कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सडकमै ओपीडी सेवा दिँदै बीपी प्रतिष्ठानका चिकित्सक

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले ओपीडी सेवा बहिस्कार गरे पनि सडकमै बिरामीलाई सेवा दिइरहेका छन् । गत आइतबारदेखि बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले ओपीडी सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएको हो ।

प्रतिष्ठानमा बढ्दो बेथिति र भ्रष्टाचारविरुद्ध करिब तीन महिनादेखि चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी आन्दोलित छन् । राजनीतिक नियुक्ति पाएर आएका पदाधिकारीहरुले राजीनामा दिनुपर्ने, उनीहरुको स्थानमा विभिन्न विज्ञ टोलीले दिएको सुझावअनुसार योग्य, दक्ष र प्रतिबद्ध व्यक्तिलाई आर्थिक लेनदेनबिना नियुक्त गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै विभिन्न कार्यदलले दोषी ठहर गरेका पदाधिकारी, कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने, आधुनिक प्रविधियुक्त मेडिकल उपकरण ल्याउनुपर्ने, बिरामीको अत्यधिक चाप व्यवस्थापन गर्नुपर्नेलगायतका माग छ ।

यसबीचमा सरकारले डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समस्या पहिचान र छानबिन कार्यदल बनाएर प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट आएको वार्ता टोलीसँग ६ बुँदे सहमति भएको थियो । कार्यदलले समस्या समाधानका लागि प्रतिवेदनमै समयसीमा तोकेर कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सिफारिस गरे पनि ढिलाइ गरेको भन्दै ओपीडी सेवा बहिस्कार गरेको समितिका संयोजक डा. एसपी रिमालले बताए ।


प्रकाशित : भाद्र २३, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्