पानी अभावले व्यवसाय प्रभावित

कान्तिपुर संवाददाता

पर्सा — पानीको अभावले अमलेखगन्जको होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको छ । यसले अमलेखगन्जमा नयाँ होटल तथा अन्य पर्यटकीय गन्तव्यको निर्माण हुन नसकेको होटल व्यवसायीहरू बताउँछन् । 

पर्सा राष्ट्रिय निकुञ्ज गत वर्ष आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएको छ । त्यसपछि थुप्रै होटल तथा पर्यटन व्यवसायी यहाँ लगानी गर्न अघि सरे पनि पानीको अभावका कारण हच्किएको स्थानीय एलिफेन्ट भिलेज रिसोर्टका व्यवस्थापक मोहन शर्मा लामिछाने बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका लामिछानेले जीतपुर सिमरा उपमहानगरको वडा नं २१ भरि नै पानीको चरम अभाव रहेकाले लगानीकर्ताहरू महानगरको वडा नं २२ तर्फ आकर्षित भइरहेको बताए । ‘पानीको यत्तिसारो अभाव छ कि मैले २/३ दिनमा एक ट्यांकर पानी किनेर गर्जो टारिरहेको छु, रिसोर्ट निर्माण ताकादेखि हालसम्म पनि पानीकै अभाव झेलिरहेको छु,’ उनले भने, ‘गेस्टलाई नुहाउनेदेखि भान्सामा पकाउने पानी पनि किनेरै काम चलाउँदै छु ।’ पानीकै अभावले आफूले रिसोर्टमा स्विमिङ पुल बनाउने योजना पछि सारेको उनले बताए । ‘बैंक लगानी गर्न तयार छ,’ उनले भने, ‘तर पानी अभावकै कारण म स्विमिङि पुल लगायत अन्य पूर्वाधार थप्न सक्ने स्थितिमा छैन ।’

वडा नं २१ मा हाल लामिछानेको रिसोर्ट बाहेक कल्पवृक्ष, मोहिनी रिसोर्ट, प्याराडाइज कटेज आदि सञ्चालनमा छन् । सबैले पानीकै अभाव झेलिरहेका छन् । इच्छा होटल व्यवस्थापनले पनि यहाँ आफ्नो नयाँ प्रोजेक्ट सञ्चालनको तयारी गरिरहेको छ । तर पानीकै अभावले उसको योजना पनि अघि बढ्न सकेको छैन ।

वडा नं २२ मा यो समस्या नहुँदा लगानीकर्ताहरू उक्त वडामा आकर्षित भइरहेको लामिछानेले बताए । उक्त वडामा करिब ५० करोडको लगानीमा एउटा तीन तारे होटल निर्माण हुने पक्का भइसकेको छ । त्यसैगरी फनपार्क तथा अन्य केही होटल पनि निर्माणको तयारी भइरहेको छ ।

चुरे पहाडको फेदमा रहेको अमलेखगन्जको भौगोलिक बनोट भिरालो र जमिनमुनि चट्टान रहेको छ । यो बजारमा राणाकालीन समयदेखि स्थानीय मोहन खोलाबाट परम्परागत विधिले संकलन गरी ल्याएको पानी वितरण गरिएको छ । जसबाट बजारको मागको अत्यन्त कम मात्र पानी उपलब्ध भएको छ ।

होटल व्यवसायी तथा स्थानीयको संयुक्त समूहले खानेपानी मन्त्री बिना मगरलाई डेलिगेशन दिई बजारमा ओभरहेड ट्यांकी निर्माणका लागि आग्रह गरिसकेको उनले बताए ।

