कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्ज टोलीद्वारा भालु नियन्त्रणमा

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरमा प्रवेश गरेको एउटा भालुलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ  ।

बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सूचना अधिकृत अनिमेश कुमारका अनुसार, निकुञ्जबाट आएको प्राविधिक टोलीले बुधबार राति करिब ८ बजे उक्त भालुलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिएको हो ।

‘दिनभरि त्रास फैलाएको भालुलाई नियन्त्रणमा लिन अन्ततः चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली नै आउनुपर्‍यो, उक्त टोलीले ४ पटक डाट गरेपछि उक्त भालु नियन्त्रणमा आएको थियो,’ उनले भने, ‘पर्सा राष्ट्रिय निकुञ्जमा यस्तो प्राविधिक टोली उपलब्ध नरहेको र चितवनको टोली आउन समय लागेको हो ।’

मंगलबार रातिदेखि बन्दरगाहको मूलगेटको पश्चिमतर्फको सिसौ घारीमा आएर उक्त भालु बसेको अनुमान गरिएको छ । त्यहाँ घना घारी भएकाले भालुलाई लुक्न सहज भएको थियो । तर बुधबार दिउँसो मालवाहक सवारीका चालक तथा सहचालकहरूले उक्त भालु देखेपछि बन्दरगाह परिसरमा हल्लीखल्ली भएको थियो । भालुको डरले त्यस क्षेत्रमा कोही पनि जान सकेका थिएनन् ।

उक्त भालु कहाँबाट कसरी आयो भनी कसैले पनि देखेका थिएनन् । कुमारले उक्त भालु तुलनात्मक रूपमा केही कम हिंस्रक देखिएकाले मानवीय क्षति हुन नपाएको बताए । ‘थाकेको वा केही खाएर सुस्त भएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘त्यस कारणले पनि बढी सक्रिय हुन सकेको थिएन, सामान्य अवस्थामा भएको भए धेरैलाई आक्रमण गर्न सक्थ्यो ।’

भालु भेटिएको स्थानबाट राष्ट्रिय वन करिब २० किमि उत्तरमा रहेकाले यति लामो दूरी तय गरेर मानव बस्ती छिचोल्दै कसरी उक्त भालु आइपुग्यो भनी धेरैले आश्चर्य मानेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा भालु रहेकाले उक्त भालु निकुञ्जबाट राष्ट्रिय वन हुँदै मानव बस्तीमा प्रवेश गरेको अनुमान गरिएको छ ।

प्रकाशित : वैशाख १३, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?