स्थानीय तहकाे प्राथमिकता सडक

पवन यादव

सिमरा — बाराका २ उपमहानगरपालिकासहित १६ वटै स्थानीय तहले यस आवको बजेटमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाकै जेठो नगरपालिकाका रुपमा रहेको कलैया उपमहानगरपालिकाले १ अर्ब १ करोड २२ लाख ३० हजार रुपैयाँ चालू वर्षको बजेट विनियोजन गरेको छ ।

‍जसमा सडक, भवन निर्माण, नालालगायत भौतिक पूर्वाधारको कामलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार निर्माणका लागि झन्डै ३४ करोड रुपैयाँ विनियोजन गरिएको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले जानकारी दिए ।

उपमहानगरले दोस्रो प्राथमिकतामा शिक्षा राखेको छ । शिक्षा क्षेत्रको उत्थानका लागी सशर्त र निशर्त गरी झन्डै ३० करोड विनियोजित गरिएको छ । विद्यालय भवन निर्माण, नमुना विद्यालय कार्यक्रम, भत्केको विद्यालयको पर्खाल निर्माण, शौचालयलगायत पूरा गर्न बजेटमा जोड दिइएको उनले बताए ।

त्यस्तै नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, अस्पताललाई सुधार गर्न र सेवा विस्तार गर्न सशर्त र निशर्त गरी ११ करोड ४१ लाख रुपैयाँ विनियोजित गरिएको छ । जनप्रतिनिधि अभावमा सेवाको स्तर खस्कँदै गएपछि त्यसलाई सुधार गर्न उपमहानगरपालिकाले प्राथमितासाथ अघि बढिरहेको उनले जानकारी दिए । यहाँका ८० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् ।

तर कृषि क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले बजेटमा प्राथमिकता दिएको देखिँदैन । कलैया उपमहानगरपालिकाले कृषि क्षेत्रको उत्थानका लागि १ करोड १६ लाखमात्र विनियोजित गरेको जनाएको छ । नगर क्षेत्रको जनताको चित्त बुझाउन फुटकर (टुक्रे) योजनाका लागि पनि थोरैथोरै बजेटको योजना ल्याइएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रको उत्थानका लागी आकर्षक योजना बनाइए पनि कर्मचारी अभावले प्रभावकारी काम गर्न नसकिएको प्रमुख यादवले बताए । ‘थोरै संख्यामा रहेका कर्मचारीको भरमा काम गर्नुपरेको छ,’ उनले भने, ‘नगरपालिकाको अधिकांश फाँट प्रमुखविहीन छन ।’ वडा कार्यालय र उपमहानगरपालिकामा गरी २ सय ९ जनाको दरबन्दी रहेको उपमहानगर ४० जनाको भरमा चलेको छ ।

एउटा सचिवले २/३ वटा वडाको जिम्मेवारी सम्हालेका छन् । कर्मचारी अभावमा सेवाग्राहीले सोचेअनुरुप सेवा पाउन नसकेको उनले गुनासो गरे । नगर क्षेत्रभित्र सडक पूर्वाधारलाई अगाडि बढाउन साइड क्लियरेन्स गर्न समस्या भइरहेको उनले जानकारी दिए । त्यस्तै जितपुर सिमरा उपमहानगरले पनि भौतिक पूर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ । जितपुर सिमराले चालू आवमा कुल १ अर्ब ७ करोड रुपैयाँ नगर क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।

जसमा सडक पूर्वाधारलगायतमा २९ करोड रुपैयाँ भौतिक पूर्वाधार विकास शीर्षकमा विनियोजन गरेको छ । कुल बजेटको २५ प्रतिशत रकम शिक्षा क्षेत्रको विकासका लागि छुटयाएको जितपुर सिमरा उपमहानगरप्रमुख कृष्ण पौडेलले जनाए । शिक्षाका लागि नगर र वडा सबैमा गरी २९ करोड विनियोजन गरिएको उनले बताए । त्यस्तै स्वास्थ्य क्षेत्रमा ८ करोड रुपैयाँ, कृषि क्षेत्रको उत्थानका लागि ३ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

