कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद, मन्त्रीकै गाउँ जाने सडकमा खोला बग्छ, ताल जम्छ [फोटोफिचर]

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षा हुने बित्तकै सडकलाई बगर बनाएर खोला बग्छ । खाल्डाखुल्डीमा पानी जम्दा सडक तालजस्तो देखिन्छ । अरनिको राजमार्गको मुख्य बजार क्षेत्रको बीचबाटै सभामुख र पूर्वमन्त्री, प्रदेश मन्त्री, सांसदका गाउँ जोड्ने कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य छन् ।

बर्खालगत्तै जिल्लाभरका ग्रामिणदेखि मुख्य सडकखण्ड क्षतिग्रस्त अवस्थामा पुगेका छन् । राजधानी जोड्ने मुख्य सडक भास्सिएर ध्वस्त बनेपछि सीमाक्षेत्र तातोपानीदेखि पश्चिम हेलम्बु, पाँचपोखरीसम्मका सडक हिलाम्मे बनेका छन् ।

बिहीबार सभामुख अग्‍नी सापकोटाको गाउँ चौतारा साँगाचोकगढी नगर कुविण्डे जोड्ने बलेफी जलविरे १० किलोमिटर सडक खण्डको बीचमा बगेको लप्सेखोलामा बाढी आएपछि सवारी पार हुन नसकेपछि यात्रु बीचमै रोकिए ।

त्यस्तै पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गाउँ बाह्रबिसे नगर जोड्ने जुरेखण्ड उस्तै अवस्था देखिन्थ्यो । पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का पर्यटन तथा वन मन्त्री अरुण नेपालको चुनावक्षेत्रका सडक पहिरैपहिरोले क्षतविक्षत देखिन्छ ।

मेलम्ची सडक खण्डमा सवारी फसेपछि एक्साभेटर लगाएर सवारी निकाल्न मुस्किल पर्ने स्थानीय बताउँछन् । जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट विभिन्न गाउँ जोड्ने मात्रै ५५ सडकमा अधिकाशं सडक वर्षा लगत्तै अवरुद्ध हुने अवस्थामा पुगेका छन् । जिल्लाभरमा २५ सय किलोमिटर ग्रामिण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुईसय किलोमिटर कालोपत्रे गरिएको छ ।

‘ग्रामिण भेगका कच्ची सडक बर्खासँगै बन्द हुन थालेका छन् ,कतैभने मर्मत सम्भारपछि सञ्चालनमा ल्याइएको छ,’चरिकोट सडक डिभिजन कार्यालयका विजयकुमार महतोले भने । नयाँ खुलेका स्थानीय तह सडकअन्तर्गतका सयौं र अरनिको राजमार्ग, लामोसाघु चरिकोट सडक खण्डको केही भागमा पहिरोले हिलाम्मे बनाएको उनले सुनाए ।

जिल्लाका उत्तर पूर्वी भेगका सबै ग्रामिण सडकखण्ड वर्षा सुरु भएसँगै बन्द हुँदै गएका छन् । भोटेकोसी गाउँपालिको मार्मिङ, तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीका गाउँमा पुग्ने सबै सडक वर्षासँगै पहिरोले पुरिएका छन् । भूकम्पले छियाछिया बनाएकाले सीमावर्ती गाउँका सडकमा पैदल यात्रा समेत जोखिमपूर्ण बनेको छ । बाह्रबिसे–तातोपानी २६ किलोमिटरको दूरीमा दसकिलो,सिरिसे, जम्बु, झिर्पू ,डाकालाङ, कोदारी जस्ता स्थानमा वर्षासँगै पुराना पहिरो फेरी खस्न थालेका छन् ।


प्रकाशित : भाद्र ४, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्