उपमहानगरको वडा नं २१ का वडाध्यक्ष कृष्ण ठकुरीले अमलेखगन्ज अत्यन्त धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भए पनि पानीकै अभावले पर्यटन क्षेत्र माथि उठ्न नसकी रहेको बताए । ‘पानीको उचित प्रबन्ध भए यहाँ होटल व्यवसायमा थप लगानी भित्रिने प्रशस्त सम्भावना थियो,’ उनले भने, ‘२०७२ को भूकम्पपछि पानीको मुहान सुकेको र राणाकालीन खानेपानी वितरण प्रणाली पनि झनै अस्तव्यस्त भएको छ ।’ अमलेखगन्जमा १३ सय घरधुरी रहेको र अधिकांश घरधुरी पानीकै अभाव झेली रहेको उनले बताए । सहरी विकास मन्त्रालयले अमलेखगन्जमा पर्यटन क्षेत्रको विकासका लागि ३० करोड लगानी गर्न लागेको उनले बताए ।

प्रकाशित : माघ २७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

जिल्लामा कुष्ठ रोगी खोजिँदै

चन्द्रपुर, वृन्दावन, गौर,गुजरा इशनाथ नगरपालिकामा भएको अनुगमन र सर्वेक्षणले कुष्ठरोगीको संख्या बढेको देखाएको छ
कान्तिपुर संवाददाता

रौतहट — जिल्लाभित्र भएका कुष्ठ रोगी खोज्न यहाँ सबै स्थानीय तहले स्वयंसेवक खटाउने भएको छन् । फागुनको पहिलो सातादेखि स्वयंसेवक रोगी पत्ता लगाउन खटिनेछ । चन्द्रपुर नगरपालिकाले कुष्ठरोग निवारण अभियानको तयारी थालेको बताएको हो । 

कुष्ठ रोग निवारणका लागि घरदैलो कार्यक्रम अभियान सञ्चालनबारे रौतहटको चन्द्रपुर नगरपालिकामा जानकारी दिँदै नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अभय ठाकुर ।तस्बिर : शिव पुरी/कान्तिपुर 

सरकारले कुष्ठरोग निवारणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पछिल्लो समय जिल्लामा यो रोग लागेकाहरूको संख्या बढेको पाइएको हो । यहाँका ५ वटा स्थानीय तहमा भएको सर्वेक्षणले कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अभय ठाकुरले फागुनको पहिलो सातादेखि स्वयंसेवकहरू घरघर पुगेर रोगी पत्ता लगाउने बताए ।

‘शरीरमा लाटो फुस्रो दाग भएर पनि कतिपय मानिस थाहा नपाएर बसेको हुन सक्छ,’ उनले भने, ‘स्वयंसेवकले त्यस्ता रोगी पत्ता लगाई उपचारको प्रक्रिया थालिनेछ ।’ नगरपालिकाले १० वटा वडाको घरघर पुगेर स्थानीयसित सोधपुछ गर्ने छन् । रोगको लक्षणका बारे सोधेपछि उनीहरूले पत्ता लगाउँछन् ।

नगरपालिकाले एउटा वडामा ८ जनाको दरले स्वयंसेवक छनौट गरेको छ । उनीहरूलाई एक दिने तालिम दिइने संयोजक ठाकुरले जानकारी दिए । यो नगरमा पुराना १३ र नयाँ ७ जना रोगी फेला परेको छ । प्रदेश सरकारले सबै नगरपालिकाभित्रका गाउँहरूमा निवारणको कार्यक्रम गर्न भनेको छ ।

कार्तिकयता चन्द्रपुर, बृन्दावन, गौर, गुजरा इशनाथ नगरपालिकामा भएको अनुगमन र सर्वेक्षणले कुष्ठरोगीको संख्या बढेको देखाएको छ । यी नगरपालिकाहरूमा चाँडो सर्ने कुष्ठ रोगका बिरामी २३ जना पुरुष र ४४ जना महिला थिए । कम सर्ने रोगीहरूमा १७ जना पुरुष र १७ जना महिला रहेको तथ्यांकले देखाएको छ ।

गएको आर्थिक वर्षमा जिल्लाको ५ वटा नगरपालिकामा कुष्ठरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू भएको थियो । रोगीको खोजी गर्दा चन्द्रपुरमा ७ जना, गौरमा ५, बृन्दावनमा २२, गुजरामा १७ र इशनाथमा ५ जना थप कुष्ठरोगीहरू भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय गौरका क्षयकुष्ठ निरीक्षक महेश साहले जानकारी दिए ।