नगरवासीका लागी आकर्षक योजना ल्याइए पनि योजनालाई चुस्तदुरुस्त रुपले सम्पन्न गर्न कर्मचारी अभावले समस्या पारेको उनले जानकारी दिए । ‘कर्मचारी अभावले नगर र वडाको काम प्रभावित भएका छन्,’ उनले भने, ‘उपमहानगरलाई सञ्चालन गर्न पर्याप्त जनशक्ति छैन ।’ २ सय ६६ कर्मचारी आवश्यक रहेको उपमहानगरलाई ८० कर्मचारीको भरमा सञ्चालन गर्नु परेको उनले बताए । केन्द्र वा प्रदेश सरकार कसले कर्मचारी पूर्ति गर्ने चाँडै गर्नु पर्‍यो । दुबै उपमहानगरले छुटयाएको योजनाको बजेटलाई अन्य योजनामा रकमान्तर नगरिएको दुवैनगर प्रमुखले दाबी गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हावाहुन्डरी प्रभावित बालबालिकामा झाडापखालाको डर

पवन यादव

सिमरा — हावाहुन्डरी (चक्रवात) को चपेटामा परेको बाराका प्रभावित बालबालिका असुरक्षित बन्दै गएका छन् । यी क्षेत्रका बालबालिका खुला स्थानमा बसेर खानासँगै उडेको धूलो खान बाध्य छन् ।

हावाहुन्डरीबाट प्रभावित बाराको देवताल गाउँपालिका ७ रमपुरवामा स्थानीय महिला तथा बालबालिकालाई झाडापखालाबाट बच्ने उपायबारे सिकाउँदै स्वास्थ्यकर्मी ।  तस्बिर : पवन/कान्तिपुर  

प्रभावित क्षेत्रमा चलेको हावाले धुलोलगायत फोहोर उडाउने गरेको छ । धुलोसँगै उडेको फोहोर बालबालिकाले खादै गरेको थालको खानालाई दूषित बनाइदिने स्थानीय बताउँछन । मौसम परिवर्तनसँगै झाडापखाला प्रकोप बढ्ने समयमा फोहोर खाना खाने बालबालिका थप जोखिममा पर्ने सम्भावना बढेको प्रभावित क्षेत्रमा कार्यरत शिक्षक राकेश पाण्डेयले बताए ।

‘प्रभावित क्षेत्रका बालबालिका खाने खाना सुरक्षित छन्,’ उनले भने, ‘हावाले उनीहरूको खाना दूषित बनाइदिने गरेको देखिन्छ ।’ यस क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेको छ । समयमै प्रभावित क्षेत्रका बालबालिकालाई सुरक्षित पार्न अभिभावक र सम्बन्धित निकायले चासो देखाउनु पर्नेमा उनको जोड छ ।

प्रभावित क्षेत्रका अभिभावक भत्केको संरचनालाई पुनर्निर्माण गर्न र राहत लिनमै बढी केन्द्रित रहने गरेकाले बालबालिक सम्हालिन नसकिएका हुन् ।

बाराको फेटा गाउँपालिका १ भलुहीमा अभिभावकको अनुपस्थितमा भत्केको घर अघि बनेको टेन्ट नजिकै बाल्टिनमा घोलिएको घर लिप्ने हिलोमा साना नानीहरु खेल्दै गरेका थिए । त्यही नजिकै नेपाली सेना हावाले बिगारेको टेन्ट सम्याउँदै थियो । तर हिलोमा खेल्ने बालबालिकाले पूरै जिउ फोहोर बनाए पनि उनीहरूलाई कसैले सम्हालेका थिएनन् ।

