नागरिकता लिनेको भीड थामिनसक्नु

शंकर आचार्य

पर्सा — जिल्ला प्रशासनमा नागरिकता लिन आउनेको भीड अत्यधिक बढेको छ । ०६३/६४ मा जन्मको आधारमा नागरिकता लिएकाका छोराछोरीले वंशजका आधारमा नागरिकता लिन आउने क्रम बढेपछि कार्यालयमा ठूलो भीड देखिएको हो ।

नागरिकता लिन आउनेको अत्यधिक भीडले कार्यालयलाई व्यवस्थापनमै हम्मेहम्मे परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सूचना अधिकृत नेत्रप्रसाद शर्माले चैत १९ यता ६९ वटा वंशजको आधारमा नागरिकता वितरण भइसकेको छ । ‘बिगतमा जन्मको आधारमा नागरिकता पाएकाहरूका ६९ जना छोराछोरीले हाल वंशजको आधारमा नागरिकता पाएका हुन्,’ उनले भने, ‘२०७० चैत २० यता यसरी जन्मको आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशज नागरिकता पाएका थिएनन् ।’

२०७० चैत २० गते २०६३/०६४ मा जन्मको आधारमा नागरिकता पाएकाहरूको सन्तान आफ्ना बाबु आमाले नागरिकता पाउनु अघि जन्मिएको पाइए उनीहरूको हकमा सरकारले नागरिकता रोक्ने निर्णय गरेको थियो । यसरी ५ बर्ष नागरिकता वितरण रोक्का रहेकोमा चैत २५ बाट उनीहरूलाई नागरिकता वितरण सुरु गरिएको थियो । पहिलो दिन ४ जनाले नागरिकता पाएका थिए ।

चैत २५ गतेनै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको कारण रोकिएको नागरिकता वितरण कार्यवैशाख ३ को सर्वोच्चको आदेशले न्यौपानको रिटको हमा नागरिकता वितरण कार्य रोक्का गर्नु नपर्ने देखिएपछिनागरिकता वितरण पुनः सुरु गरिएको हो ।

तर जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरण कार्य व्यवस्थित रुपमा गर्न नसकेको गुनासो नागरिकता लिन आउनेहरू तथा तिनका अभिभावक समेतले गरेका छन् । विशेष गरी दर्ता फाँटमा दर्ता भएकानिवेदनहरू व्यवस्थित रुपमा नराखिएको र सेवाग्राहीहरू फाटमा प्रवेश गरी जथाभावी अभिलेखहरू चलाउने, निवेदन आफूखुशी तलमाथि गर्ने गरेपछि काम ढिलाभएको धेरै सेवाग्राहीको गुनासो छ ।

सहायक प्रजिक शर्माले सेवाग्राहीको गुनासो आएको कुरा स्वीकार्दै नागरिकता बितरण कार्यलाई व्यवस्थित बनाउने सक्दो प्रयास भई रहेको दाबी गरे । ‘भीड बढ्दो छ, हाल नागरिकता लिन आउने र सामान्य अवस्थामा नागरिकता लिन आउने तथा अन्य सेवाग्राहीलाई समेत सेवाको पहुँच होस् भनेर नागरिकता वितरण तथा भीडलाई व्यवस्थित गर्ने सक्दो प्रयास हामी गर्दै छौं,’ उनले भने, ‘नागरिकताका लागि परेका निवेदनहरूउपर पर्याप्त अध्ययन र छानबिन पनि आवश्यक छ, त्यस कारणले ढिलो भए जस्तो लागेपनि हामी पूर्ण रूपले छानबिन गरेर विश्वस्त भएर मात्र नागरिकता बितरण गरी रहेका छौं, नागरिकता बितरण कार्य व्यवस्थित होस् र सेवाग्राहीले पनि कष्ट झेल्नु नपरोस् भनेर हामी भुगोलका आधारमा दिन तोकेर नागरिकता बनाउने योजना अघि सार्दै छौ, सदरमुकाम वावीरगन्ज महानगरपालिकाका सेवाग्राही मात्र नभई जिल्लाका अन्य भेगका सेवाग्राहीले पनि उत्तिक्कै सहजताका साथ
सेवा पाउन भनी व्यवस्थानमा लागेका छौं, एक दुई दिन भित्रै नतिजा पनि आउँछ ।’

प्रकाशित : वैशाख १२, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

दलालको आँखा गाउँले युवतीमा

ओमप्रकाश ठाकुर

सर्लाही — बागमती नगरपालिका १ डुमाजोरवासी १६ वर्ष नपुगेकी रविना कोइराला दुई सातायता निकै तनावमा छिन् । नागरिकतासमेत नबनेकी उनलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई केही अपरिचित व्यक्ति पछि लागेपछि उनी दोधारमा परेकी हुन् ।

केही दिनअघि उनी बजारबाट घर जाने क्रममा स्थानीय एक खाजा पसलका साहुले बोलाए । खाजा पसलमा दुई अपरिचित व्यक्तिसमेत थिए । साहुले रिचार्जकार्ड दिँदै ती अपरिचित व्यक्तिको मोबाइलमा रिचार्ज गर्न भने ।

