिप्लिएर वा घिस्रिएर अर्कोमा ठोकिन्छ ।’


डिभिजन सडक कार्यालय दमौलीका डिभिजनल इन्जिनियर विष्णुप्रसाद काफ्लेका अनुसार मन्त्रिपरिषद् बैठकले डुम्रे–बेंसीसहर–चामे सडकलाई राजमार्ग बनाएको छ । बेंसीसहर–डुम्रे सडकको चौडाइ ३ मिटर ७५ सेन्टिमिटरको छ । नालीसमेत गरी ७ मिटरको छ । ‘भन्न त राजमार्ग भनियो । बाटो हेर्दा कुनै जिल्ला होइन, गाउँ जाने बाटो जस्तो देखिन्छ,’ उनले भने ।


मर्मतमा ठेक्का परेन
बेंसीसहर–डुम्रे सडक निर्माणको करिब २ दशकको अवधिमा सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि फ्रिज हुने गरेको छ । मर्मतसम्भारका लागि मात्रै बर्सेनि कम्तीमा १ करोड रुपैयाँ खर्चिए पनि अधिकांश बजेट फिर्ता जाने गरेको हो । सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा डिभिजन सडक कार्यालय दमौलीले ५ करोडमा बोलपत्र आहान गरेको थियो । इन्जिनियर सचिन श्रेष्ठका अनुसार दुई पटकसम्म लगाएको बोलपत्र आहवानमा कसैले ठेक्का हालेनन् ।


आवधिक मर्मतका लागि ५ करोड ३२ लाख ठेक्का आहवान भएकामा एउटा निर्माण कम्पनीले ठेक्का हालेको थियो । उक्त कम्पनी पनि प्राविधिक मूल्यांकनमा असफल भयो । दोस्रोपटक चैतमा ठेक्का आह्वान भएकामा कसैले पनि प्रस्ताव पेस गरेनन् । वैशाख मसान्तसम्मको म्यादमा कुनै ठेक्का नपरेपछि कार्यालयले अर्को ठेक्का आह्वानका लागि विभागमा लेखेर पठाएको थियो । त्यसको जवाफ आएन । ‘यो सडकका लागि ठेक्का नै पर्दैन । काम गर्नै मान्दैनन्,’ उनले भने । ठेक्का नपरेपछि टालटुलको काम अघि बढाएको उनले बताए ।


इन्जिनियर ठाकुर भण्डारीका अनुसार डुम्रेको शून्य विन्दुदेखि ७ किमि र ७ देखि १४ किमिसम्मको सडक करिब १६/१६ लाख रुपैयाँमा ठेक्का आहवान भएर काम भइरहेको छ । टालटुले काम भने दमौलीको पनेरु कन्स्ट्रक्सनले गरिरहेको छ । ३० किमिको दामादीदेखि ४२ किमिको बेंसीसहरम्म खडगदेवी कन्स्ट्रक्सन बन्दीपुरले निर्माण सम्झौता गरेको छ । असार मसान्तसम्म गर्नुपर्ने काम अहिलेसम्म सुरु नगरेको सडक कार्यालयले जनाएको छ ।


सधैंको सास्ती
डुम्रे–बेंसीसहर खण्डको भोटेओडारदेखि बेंसीसहरसम्मको करिब १४ किमि ठाउँठाउँमा ठाडो खोला छन । खोलामा पुल छैनन् । वर्षायाममा धेरै जोखिम भकुन्डे नजिकै खहरे र गैरी खोलामा छ । दैनिकजसो सवारी र यात्रुलाई सास्ती हुन्छ । पानी परेपछि उर्लेर आउने खोलाले ढुंगामाटो बगाएर ल्याउँछ । कहिले दिनभर रोकिनुपर्ने, कहिले गाडीमै बास बस्नुपर्ने बाध्यता रहेको सवारीचालक नेत्र केसी बताउँछन् ।


मनाङ र लमजुङलाई राजधानी तथा विभिन्न ठूला सहरसम्म जोड्ने बेंसीसहर–डुम्रे सडकको वैकल्पिक मार्ग छैन । बेंसीसहरदेखि पाउँदीसम्मको १८ किमि खण्डमा एक दर्जन खहरे खोला छन् । खहरे उर्लिंदा स्कुले विद्यार्थीलाई पनि समस्या परेको बेंसीसहर नगरपालिका–२, भकुन्डेस्थित बालकल्याण माविका प्रधानाध्यापक तीर्थ न्यौपानेले बताए । विभिन्न स्थानबाट गाउँगाउँका लागि कच्ची सडक निर्माण गरिएका छन् । भिरालो ठाउँबाटै ‘जबर्जस्ती’ सडक लाने गरिएकाले बाढीपहिरो बेंसीसहर–डुम्रे सडकमै थुप्रिन्छ ।


फराकिलो पार्ने योजना
सरकारले डुम्रेदेखि बेंसीसहर हुँदै मनाङसम्मको बाटो फराकिलो बनाउने भएको छ । यसका लागि डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालय स्थापना गर्ने तयारी सरकारको छ । प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङका अनुसार सडक स्तरोन्नतिका लागि आयोजना प्रस्ताव गरिएको छ । आयोजनाबारे निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको छ । ‘बर्सेनि करोडौं बजेट विनियोजन हुने तर काम नहुने समस्या भयो । त्यसैले डुम्रेदेखि मनाङसम्म सडक हेर्न आयोजनाको आवश्यकता पर्‍यो,’ नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले भने, ‘आयोजना स्थापनापछि यही सडककै लागि मात्रै काम गर्छ ।’ उनले आयोजनाको कार्यालय बेंसीसहरमा राख्न प्रस्ताव गएको बताए ।


डुम्रेदेखि बेंसीसहरसम्मको सडक हाल ३ दशमलव ७५ मिटर कालोपत्रे भाग छ । यसलाई बढाएर २ लेनको बनाउने प्रस्ताव छ । ७ मिटर चौडाइ पिच हुने र दुवैतर्फ साढे १/१ मिटरको नालीसहितको किनार हुनेछ । पूर्व सांसद जमीन्द्रमान घलेका अनुसार आयोजनाले काम गर्न थालेपछि डुम्रे–बेंसीसहर सडक हालको पृथ्वी राजमार्ग जतिको फराकिलो हुनेछ । उनले बेंसीसहरदेखि मनाङसम्मको पहिलो चरणमा २२ किलोमिटर सडक रामबजारसम्म मध्यम साइजमा कालोपत्रे सुरुवात हुनेछ ।


सडकको डीपीआर तयार भइसकेको छ । डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेका अनुसार आगामी आर्थिक वर्षका लागि काम अघि बढाउन सरकारले ३२ करोड बजेट विनियोजन गरेको छ । बहुवर्षे योजनाअन्तर्गत प्रस्तावअनुसार बेंसीसहर–डुम्रे र बेंसीसहर–मनाङ गरी २ खण्डमा काम हुनेछ ।

प्रकाशित : असार २९, २०७६ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्