कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चल्न थाले लामाे दूरीका गाडी [तस्बिरहरू]

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि आज बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिन्थे। सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको थियाे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यसको कार्यान्वयन कसरी गर्ने भन्नेबारे बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा छलफल भएको थियो । हमालका अनुसार कोरोना महामारीअघि जुन जुन ठाउँमा गाडी खाजा खान रोकिन्थे, ती ठाउँमा स्थानीय तह, ट्राफिक प्रहरी र स्थानीय प्रशासनलाई परिचालन गराएर अनुगमन गराई सञ्चालन गर्ने सहमति भएको थियाे । सरकारले लामो दूरीका सवारीमा तोकेको मापदण्डअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्नुपर्ने छ । यसरी यात्रु बोक्दा ५० प्रतिशत बढी लिन पाइने गरी निर्णय भएको छ । यात्रुलाई गाडीमा उभ्याउन पाइने छैन । यात्रुले सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ ।


प्रकाशित : आश्विन १, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्