कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैते धान सुक्यो

सुनीता बराल

बर्दिबास, महोत्तरी — महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो । 

चैते धान सुक्यो

भंगाहा नगरपालिकाभित्र किसानले लगाएको सबै धान डढेलो लगाए झैं डढेको स्थानीय शशांक अधिकारीले बताए । निकै मेहेनत गरेर लगायको धान बाली भित्र्याउन नपाउने भएपछि किसानहरू चिन्तित छन् ।


भंगाहा ५ की किसान मधुकरवाली साहले आफ्नो १० कट्ठा जग्गामा लगाएको धान सबै सुकेर बर्बाद भएको बताइन् । जिल्लामा इनार, बोरिङ, चापाकाल, ढिकीपम्पको भरमा किसानहरूले खेती गर्दै आएका छन् । सिंचाइको राम्रो प्रबन्ध नहुँदा जिल्लाका धेरै खेतीयोग्य जग्गामा अझै भनेजस्तो बाली उत्पादन गर्न नसकेको किसान बताउँछन् ।


यो समय अन्नबाली सबै सुकिसकेको र खानेपानीको समेत हाहाकार भएको बर्दिवास ६ किसाननगरका रघुराज काफ्लेले बताए । महोत्तरीको करिब ६० हेक्टर खेतीयोग्य जग्गामा किसानले लगाएका धानबाली पानि नभएपछि सुकेको छ । रोपेको एक महिना नहुँदै धान सुके मात्र छैन, खेतसमेत चिराचिरा परेर फुट्न थालेको छ ।


गर्मी बढेसँगै महोत्तरीमा पानीका मुहान पनि सुक्दै गएका छन् । मुहान सुकेपछि जिल्लाका विभिन्न ठाउँमा खानेपानीको हाहाकार भएको छ । यसअघि किसानले लगाउने चैते धान महोत्तरीमा राम्रो उत्पदन हुँदै आएको र यसपालि भने सिंचाइका मुहान नै सुकेकाले महोत्तरीमा धान उत्पादन शून्य हुने देखिएको कृषि ज्ञान केन्द्र मलङगवा सर्लाहीका प्राविधिक सहायक रामकैलाश साहले बताए ।


किसानको सुविधालाई मध्यनजर गर्दै यस वर्ष मात्रै नगरपालिकामा ४० वटा इनार बनाइएको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले बताए । पानीका मुहान नै सुकेपछि यस वर्ष चैते धानमा भने किसानको मेहेनत खेर जाने देखिएको उनले जनाए ।

प्रकाशित : जेष्ठ १७, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?