कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्धकृष्णले नवौं पल्ट छेडाए जिब्रो 

तस्बिर : दीपक केसी, शब्द : लिला श्रेष्ठ

काठमाडौँ — मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्ण बागश्रेष्ठले नौ पल्ट जिब्रो छेडाएका छन् । बोडे निवासी ४९वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४, ०७४ देखि ०७६मा ३ तथा  ०७८ र ०७९ मागरी नौ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सोही परम्पराअन्तर्गत श्रेष्ठले सयौंको भीडमा जिब्रो छेडाएका हुन् । तीनदिन भोकै बसी एक महिनादेखि तेलमा डुबाई राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । 

विशेष पहिरन र खुट्टामातान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।

हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांकअनुसार हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराजबलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बागश्रेष्ठले ७ र जुजुभाइबास श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् । शुक्रबार बुद्धकृष्ण बागश्रेष्ठले उनकै दाजु कृष्णचन्द्र बागश्रेष्ठको हातबाट विधिपूर्वक जिब्रो छेडाएका हुन् । 


प्रकाशित : वैशाख २, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्