ल्यावबिनाको प्रयोगशाला

भरत जर्घामगर

सिरहा — प्रदेश २ का ८ जिल्लाका किसानले लगाउने विभिन्न बालीनालीमा लाग्ने रोग र किराको पहिचान, व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले सदरमुकाम सिरहामा खोलिएको बाली संरक्षण प्रयोगशाला बजेट र जनशक्ति अभावमा उपयोगविहीन भएको छ । प्रयोगशाला नहुँदा सेवा प्रभावित भएको छ ।

बजेट र जनशक्ति अभावमा प्रयोगशालाविहीन भएको सदरमुकाम सिरहास्थित बाली संरक्षण प्रयोगशाला कार्यालय ।तस्बिर : भरत/कान्तिपुर

प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिमार्फत खाद्य सुरक्षा र आय–आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकार मातहतमा रहने गरी सदरमुकाम सिरहामा २०७५ कात्तिक ७ मा बाली संरक्षण प्रयोगशाला स्थापना गरिएको थियो ।

‘प्रयोगशाला स्थापनाका लागि ६० देखि ७० लाख लाग्ने भए पनि ४ लाख मात्र बजेट दिइएको छ,’ बाली संरक्षण प्रयोगशालाका कार्यालय प्रमुख अशोककुमार यादवले भने, ‘४ लाख रुपैयाँले एउटा माइक्रोस्कोप, किरा समात्ने उपकरण, सुकाउने र संकलन गरेर बाकसमा राख्ने सामग्री मात्र खरिद गर्न पुग्यो ।’

उनका अनुसार उपकरण पूरा नभएकाले नै प्रयोगशाला सुचारु गर्न सकिएको छैन । बाली संरक्षण प्रयोगशालालाई कृषकहरूको खेतबारीमा निरीक्षण गरी रोग किराको नमुना संकलन र तिनको संरक्षणमार्फत बालीनालीको क्षति न्यूनीकरणमा कृषकलाई सहयोग पुर्‍याउने जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी कार्यालयले कृषिबाली उत्पादनमा नोक्सानी पुर्‍याउने शत्रु जीव र फाइदा पुर्‍याउने मित्र जीवबारे कृषक पाठशाला, स्थानीय जडिबुटीको प्रयोगबारे कृषकलाई जानकारी गराई एकीकृत बाली संरक्षण व्यवस्थापनमा सहयोग पुर्‍याउने, हानिकारक रासायनिक विषादीको प्रयोगमा कमी ल्याउनमा सहयोग गर्नुपर्नेछ ।

त्यसैगरी प्रदेश २ मा उत्पादन हुने बालीनालीमा लाग्ने रोग र किराको पेस्ट म्याप तयार गर्ने, रोग र किराको संकलन तथा संरक्षण गरी पेस्ट म्युजियम स्थापना गर्ने र यसका माध्यमबाट रोग किराको पहिचान तथा व्यवस्थापन सेवा उपलब्ध गराउने लगायत १३ वटा महत्त्वपूर्ण जिम्मेबारी कार्यालयको भए पनि बजेटसँगै जनशक्ति र प्रयोगशाला अभावमा ती सेवा सञ्चालनमा समस्या भएको कार्यालयले जनाएको छ ।

कार्यालयमा प्रमुख यादवसहित एक जना बाली संरक्षण अधिकृत, प्राविधिक सहायक १, सहलेखापाल १ र १ कार्यालय सहयोगीसहित ५ कर्मचारी कार्यरत छन् । जनशक्ति अभाव र सवारी साधन एउटा जिपको भरमा प्रदेश २ का ८ जिल्लामा सेवा प्रवाह गर्न कठिनाइ भएको कार्यालय प्रमुख अशोक कुमार यादवले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

डढेलो नियन्त्रण सिक्दै गाउँले

अपनाउनुपर्ने सतकर्ता र आगलागी भइहालेमा नियन्त्रण कसरी गर्ने भन्ने तरिका थाहा पाउन प्रयोगात्मक अभ्यास भएको हो
आश गुरुङ

लमजुङ — वनमा एक्कासि आगो लाग्छ । देख्ने एक जनाले गाउँलेलाई भन्छ । गाउँले सबै जुटेर घटनास्थलतर्फ लाग्छन् । गाउँलेले वनको पातपतिंगर फालेर अग्निरेखा कोर्छन् । वनको तल्लो भागको ३ ठाउँबाट आगो बढ्दै छ ।

