कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ महिनापछि खुल्यो सदर चिडियाखाना [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — गत वर्ष चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना बिहीबारदेखि सुरक्षा मापदण्ड अपनाउँदै सर्वसाधारणहरुका लागि खुला गरिएको छ । विश्वभर फैलिएको कोरोना महामारी संक्रमणलाई ख्याल गर्दै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पर्यटकहरूका लागि बन्द गरिएको थियो ।

चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए । अवलोकनको लागि बन्द गरेपनि त्यहाँ रहेका जीवजन्तुको स्याहारसुसार भने नियमित गरिँदै आइएको थियो ।

हाल चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ वटा जीव जन्तु रहेका छन् । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकनका लागि विदेशीको लागि रु ७५० तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नागरिकका लागि रु ५०० नेपालीलाई १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि रु ९० लिँदै आइएकाे छ ।


प्रकाशित : मंसिर २५, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्