कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कलकाे उद्घाटन गरेकी छिन्  । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र दरबार हाइस्कलकाे पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गरिन् । यस्तै राष्ट्रपति भण्डारीले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशा समेत व्यक्त गरिन् । करिब ३ सय वर्ष अघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व भएको पनि उनले बताइन् । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुनेपनि उनले बताइन् । यसबाट काठमाडौं उपत्यकाको विकास मात्रै नभइ पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने विश्वास गरिन् ।

रानीपोखरीको पुननिर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

भूकम्पले क्षतिग्रस्त रानीपोखरी प्राचीन शैलीमै पुनर्निर्माण गरिएको हो । पोखरीमा एउटामा ३ करोड लिटर र दुईवटामा ९ करोड लिटर पानी अट्ने तीन तह रहेका छन् । 

वर्षाको पानीले तह भरिने र धेरै भए बाहिर निकास गर्ने प्रणालीसहित रानीपोखरीको पुनर्निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।  रानीपोखरीको बीचमा रहेको  बालगोपालेश्वर मन्दिर पनि प्राचीन शैलीमै निर्माण गरिएको छ ।

दरबार हाइस्कुल । तस्बिर : अनिश रेग्मी

राष्ट्रपतिबाट रानीपोखरीसँगै दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलीमा निर्माण गर्न सहयोग पुर्‍याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरिन् ।

दरबार हाइस्कुल । तस्बिर : अनिश रेग्मी

१६७ वर्षको इतिहास बोकेको दरबार हाईस्कुल नयाँ स्वरूपमा चिटिक्क भएको छ । २०७२ बैशाखको भूकम्पले ध्वस्त पारेका भवन नयाँ निर्माण गरिएको हो । चीनको सहयोगमा निर्माण भएको यो विद्यालयको भवन पुरानै मौलिक शैलीमा बनाइएको छ । याे भवन चिनियाँ सरकारको ८५ करोडको लागतमा निर्माण पूरा भएको हाे । ६ महिनाअघि नै निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरणको कार्यक्रम पछाडि सरेको हो । काठमाडौं महानगरपालिका–२७ मा रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा चारतले भवन बनेको छ । पूर्वी मोहडामा रहेको ४५ कोठाको चार तले भव्य भवन संरचना चिनियाँ सांघाई कन्सट्रक्सनले भवन निर्माण गरेको हो । यहाँ साबिकका भानु र संस्कृत माध्यमिक विद्यालय संचालन हुनेछन् ।


प्रकाशित : कार्तिक ५, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्