उनले ती व्यक्तिको मोबाइलमा रिचार्ज गरिदिए । त्यसपछि बालिका घरतिर लागिन् । अपरिचित व्यक्तिले मोवाइल रिचार्ज कार्डको रकम फटाफट जम्मा गरिदिएको भन्दै बालिकालाई एक सयको नोट थमाए । तर उनले रकम लिन मानिन् । त्यति सहयोगका लागि किन पैसा दिनु पर्‍यो भन्ने प्रश्न गरिन् ।

छेउमै रहेको पसलेले समेत पैसा लिन आग्रह गरे तर पैसा लिइनन् । मोवाइलमा रिचार्ज गर्दैगर्दा ती पुरुषले वैदेशिक रोजगारीको प्रलोभन देखाए । उनले महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने सुनाए । कोइरालाले नागरिकता नै नभई कोही विदेश जान सक्छ भनेर प्रतिप्रश्न गरिन् । त्यसलगत्तै ती व्यत्तिले काठमाडौंमै २० हजार तलब दिने आश्वासन जनाए । त्यतिबेलासम्म ती केटीले ती दुई व्यक्ति प्रलोभन देखाएर बालबालिकालाई ठग्ने मानिस रहेको भेउ पाइसकेकी थिइन् । उनीले ती व्यक्तिलाई आफू कहीं पनि नजाने भन्दै घरतिर लागिन् ।

त्यसपछि ती व्यक्ति उनको पछि लागे । मोबाइल रिचार्ज गरिदिएको भरमा उनीहरू पछि लागेपछि उनी बाटो परिवर्तन गरेर बजार तथा विद्यालय जान थालिन् । एक दिन ती दुई गाउँमा बालिकाको घर सोद्धै पुगे । घरमा अभिभावक नभएको मौका छोपी उनीहरू पुग्दा गाउँले जम्मा भए । त्यति बेलै प्रहरी बोलाएर ती दुईलाई गाउँलेले जिम्मा लगाए ।

प्रहरीले समातेर लगेपछि पीडितलाई जाहेरी दिन भने । तर जाहेरीका लागि वकिलले दरखास्त लेख्न मानेनन् । कुनै घटना नभएकाले कुन मुद्दा लगाउने भन्दै वकिलले दरखास्त लेख्न नमानेको पीडितका आफन्त भुवन कोइरालाले बताए । उनले वकिलको चर्को शुल्कका कारण पनि आफूपछि हटेको बताए । पीडकविरुद्ध जाहेरी नपरेपछि प्रहरीले सामान्य मिलापत्र गराएर फर्काइदिएको छ ।

‘मोबाइल रिचार्ज गरिदिएकै भरमा बहिनीको पछि दुई अपरिचित व्यक्ति परे, उनलाई पसलका साहुले नै सहयोग गरे, वैदेशिक रोजगारीको प्रलोभन देखाएर घरमै पुगेपछि हामीले प्रहरी बोलायौं,’ कोइरालाले भने, ‘प्रहरीको नियन्त्रणमा पुगेको व्यक्तिविरुद्धमा वकिलले दरखास्त लेखेनन्, चर्को शुल्क मागे । जाहेरी नपरेपछि प्रहरीले दुवैलाई मिलापत्र गराइदियो ।’ यसरी घरमै आएर तनाव दिनेविरुद्ध कानुनी उपचार पाउन नसकेको उनीहरूको गुनासो छ ।

उनीहरूले अर्काले दुःख दिएकोमा न्याय पाउन पनि वकिललाई दरखास्त लेखेबापत चर्को शुल्क तिर्नुपर्ने बताए । इलाका प्रहरी हरिवनका निरीक्षक पुरुषोत्तम कार्कीले कार्यालयमा जाहेरी नपरेपछि छोड्नुपरेको बताए । ‘उहाँहरूले जाहेरी दिनु भएन, जाहेरी नपरेपछि पक्राउ परेकालाई छोड्नु पर्‍यो,’ उनले भने, ‘मुद्दा नचल्ने भएपछि दुवै पक्षलाई राखेर मिलापत्र गराइदिएको हो ।’

विभिन्न प्रलोभन देखाएर महिलालाई वैदेशिक रोजगारसहित मुलुकमै रोजगारी लगाइदिने गिरोह सर्लाहीमा सक्रिय छ । पछिल्लो समय जिल्लाको उक्तरी क्षेत्रमा त्यस्ता गिरोह सत्रिय भएका छन् । यस क्षेत्रका महिलालाई कहिले महिला समूह त कहिले पुरुषको समूह रोजगारी दिने बहानामा फकाउने गरेको पाइएको छ ।

यस्ता गिरोहविरुद्धमा कानुनी उपचार नभएकाले उनीहरूको मनोवल उच्च बनेको छ । ‘पछिल्लो समय वैदेशिक रोजगारीमा पुर्‍याउने भन्दै गिरोह नै सक्रिय छ, यस्ता गिरोहमा कतै पुरुष देखिन्छन् त कतै महिला पनि,’ हरिवनका अच्युत सापकोटाले भने, ‘घरमा पुरुष नभएको मौका छोपेर गाउँघरका महिलालाई विभिन्न प्रलोभनदिइरहेका छन् ।’

प्रकाशित : वैशाख १२, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्