कोसी अस्पतालका ३ चिकित्सकसहित १५ जनालाई कोरोना संक्रमण

न्युरो अस्पतालका कर्मचारी पनि संक्रमित

विराटनगर — तीन चिकित्सकसहित १५ जना कोभिड–१९ बाट संक्रमित भएको कोसी अस्पतालले जनाएको छ । संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन् ।  

कोसी अस्पतालका ३ चिकित्सकसहित १५ जनालाई कोरोना संक्रमण

उनका अनुसार अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन् ।

तेस्रो चरणको लहरको क्रममा सबैभन्दा पहिले ५ पुसमा अस्पतालको एक कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो । त्यसपछि १५ पुससम्म कसैमा संक्रमण देखिएको थिएन ।

बाँकी १४ जना १५ पुसपछि संक्रमित भएको यादवले बताइन् । उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएको उनले बताइन् ।

विराटनगस्थित न्यूरो अस्पतालका स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा कर्मचारी संक्रमित भएका छन् । अधिकांश होम आइसोलेसनमा छन् । एक कर्मचारीको जन्मदिनको पार्टी, नि:शुल्क स्वास्थ्य शिविरको आयोजना र अस्पतालमै सेवा दिने क्रममा उनीहरू संक्रमित भएको स्रोतले जनाएको छ ।

अस्पतालले संक्रमितको यकिन संख्या र यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । सेवा दिने क्रममा केही कर्मचारी संक्रमित भए पनि यकिन संख्या थाहा नभएको अस्पतालका प्रबन्धक सुरेशकुमार आचार्यले बताए ।

प्रकाशित : पुस २९, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?