कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी अस्पतालका थप ११ कर्मचारी कोरोना संक्रमित

विराटनगर — कोभिड–१९ को तेस्रो लहर फैलिएसँगै विराटनगरस्थित कोसी अस्पतालका थप ११ कर्मचारीमा शुक्रबार एकैचोटि संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म तीन चिकित्सकसहित १५ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो ।

कोसी अस्पतालका थप ११ कर्मचारी कोरोना संक्रमित

प्रदेशका अन्य सरकारी तथा निजी अस्पतालले संक्रमितको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस्तै शुक्रबार निजी अस्पतालमा नोबेलका १ र न्यूरोका ३ स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको जानकारी आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार नै जनसम्पर्क र बिरामीको सेवामा खटिएका स्थानीय न्यूरो अस्पतालका केही कर्मचारी संक्रमित भएको स्रोतले जनाएको थियो । पाँच सय बढी जनशक्ति भएको कोसी र न्यूरो अस्पतालले संक्रमित कर्मचारीलाई होम आइसोलेसनमा राखेर नियमित सेवा सञ्चालन गरिरहेको छ ।

कोसीमा संक्रमित हुनेमा आँखा, सल्यक्रिया र नसा सम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन् । उनको अनुसार संक्रमित हुने अन्य २३ कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन र बाँकी अस्पतालको विभिन्न विभागमा कार्यरत नर्स, प्राविधिक, कार्यालय सहयोगी र सफाइ कर्मचारी हुन् ।

तेस्रो चरणको लहरको क्रममा सबैभन्दा पहिले ५ पुसमा कोसी अस्पतालको एक कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो । यादवका अनुसार त्यसपछि १५ पुससम्म कसैमा संक्रमण देखिएको थिएन ।

बाँकी १४ जना १५ पुसपछि संक्रमित भएको उनले बताइन् । थप ११ जनामा शुक्रबार संक्रमण पुष्टि भएको यादवले प्रष्ट पारिन् । उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएको उनले जानकारी दिइन् । संक्रमित सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु डा. चुमन लाल दासले बताए । उनले अहिलेसम्म नियमित रुपमै अस्पताल सञ्चालन गरिरहेको बताए ।

विराटनगस्थित न्यूरो अस्पतालका जनसम्पर्क एकाइका दुई जनासहित केही कर्मचारीमा सोमबार संक्रमणको पुष्टि भएको थियो । अवस्था सामान्य रहेका उनीहरू घरमै आराम गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले संक्रमित कर्मचारीको यकिन संख्या र उनीहरूको दर्जाको बारेमा आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।

कोभिड–१९ को पहिलो र दोस्रो जस्तै तेस्रो लहरमा अग्रपंक्तिमा कार्यरत संक्रमित हुनु स्वभाविक भएको न्यूरो अस्पतालका प्रबन्धक सुरेशकुमार आचार्यले बताए । उनका अनुसार विगतको अनुभवको आधारमा आवश्यक प्रबन्ध मिलाएर अस्पतालले दैनिक सेवा दिइरहेको छ ।

भारतमा संक्रमण देखिन थालिएदेखि सेवाग्राही एवं उनीहरूको आफन्तजनलाई मास्क, फेससिल्ड, स्यानिटाइजर अनिवार्य गरेको र अस्पताललाई दैनिक तीन पटक स्प्रे गर्ने गरिएको व्यवस्थापन पक्षले जनाएको छ । दुई महिनादेखि सञ्चालन गरिरहेको निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर भन्ने हाललाई स्थगित गरेको अस्पतालले जनाएको छ ।

कोसी बाहेकका अन्य अस्पतालहरूका कर्मचारीहरू समेत संक्रमित हुने क्रम बढेको बताइएको छ । जानकारहरूका अनुसार बिरामी नआएर आर्थिक नोक्सानी हुने कारणले स्वास्थ्यकर्मी एवं कर्मचारी संक्रमित हुँदा पनि अस्पतालले यसबारे मुख खोल्दैनन् । सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयसमेत अस्पतालभित्रका कर्मचारीमा संक्रमणको अवस्था बारेमा अनभिज्ञ छ ।

कुन अस्पतालमा, कुन स्तरका र कति कर्मचारी संक्रमित भए भन्ने एकीकृत जानकारी दिने संयन्त्र नभएकोले यकिन भन्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

उनका अनुसार अहिलेसम्म कन्ट्रयाक्ट ट्रेसिङका आधारमा सबै संक्रमितको रिपोर्ट आउने गरेको हो । अस्पतालभित्रका कर्मचारीमा संक्रमणको अवस्था बुझ्न शनिबारदेखि एक संयन्त्र निर्माण गरेर काम गर्ने निर्देशक बस्नेतले बताए ।

कोसी अस्पतालका ३ चिकित्सकसहित १५ जनालाई कोरोना संक्रमण

प्रकाशित : पुस ३०, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?