कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असार १७ सम्ममा गण्डकमा पानी

पर्सा — यस वर्ष असार १७ सम्म गण्डक नहरमा पानी आइसक्ने नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जले जनाएको छ ।

कार्यालयका डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद साहले हाल निर्माणाधीन वीरगन्ज पथलैया ६ लेन व्यापारिक मार्गको अवरोध नरहे असार १५ सम्म भारतले नहरमा पानी दिइसक्ने बताए ।


‘व्यापारिक मार्गको नहरमा पुल बनाउने क्रममा ठेकेदारले राखेको माटो हटाउन आवश्यक छ,’ उनले भने, ‘ठेकेदारले अझै नहरबाट माटो हटाएको देखिएन, नहटाएर नहरको पानी रोक्ने काम गर्नु भएन ।’ ठेकेदार कम्पनीलाई अविलम्ब माटो हटाएर नहरलाई पूर्ववत अवस्था ल्याउन आफूले सचेत गरेको उनले सुनाए ।


हाल नहरमा भारततर्फ १०६ आरडीमा साइफन बिग्रिएको तर भारतीय पक्षले पानी दिने नियमित समय तालिकाअघि त्यसको मर्मतसम्भार गरिसक्ने प्रतिबद्धता जनाएको उनले सुनाए । भारतसँगको गण्डक सम्झौताअनुसार उसले नहरमा जुन २५ मा पानी छोड्नुपर्छ । तर भारतबाट नेपालसम्म पानी आइपुग्न ३ देखि ४ दिनसम्म लाग्ने गर्छ । त्यसबाहेक नेपालमै नहरमा पूर्ण रूपले पानी प्रवाह हुन थप दुईदेखि तीन दिन लाग्छ ।


२ वर्षअघिको वर्षाको कारण नेपाल र भारत दुवैतर्फ नहरमा विभिन्न स्थानमा क्षति भएपछि नहरमा पानीको आपूर्ति नियमित हुन सकिरहेको थिएन ।


यस वर्ष समयमै पानी आउने भएपछि किसानलाई ठूलो राहत हुनेछ । गण्डकको पानीमा आश्रित किसानले नहरमा पानी आउने अवधिसँग मिल्ने गरी धानको बिउ छर्ने र हुर्काउने गर्छन् । भारतसँगको सम्झौताअनुसार बर्षेनी धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ ।


सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार नहरमा भारत सरकारले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नुपर्ने हो ।


तर उसले यति पानी नेपाललाई दिने गरेको छैन । ८१ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य थियो । भारतबाटै पर्याप्त पानी नछोडिने भएकाले पर्सा र बाराका पूर्वी भेगसम्म पानी पुग्छ । रौतहटसम्म पुग्दा नहरमा पानी सुकिसक्छ ।

प्रकाशित : असार ९, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?