फागु पूर्णिमाको अवसरमा रेडियो कान्तिपुरले बिहीबार होली कार्यक्रम आयोजना गरेको छ । पुल्चोकस्थित रेडियो स्टेशन परिसरमा 'होली हंगामा' कार्यक्रम लोकप्रिय कलाकारहरुको जमघटमा मनाइएको हो । कार्यक्रममा धर्मेन्द्र सेवान, कमल क्षेत्री, शान्तिश्री परियार, विश्व नेपाली, बालेन शाह, प्रिती कौर, आभाष लाभले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै हास्यव्यंग्य कलाकार राजाराजेन्द्रको प्रस्तुतिले कार्यक्रम थप रमाइलो बनेको सहभागीले बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी, नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुको र्याली माइतीघर हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।
भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूल टिप्न र माला उन्न स्थानीय महिलाहरुलाई यतिबेला भ्याइनभ्याइ छ । काठमाडौं, ललितपुर र स्थानीय व्यापारीहरु मखमली फूलको माला हेर्दै मोलमोलाइ गर्न ब्यस्त देखिन्थे । गुन्डुमा वर्षेनी मखमली फूलको खेती गरिँदै आएको छ ।
स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि आज बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिन्थे। सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको थियाे ।
शुक्रबार र शनिबार प्रधानमन्त्री निवास क्षेत्र वरपर प्रदर्शनका लागि जम्मा हुँदा बाटो हिँड्ने बटुवालाई समेत प्रहरीले समाएपछि 'इनफ इज इनफ'का युवाहरुले आइतबार भने प्रहरी चौकीकै अघिल्तिर प्रदर्शन गरे । 'यसै समाउने उसै समाउने' भन्दै उनीहरुले बेकारमा प्रहरीलाई दुख र इन्धन खर्च नगराउँ भन्दै सोझै समाएर जहाँ लैजाने हो त्यहीं मालीगाउँको प्रहरी चौकी अघि भेला हुन प्रदर्शनकारीहरुलाई आव्हान गरेका थिए ।
काठमाडौंको बनस्थली सानो भर्याङ नजिकैको पाटीनेर एउटा ठूलो पानीको ड्रम छ । त्यही ड्रमको पानीले नुहाइरहेका छन्, जंगबहादुर बुढा (४९) । आइतबार बिहान नुहाइसकेर उनले सेतो वस्त्र लगाए । नाक-मुखलाई मास्कले छोपे अनि खाली खुट्टा सडक हुँदै नजिकै रहेको प्रतीक्षालयमा छिरे ।
ठेलागाडामा राखेर मिर्गौलापीडित श्रीमतीलाई डायलसिस गराउन अस्पताल लैजाँदै गरेको फोटो सार्वजनिक भएपछि डम्बरबहादुर सिम्खडालाई सहयोग जुट्न थालेको छ । कान्तिपुर र दी काठमाडौं पोस्टमा उनको फोटो प्रकाशन भएपछि ‘एनिकर्मा’ ट्वीटर ह्यान्डलबाट उनलाई सहयोग जुटाउन थालिएको थियो ।
डम्बरबहादुर सिम्खडा, ४२ ले खाडी मुलुकमा बसेर काम गरेको ८ वर्ष भयो । श्रीमती बिरामी परेको खबर नआएको भए उनी यतिबेला कतारमै हुन्थे । कम्पनी र काम दुवै राम्रै भएकाले उनी बिदा मिलाएर श्रीमती सीता सिम्खडाको उपचारपछि फर्कने योजनासहित नेपाल आएका थिए ।