कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीउ छैन, पानी पर्दैन

असार १५ पछि किसानका खेतमा रोप्न मिल्ने गरी पानी नपर्दा आकाशकै भरमा खेती गर्ने किसान पीडामा
शंकर आचार्य

(पर्सा) — अगुवा किसान राधेश्याम राय थारूको चार बिघा खेतमा रोपाइँ बाँकी छ । कुलोको पानीले मुस्किलले ५ कठ्ठा खेतमा रोपाइँ गर्न भ्याएका छन् । बाँकी खेत आकाशे पानी कुर्नुको विकल्प छैन । ‘यस वर्ष दैवले पनि ठगेका छन्, न वर्षा भयो, न मल बीउ पाइएको छ,’ उनी भन्छन्, ‘खै कसरी धान रोप्ने होला ?’ जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतो किसानलाई यस वर्ष समस्या भएको बताउँछन् । 

बीउ छैन, पानी पर्दैन

‘मनसुन भित्रियो भन्ने सुनेका हौं, तर पानी परिदिएन, कतिपय किसानले डीएपी मल पाएका छैनन्, कतिपयले सरकारी बीउ बिजन पाएका छैनन्,’ उनले भने, ‘बेर्ना तयार भएका किसानको बेर्ना पनि खेतमै सुक्न लागेको छ, गाउँपालिकाभित्र अधिकांश किसानको खेत बाँझै छ ।’ उनले गाउँपालिकाका कृषि सहकारीले डीएपी मलको साटो युरिया मल लिन किसानलाई दबाब दिने गरेको बताए ।


यो पीडा जिराभवानी गाउँपालिकाका किसानको मात्र नभई जिल्लाका प्राय: सबै स्थानीय तहका किसानको हो । मनसुन आए पनि पर्याप्त वर्षा नहुँदा कतिपय किसानले रोपाइँ गर्न पाएका छैनन् । धेरै किसानले कृषि ज्ञान केन्द्रबाट बिउ नपाउँदा भारतीय बिउको भर पर्नु परेको गुनासो गरे । असार १५ कै दिन जिल्लाका अधिकांश भागमा पानी परे पनि त्यति बेला धेरै किसानका बेर्ना तयार नभएकाले उनीहरूले रोपाइँ गर्न भ्याएनन् । त्यस यता रोपाइँलाई मद्दत हुने गरी मनसुनी वर्षा हुन सकेको छैन । जोतेर रोपाइँका लागि तयार पारिएको खेतमा अहिले माटो सुकेर धुलो उडिरहेको छ । कतिपय किसानको खेतमा धाँजा फाटेको छ ।

सहकारीले पर्याप्त मल लगेका छन् ।


जिल्लाका किसानले डीएपी मल नपाएको गुनासो गरी रहँदा कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जले भने प्राय: सबै कृषि सहकारीले डीएपी मल लगेको जनाएको छ । कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवले जिराभवानी गाउँपालिकाकै ५ वटा सहकारीले यसै साता माग गरे अनुरूप मल लगेको दाबी गरे ।


रवि बहुउद्देश्यीय सहकारीले ५०/५० बोरा युरिया र डीएपी तथा १० बोरा पोटास, संगम सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी, सुपौली सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी, सूर्याजल सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी, जय मारुती नन्दन सहकारीले ७० बोरा युरिया र ५० बोरा डीएपी मल लगेको उनले जानकारी दिए । यहाँबाट मल लग्ने सहकारी सम्बन्धित स्थानीय तहका वडा अध्यक्षको रोहवरमा आआफ्नो सहकारीमा मौज्दात राख्ने परीपाटी रहेकाले जनप्रतिनिधिले नै मल नपाएको गुनासो गर्नु आश्चर्यजनक रहेको उनले बताए । कार्यालयसँग पनि डीएपीको मौज्दात सकिन लागेको उनले बताए । बिहीबारसम्म कार्यालयसँग ४ सय ७५ मेटन डीएपी र १ हजार १ सय ७ मेटन युरिया मौज्दात रहेको उनले बताए । साउन १५ सम्ममा कम्पनीको २० हजार मेटन डीएपी मल आउने उनले बताए । असार २९ तिर साल्ट ट्रेडिङको पनि डीएपी आउन थाल्ने भएकाले त्यसले पनि माग धान्ने उनको अनुमान छ ।


यता संगम कृषि सहकारीका प्रमुख सञ्जिवप्रसाद चौधरीले किसानबाट डीएपीको माग अत्यधिक रहेको तर त्यस अनुरूप मल नपाएकाले समस्या भएको उनले बताए । ‘हामीलाई माग नभएको युरिया मल दिइएको छ, किसानले खेतमा डीएपी मल छर्ने हो,’ उनले भने, ‘आजै कम्पनीका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग पनि यो समस्या बारे कुरा गरेको छु, साल्ट ट्रेड्रिङको मल आउँदै छ भनी आश्वासन पाएको छु, हेरौं कहिलेसम्म आउँछ ।’

कृषि ज्ञान केन्द्र वीरगन्जका प्रमुख डा. रामचन्द्र यादवले केन्द्रले किसानलाई उन्नत बिउ दिन नसकेको आरोपको खण्डन गरे । कार्यालयले कृषि सहकारीमार्फत हालै ८१ मेटन धानको बिउ वितरण गरेको उनले बताए । किसानबाट माग नै नआएपछि यस वर्ष ७ सय ५ मेटन बिउ फिर्ता गएको उनले बताए ।


प्रकाशित : असार २१, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?