बीउ छैन, पानी पर्दैन

असार १५ पछि किसानका खेतमा रोप्न मिल्ने गरी पानी नपर्दा आकाशकै भरमा खेती गर्ने किसान पीडामा
शंकर आचार्य

(पर्सा) — अगुवा किसान राधेश्याम राय थारूको चार बिघा खेतमा रोपाइँ बाँकी छ । कुलोको पानीले मुस्किलले ५ कठ्ठा खेतमा रोपाइँ गर्न भ्याएका छन् । बाँकी खेत आकाशे पानी कुर्नुको विकल्प छैन । ‘यस वर्ष दैवले पनि ठगेका छन्, न वर्षा भयो, न मल बीउ पाइएको छ,’ उनी भन्छन्, ‘खै कसरी धान रोप्ने होला ?’ जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतो किसानलाई यस वर्ष समस्या भएको बताउँछन् । 

‘मनसुन भित्रियो भन्ने सुनेका हौं, तर पानी परिदिएन, कतिपय किसानले डीएपी मल पाएका छैनन्, कतिपयले सरकारी बीउ बिजन पाएका छैनन्,’ उनले भने, ‘बेर्ना तयार भएका किसानको बेर्ना पनि खेतमै सुक्न लागेको छ, गाउँपालिकाभित्र अधिकांश किसानको खेत बाँझै छ ।’ उनले गाउँपालिकाका कृषि सहकारीले डीएपी मलको साटो युरिया मल लिन किसानलाई दबाब दिने गरेको बताए ।

यो पीडा जिराभवानी गाउँपालिकाका किसानको मात्र नभई जिल्लाका प्राय: सबै स्थानीय तहका किसानको हो । मनसुन आए पनि पर्याप्त वर्षा नहुँदा कतिपय किसानले रोपाइँ गर्न पाएका छैनन् । धेरै किसानले कृषि ज्ञान केन्द्रबाट बिउ नपाउँदा भारतीय बिउको भर पर्नु परेको गुनासो गरे । असार १५ कै दिन जिल्लाका अधिकांश भागमा पानी परे पनि त्यति बेला धेरै किसानका बेर्ना तयार नभएकाले उनीहरूले रोपाइँ गर्न भ्याएनन् । त्यस यता रोपाइँलाई मद्दत हुने गरी मनसुनी वर्षा हुन सकेको छैन । जोतेर रोपाइँका लागि तयार पारिएको खेतमा अहिले माटो सुकेर धुलो उडिरहेको छ । कतिपय किसानको खेतमा धाँजा फाटेको छ ।
सहकारीले पर्याप्त मल लगेका छन् ।

जिल्लाका किसानले डीएपी मल नपाएको गुनासो गरी रहँदा कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जले भने प्राय: सबै कृषि सहकारीले डीएपी मल लगेको जनाएको छ । कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवले जिराभवानी गाउँपालिकाकै ५ वटा सहकारीले यसै साता माग गरे अनुरूप मल लगेको दाबी गरे ।

रवि बहुउद्देश्यीय सहकारीले ५०/५० बोरा युरिया र डीएपी तथा १० बोरा पोटास, संगम सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी, सुपौली सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी, सूर्याजल सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी, जय मारुती नन्दन सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी मल लगेको उनले जानकारी दिए । यहाँबाट मल लग्ने सहकारी सम्बन्धित स्थानीय तहका वडा अध्यक्षको रोहवरमा आआफ्नो सहकारीमा मौज्दात राख्ने परीपाटी रहेकाले जनप्रतिनिधिले नै मल नपाएको गुनासो गर्नु आश्चर्यजनक रहेको उनले बताए । कार्यालयसँग पनि डीएपीको मौज्दात सकिन लागेको उनले बताए । बिहीबारसम्म कार्यालयसँग ४ सय ७५ मेटन डीएपी र १ हजार १ सय ७ मेटन युरिया मौज्दात रहेको उनले बताए । साउन १५ सम्ममा कम्पनीको २० हजार मेटन डीएपी मल आउने उनले बताए । असार २९ तिर साल्ट ट्रेडिङको पनि डीएपी आउन थाल्ने भएकाले त्यसले पनि माग धान्ने उनको अनुमान छ ।