लमजुङको बेंसीसहर नगरपालिका २ गैरी नजिकै जग्रेनी सामुदायिक वनका बन डढेलो नियन्त्रण अभ्यास सिकाइँदै । तस्बिर : कान्तिपुर

सुरक्षित कपडा, पञ्जा, बुट, हेल्मेट लगाएर गाउँले पानीको ब्याग बोकेर आगो निभाउन आइपुग्छन् । अन्य गाउँले हँसियाले काँचो स्याउला काट्दै अघि बढ्दै आगो निभाउँछन् । केही पानी फालेर आगो निभाउँदै छन् । हावा बगेको दिशाबाट आगो निभाउँदै जान्छन् । अग्निरेखा कोरिएकाले आगो माथि फैलिन पाउँदैन ।

लागिरहेको आगो पनि छिनभरमै निभ्छ । जंगल सखाप हुनबाट जोगिन्छ । बेंसीसहर नगरपालिका २, गैरी नजिकैको जग्रेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण अभ्यास चलिरहँदा वरपरका मानिससमेत झुम्मिन्छन् । उनीहरू साँच्चिकै डढेलो लागेको रहेछ भनी हेर्न आएको वन उपभोक्ता समितिकी अध्यक्ष नानुमाया थापाले बताइन् ।

‘गर्मीयाम र सुक्खायाममा डढेलो लाग्ने भएकाले डढेलो नियन्त्रण अभ्यास सिक्दै थियौं । हारगुहार गरेको सुनेर छिमेकी के भयो भनी हेर्न आए,’ उनले भनिन्, ‘अभ्यासका लागि सल्याइएको आगो निभाउन उहाँहरूले पनि सहयोग गर्नुभयो ।’
डढेलोसम्बन्धी अपनाउनुपर्ने सतर्कता र लागिहालेमा नियन्त्रण कसरी गर्ने भन्ने तरिका उपभोक्ताले प्रयोगात्मक अभ्यास गरेका हुन् । डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थलगत अभ्यासले पछि वनमा आगो लागेमा अपनाइने तरिकाबारेथाहा पाएको उपाध्यक्ष थापाले बताइन् ।

डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले आगो लाग्ने कारण र नियन्त्रण गर्ने तरिकाबारे सिकाएका थिए । डढेलो लाग्दा निभाउन समूहमा जानुपर्ने, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्नुपर्ने उनले बताए ।

वन समूहकी कोषाध्यक्ष निर्मला थापाका अनुसार वनजंगलमा डढेलो लागेको समयमा डराउने र कराउनेभन्दा पनि प्रयोगात्मक रूपमा अघि बढ्नुपर्नेबारे जानकारी पाइएको छ । ‘वनमा आगो लाग्यो । के गरौं, कसो गरौं हुन्थ्यो । आगो निभाउन सकिँदैन होलाजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘आगो निभाउनेबारे तालिम लियौं । आफू कसरी सुरक्षित हुनुपर्छ र आगो कसरी निभाउनुपर्छ भनेर जान्यौं ।’ सचिव सोभिता रानाले वनजंगलमै गएर आगलागी नियन्त्रणबारे गरिएको अभ्यासले आगामी दिनमा नियन्त्रणमा लिन सकिने दाबी गरे । ‘वनलाई कसरी सुरक्षित गर्नुपर्छ भन्ने सिकेका छौं । अरूलाई पनि सिकाउनेछौं,’ उनले भने ।

काफ्लेले चैतदेखि जेठ महिनासम्म उपभोक्तालाई वनजंगल जोगाउने तरिकाबारे अभ्याससहित सिकाउँदै आएको बताए । ‘गर्मी र सुक्खायाममा बनमा डढेलो लाग्ने सम्भावना बढी हुन्छ । होसियारी अपनाउनुपर्छ’ उनले भने, ‘हामीले अभ्यास गराएर होसियारी अपनाउन सचेतना जगाएका छौं । उपभोक्ता समितिलाई आवश्यक सामग्री सहयोग गर्दै आएका छौं ।’ कार्यालयले विभिन्न अग्निनिरोधक सामग्री उपभोक्तालााई दिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्