‘कुष्ठरोग निवारणका लागि प्रदेश नम्बर २ का सवै स्थानीय तहमा ५ लाखका दरले बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो वर्ष रोगीको संख्या बढेको पाइयो । अर्को वर्ष पनि बढ्न सक्छ । त्यसैले घरदैलो अभियानको तयारी थालेका हाैं ।’

प्रदेश नम्बर २ को पर्सादेखि सप्तरीसम्मका ८ जिल्लामा कुष्ठरोगीको संख्या बढिरहेको पाइएकाले सवै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सञ्चारकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सचेतना प्रसारप्रचार तथा रोगीको खोजी गर्न हरेक स्थानीय तहमा रकम विनियोजन भएको निरीक्षक साहले जनाए ।

जिल्लाको चन्द्रनिगाहपुर र गौर अस्पतालबाट कुष्ठरोगीका लागि औषधि वितरण हँुदै आएको छ । कम सर्ने रोगीले ६ महिना र चाँडै सर्ने बिरामीले १२ महिना औषधि सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् । रोग लागेकाहरू जिल्ला जनस्वास्थ्यको नियमित सम्पर्कमा औषधि सेवन गरिरहेका छन् ।

समयमा उपचार गरे रोग सजिलै निको हुन्छ । रोगका लागि एक मात्रा औषधिले ९९ प्रतिशत काम गर्ने चिकित्सक अभिनन्दन श्रीवास्तव बताउँछन् । ‘समयमा रोग पहिचान भयो भने औषधि सेवनबाट ठीक हुन्छ,’ उनले भने, ‘रोग लुकाउनु हुँदैन । लक्षण देख्ना साथ समयमा स्वास्थ्य संस्थामा जचाउनुपर्छ ।’

रोगको उपचार नि:शुल्कका साथै उपचारमा आएकालाई सरकारले यातायात खर्च समेत दिँदै आएको छ । कीटाणुबाट रोग लाग्ने भएकाले ‘पूर्वजन्मको पाप’ भनेर भ्रम नफैलाउन जनस्वास्थ्यले अनुरोध गरेको छ । यहाँका १८ वटा स्थानीय तहमध्ये गएको कार्तिकसम्मको तथ्यांकमा यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा एउटा पनि रोगी भेटिएका छैनन् । चन्द्रपुरमा रहेको सरकारी अस्पतालमा हरेक महिनाको अन्तिम आइतबार आनन्दवनकुष्ठरोग अस्पताल ललितपुरको चिकित्सकको टोलीले शिविर सञ्चालन गर्दै आएको छ ।

३ वर्षअघिदेखि टोलीले छालाका बिरामीको उपचार र परीक्षण गर्दै आएका छन् । महिनामा सयदेखि १ सय ५० सम्म छालाका रोगीले उपचार गराउँदै आएका छन् । अझै पनि समाजमा कुष्ठरोगीलाई हेलाको दृष्टिले हेर्ने भएकाले रोग लुकाउने गरेको पाइन्छ । परोहा नगरपालिकाका ६० वर्षीय इन्द्रदेव रामलाई कुष्ठरोग लागेपछि २ पटक गाउँ निकाला गरिएको थियो । अहिले उनी बेवारिसे जस्तै सडक किनारमा बस्दै आएका छन् ।

गरिबी, जनचेतनाको कमी, अशिक्षा, लाजका कारण र नि:शुल्क उपचार हुन्छ भन्ने जानकारी नहुँदा रोग लुकाएर बसेका बिरामीहरू जिल्लामा अझै रहेको निरीक्षक साहले बताए । नचिलाउने, रातो फुस्रो दाग आएमा, छुदा थाहा नहुने दाग देखिए, हातगोडा झमझमाउने जस्ता लक्षण देखिए तत्कालै जचाउन चिकित्सकले सुझाव दिएका छन् । कतिपयले डरले र घृणा गर्छन् भन्ने सोचले त्यसो गर्दैनन् ।’

प्रकाशित : माघ २७, २०७५ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्