यता संगम कृषि सहकारीका प्रमुख सञ्जिवप्रसाद चौधरीले किसानबाट डीएपीको माग अत्यधिक रहेको तर त्यस अनुरूप मल नपाएकाले समस्या भएको उनले बताए । ‘हामीलाई माग नभएको युरिया मल दिइएको छ, किसानले खेतमा डीएपी मल छर्ने हो,’ उनले भने, ‘आजै कम्पनीका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग पनि यो समस्या बारे कुरा गरेको छु, साल्ट ट्रेड्रिङको मल आउँदै छ भनी आश्वासन पाएको छु, हेरौं कहिलेसम्म आउँछ ।’
कृषि ज्ञान केन्द्र वीरगन्जका प्रमुख डा. रामचन्द्र यादवले केन्द्रले किसानलाई उन्नत बिउ दिन नसकेको आरोपको खण्डन गरे । कार्यालयले कृषि सहकारीमार्फत हालै ८१ मेटन धानको बिउ वितरण गरेको उनले बताए । किसानबाट माग नै नआएपछि यस वर्ष ७ सय ५ मेटन बिउ फिर्ता गएको उनले बताए ।

प्रकाशित : असार २१, २०७६ १०:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

महिला बालबालिकाको आत्महत्या बढ्दो

शंकर आचार्य

(पर्सा) — जिल्लामा गत वर्षभन्दा चालु वर्षमा आत्महत्याका घटना बढेका छन् । गत वर्ष ६८ घटना भएकामा चालु वर्षको हालसम्म ७० वटा भएका छन् । वीरगन्ज महानगरपालिका २१ बस्ने १५ वर्षीया नीलमकुमारी साहले जेठ १३ मा आफ्नै घरमा आत्महत्या गरिन् ।

वीरगन्ज महानगर १४ पिप्रा टोलकी ११ वर्षीया प्रियंका कुशवाहाले फागुन ११ मा सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरिन् ।

नाबालिकाले आत्महत्या गरेको यी दुई प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय जिल्लामा महिला तथा बालबालिकाको आत्महत्याको दर बढदो क्रममा छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा आत्महत्याका ७० घटना भइसकेका छन् । जसमा ८ बालिका तथा २ बालकले आत्महत्या गरेका छन् । त्यसैगरी २६ महिला र २१ पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गरेकामध्ये ५६ ले झुन्डिएर तथा १४ ले विषसेवन गरी आत्महत्या गरेका छन् ।

गत आर्थिक वर्षको तथ्यांकको तुलनात्मक विश्लेषण गर्दा चालु आवमा आत्महत्या गर्नेको संख्या बढेको छ । तीमध्ये महिला र बालबालिकाको संख्या झन बढदो छ । गत आवभरमा कुल ६८ वटा आत्महत्याका घटना भएकोमा तीमध्ये ८ बालबालिका, ३० महिला र ३० पुरुष थिए । पछिल्लो समय महिला तथा बालबालिकामा बढदो आत्महत्याको दरले सबैलाई चकित बनाउँदैछ । आत्महत्या गर्नेमध्ये अधिकांश बालबालिकाले सुसाइड नोट लेख्ने र उनीहरूले जीवनदेखि निराश भई बाँच्नुको अर्थ नरहेको कारण देखाउने गरेका छन् । यसै वर्ष जिल्लाका दुई किशोरीले भारतमा गई रेल्वे लिकमा आत्महत्या गरेका छन् । मानसिक रोग विशेषज्ञ डा. भरत गोइत पनि पछिल्लो केही वर्षयता महिला तथा बालबालिकामा आत्महत्याको दर बढदै जानु चिन्ताको विषय भएको बताउँछन् ।

सामान्यतया मानसिक रोगीहरू डिप्रेसनमा जाँदा, लागूपदार्थ सेवन गर्दा वा कुनै खाले असन्तुष्टि वा आवेशमा आएर पनि आत्महत्या गर्ने प्रवृत्ति रहेको छ,’ उनले भने, ‘तैपनि आत्महत्या रोक्न सकिन्छ, मानिसले आत्महत्या उन्मुख नहुने वातावरण बनाउन जरुरी छ ।’ तराईको हकमा महिलाहरू डिप्रेसनमा हुने, घरेलु हिंसा आदि कारणले उनीहरू आत्महत्या गर्न उन्मुख हुन्छन् । महिलालाई मानसिक समस्या हुँदा अझै पनि उनीहरूको उपचार नगर्ने प्रवृत्ति कायमै छ । महिला र बालबालिका किन आत्महत्या गर्दैछन्, यसतर्फ गहन अध्ययन र अनुसन्धान जरुरी छ,’ डा. गोइतले भने, ‘यसका लागि उनीहरूलाई सल्लाह, सुझाव, परामर्श आदि आवश्यक पर्छ भने त्यसका लागि हटलाइन सेवा सुरु गर्ने वा अन्य तरिकाहरू अपनाउन सकिन्छ ।’

प्रकाशित : असार १८, २०७६ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×