२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

धनकुटा घटना : मापसेले निम्त्याएको दु:खान्त

धनकुटा — धनकुटा नगरपालिका-१ निगालेस्थित पाँडेपसल चोकमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्माहत्या गरेका छन् ।

धनकुटा घटना : मापसेले निम्त्याएको दु:खान्त

३५ वर्षीय टिका गुरुङले उनकी ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका १ नुनढाकी घर भएका गुरुङ परिवार विगत १२ वर्षदेखि स्थानीय माणिकलाल श्रेष्ठको घरमा डेरा गरि बस्दै आएका थिए । स्थानीयका अनुसार गुरुङ दम्पत्ति ज्याला मजदुरी गर्दै जीवन गुजारा गर्थे । गुरुङले मादक पदार्थ सेवन गरि सुरुमा उनकी श्रीमती भीमा र छोरा आयुषको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनामा ६ वर्षीया छोरी आशिका भने सुकुशिल छिन् ।

मादक पदार्थ सेवन गरि झगडा हुँदा गुरुङले श्रीमतीको घाँटी ङ्याकेर हत्या गरेको प्रहरी अनुमान छ । घटनाको प्रत्यक्षदर्शी छोरी रहेको प्रहरीले जनाएको छ । यसैबीच, घटनामा बस्न सफल भएकी छोरी आशिकाका अनुसार बाबुले सुरुमा आमालाई लडाएर हत्या गरेका थिए । आमालाई बचाउन जाँदा आफ्ना दाजुलाई बाबुले कुटपिट गरेको आफूले देखेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।

यसैबीच, राति पौने १ बजे छोरीलाई सोहि घरमा बस्ने लक्ष्मीदेवी श्रेष्ठको कोठामा पुर्याएर गुरुङ कोठामा गएर आत्महत्या गरेको खुल्न आएको छ । श्रीमतीसहित आफू बाहिर जानु पर्ने भन्दै कोठामा फर्किएको थिए, श्रेष्ठले भनिन्, झारफुक गर्ने पेशा समेत भएकोले सोही कामले बाहिर गएका ठानेर उनकी छोरीलाई लिएर म सुते, त्यसपछि घटना भएछ, छरछिमेकले थाहै पाएनौं । बिहीबार बिहान ५ बजे छोरी आशिका चप्पल लिन घर भित्र जाँदा आमा, दाजु भुइमा लडेको र बाबु झुण्डिएको अवस्थामा देखेर छिमेकीलाई भनेपछि घटना थाहा भएको थियो ।

श्रेष्ठ घटना भएको एउटै घरमा बस्दै आएकी छिन् । उनका अनुसार यसअघि पनि मादक पदार्थ सेवन गरि झैझगडा भइरहने गर्थ्यो । राति नै आमा र दाजु माथि आक्रमण भएको देखेपनि त्यसबारे अरुलाई डरले भन्न नसकेको बालिकाले बताएकी छिन् । प्रहरीले घटनास्थलमा मृतक टिकाका दाजु सुर्यमान र बैनी सञ्जु पुगेपछि बिहीबार बिहान लास जाँच र घटनास्थल प्रकृति मुचुल्का गरेको थियो । मृतक भीमाको अनुहार र घाँटीमा चोट रहेको प्रहरी प्रवक्ता महर्जनले जानकारी दिए । यस्तै, बालकको टाउकाको पछिल्लो भागमा चोट रहेको छ । धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई लाश जिम्मा दिइने जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रकाशित : मंसिर ७, २०८० १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?