कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजा गिरोह सक्रिय

एम्बुलेन्स, मिनी ट्रक, मोटरसाइकल र यात्रुवाहक गाडी प्रयोग

विराटनगर,धनकुटा — यतिबेला प्रतिबन्धित गाँजा पक्राउ गर्नु प्रहरीको दैनिकी जस्तै छ । तर, यसको उत्पादन र ओसारपसार रोकिएको भने छैन । गाँजाका लागि पूर्वका पहाडी जिल्ला उदयपुर, भोजपुर र धनकुटा उर्वर मानिन्छन् । यहाँबाट भारत निकासी गर्न तस्करले अनेक उपाय अपनाउँछन् । उत्पादित क्षेत्रमा किलोको २५ सय पर्ने गाँजा भारत पुर्‍याउँदा ४० हजार रुपैयाँसम्ममा बेचिने गरेको छ । ठूलो मूल्य अन्तरका कारण तस्करले अनेक तरिका अपनाएर भारत पुर्‍याउँदै आएका छन् । तस्करले पहाडबाट सीमासम्म पुर्‍याउन छुट्टाछुट्टै समूह परिचालन गर्दै आएको प्रहरीले जनाएको छ ।

गाँजा गिरोह सक्रिय

पछिल्लो समय भारत तस्करी गर्न मोरङ र सुनसरी ट्रान्जिट प्वाइन्ट हुन् । मोरङ प्रहरीले पछिल्ला तीन दिनमा २५३ किलोग्राम गाँजासहित दुई युवकलाई र सुनसरी प्रहरीले एक सातामा १४८ किलोग्रामसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । धनकुटाको सिधुवा बजारबाट बन्दाकोभी बोकेर भारत निकासीका लागि विराटनगर आइपुगेको मिनी ट्रकलाई प्रहरीले गत शनिबार जोगबनीको दुई नम्बर ढाटमा जाँच गर्दा १५६ किलो बराबर ६ बोरा गाँजा बरामद भयो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार सिधुवाबाट हिँडेको उक्त ट्रकमा भेडेटार र धरानबीचको जंगलमा रोकेर तरकारीको बोरामुनि उक्त अवैध पदार्थ राखेको पुष्टि भएको छ । गाँजाको गन्ध आउन नदिन तस्करले कुहिएको सागसब्जीको बोराले छोपेर बोक्ने गरेको पाइएको कोइरालाको बुझाइ छ ।

प्रहरीले जोगबनी नाकाबाट ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिएपछि तस्करले जोगबनीपूर्वको जहदा–२ को हरिनगरा नाका प्रयोग गरे । यो नाकाबाट ३६ किलो गाँजा बोकेर भारत जाँदै गरेका स्थानीय २५ वर्षीय मुकेश गुरुङलाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । लगत्तै बुधबार बिहान विराटनगर–१४ कोसी कोभिड अस्पतालनजिक पनि प्रहरीले सिटी रिक्सामा ६१ किलो गाँजा बरामद गरेको छ । चालक गाँजा छाडेर भागेको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए । यसअघि सशस्त्र प्रहरी बलले सुनसरीको झोक्राह नरसिंह क्षेत्रबाट १ सय ५८ किलो उक्त पदार्थसहित ३ जनालाई पक्राउ गरेको थियो । प्रदेश १ प्रहरी कार्यालयले आव ०७७/७८ मा १७८९ किलो र ०७८/८९ मा २०२१ किलो गाँजा प्रहरीले बरामद गरेको जनाएको छ ।

धनकुटामा दुई साताको अवधिमा गाँजा ओसारपसारका ५ घटनामा ३१ किलो गाँजासहित ६ जना पक्राउ परे । २०७६ देखि २०७८ सम्म ८ घटनामा ११ जना पक्राउ परेका थिए । ०७७/०७८ मा एकैपटक ३ सय केजी गाँजा बरामद भएको थियो । धनकुटा–४ देब्रेबासमा गत वर्ष एम्बुलेन्सबाटै गाँजा बरामद भयो । विराटनगर सिटी प्रालि अस्पतालको को१च ४६१५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेपछि त्यसभित्र गाँजा र घरेलु मदिरा फेला परेको थियो । अघिल्लो महिना यात्रुवाहक बसभित्रै १८ किलो र यस्तै एक महिनाको अवधिमा धनकुटाको हिलेबाट सहिदभूमिको छिन्ताङमा सञ्चालन हुने दुई गाडीमा १४ किलो गाँजा बरामद भएको थियो ।

एम्बुलेन्स, यात्रुवाहक बस, तरकारी बोक्ने गाडी जस्ता सवारीसाधन लागूपदार्थ ओसार्न प्रयोग गरिएको पाइन्छ । साउन १७ को मध्याह्न साँगुरीगढी–६ फेदीमा मोटरसाइकलमा लैजाँदै गरिएको अवस्थामा ५ किलो गाँजासहित १७ वर्षीय युवक पक्राउ परेपछि ओसारपसारमा सबै उमेर समूहका प्रयोग भएको सई मानप्रसाद श्रेष्ठको भनाइ छ ।

धनकुटाको छिन्ताङ क्षेत्रबाट मात्र बर्सेनि औसत ३० जनाभन्दा बढी गाँजाको ओसारपसारमा पक्राउ पर्ने प्रहरीको तथ्यांक छ । केही दिन पहिले धनकुटा बजारको मुख्य स्थल मदन चोकमा ‘गाँजावादी एक हौं’ भन्दै गाँजालाई वैधता दिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान गरिएको थियो ।

लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजा सेवन गरिएको पाइए १ महिना कैद वा २ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । खेती गरिएको हकमा २५ बोटसम्म ३ महिना कैद वा ३ हजार जरिवाना छ । २५ बोट बढी भए ३ वर्ष कैद वा ५ देखि २५ हजार रुपैयाँ जरिवाना सजाय उल्लेख छ । उत्पादन, तयारी, खरिद, बिक्री, वितरण निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्नेलाई परिमाणअनुसार ३ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने भनिएको छ । अवैध वस्तु ओसारपसार नियन्त्रण तथा चेकजाँचका लागि धनकुटाको हिलेदेखि भेडेटारसम्म चार नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पोस्ट छन् । हिले बजार, धनकुटा बजार, मूलघाट र भेडेटारमा रहेका प्रहरी चेकपोस्टबाट उम्किएर पनि दैनिकजसो विभिन्न जिल्लामा गाँजा कारोबारी पक्राउ गरिने क्रम तीव्र छ ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?