बालबालिका हिलो शरीरभरि पोतेका थिए । उनीहरूले अनुहारमा चुहिँदै गरेको हिलोलाई जिब्रोले चाट्थे । उनीहरूलाई हिलोबाट टाढा बस्न कसैले रोक्दैन थिए । हिलो र धुलो खाएपछि पेट बिग्रिने र झाडापखाला लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।भत्केका घरको सामान निकाल्दैमा दिन बित्ने गरेको भलुहीकी सुगान्धी देवीले बताइन् । ‘आफनो बालबच्चालाई सबैले राम्ररी राख्न चाहन्छन,’ उनले भनिन, ‘कसैले जानीजानी बालबालिका जोखिमतर्फ धखेल्दैनन ।’

घरै नभएपछि बालबालिकालाई घेरेर राख्न नसकिएको उनको भनाइ थियो । खुल्ला स्थानमै बसाएर खाना खुवाउने बाध्यता रहेको उनले जानकारी दिइन् ।

भुमरीसहितको हावाहुरीबाट प्रभावित जिल्लको पुरैनिया, भरवलिया, गम्हरिया, परवानीपुर, तेलगाई, हर्दिया, प्रसुरामपुर, मनगढवा, धर्मनगर, फुलवरिया, भलुही, त्रिवेणी, बलिरामपुर, रामपुरवा, बगही, जमुनिया, चरमोहना, बुनियाद, रामपुरटोकनी, लिपनीमाल, चैनपुर, बहुअरी, बेनौली, सखुवाटलगायत गाउँका बालबालिका झाडापखालाको जोखिममा परेका छन् । प्रभावित क्षेत्रका बालबालिकालाई सुरक्षित राख्न अभिभावक, स्थानीय तह, स्थानीय स्वास्थ्यकर्मीले सजकता अपनाउनु पर्नेमा सरोकारवालाको जोड छ ।

हावाहुरी प्रभावित देवताल गाउपालिका ७ रमपुरवामा पनि सामान्य झाडा पाखाला लागेका बिरामी फेला पर्न थालेको उक्त गाउपालिकाको स्वास्थ्य संयोजक विश्वनाथ चौधरीले जानकारी दिए ।

‘सामान्य झाडा पखालाका बिरामी स्वास्थ्य चौकीमा उपचारको लागी आउने गरेका छन,’ उनले भने, ‘गम्भिर प्रकृतिका बिरामी अहिले सम्म भेटिएका छैनन ।’ स्वास्थ्य चौकीमा अहिले सम्म २० जना सामान्य झाडा पखाला लागेका बिरामी उपचारको लागि आएको उनले जानकारी दिए ।

झाडापखाला लागेर स्वास्थ्य चौकी आउने बिरामीमध्ये बालबालिकाको संख्या निकै बढी रहेको उनले जानकारी दिए । राहतस्वरुप गाउमा प्रभावित परिवारलाई वितरण गरिएको चाउचाउ, बिस्कुटलगायत पाकेटको खानेकुरा खाएका कारण बालबालिकमा मालजारी (आउ) देखिएको उनले बताए ।

हावाहुरी प्रभावित गाउका बालबालिकालाई स्वास्थ्यकर्मीले टोलटोलमा गएर झाडापखालाबाट बच्न महिलालाई भेला गराई सचेत गराईरहेका छन । बासी खाना नखानु, हातमुख साबुन पानीले सफा गरी मात्र आफू पनि खाना खानु र बालबालिकालाई पनि सफासुग्घर गरेर खाना खुवाउन स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रका महिलालाई सिकाउदै हिडन थालेका हुन ।

प्रभावित क्षेत्रका बालबालिकालाई अभिभावकले सम्हाल्न नसक्दा स्थानीय बालबालिकाहरू असुरक्षित बन्दै गएका हुन । अभिभावकको निगरानी बाहिर पुग्ने बालबालिका खेल्दाखेल्दै दुर्घटनामा पर्ने गरेको स्थानीयको भनाई छ । प्रभावित क्षेत्रका बालबालिका खुल्ला वातावरणका कारण खानासंगै धुलो खाने गरेका छन । यसले झाडा पखाला लगायत रोगको जोखिम प्रभावित क्षेत्रमा बढेको सरोकारवालाको भनाइ छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×