कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बन्दै छ अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृह [तस्बिरहरु]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — राष्ट्रिय गौरवको आयोजना लुम्बिनी विकास गुरुयोजना अन्तर्गत लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभागृह तथा ध्यान केन्द्र धमाधम निर्माण भइरहेको छ ।

लुम्बिनीमा पर्यटकीय आकर्षण थप्न बनाउन थालिएको ध्यान केन्द्रको ९० प्रतिशत बढी काम सपन्न भएको छ । लकडाउनको ३ महिनामा पूरै छानो बनाएर सकिएको छ । मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ ।

अहिले हलभित्र भुइँमा मोज्याक फ्लोरिङको काम अन्तिम चरणमा रहेको छ । एक हजार दुई वर्गमिटरमा मोज्याक लगाइएको छ । हलमा छानोदेखि तल १२ हजार ७ सय वर्गमिटर फल्स सिलिङको काम मात्र बाँकी छ । ‘चीनबाट आउनु पर्ने हुँदा ढिला भएको हो,’ कन्सट्रक्सनका टिम लिडर सन्तोष अधिकारीले भने, ‘उताबाट सामान हिँडिसकेको छ ।’ त्यसमा प्रयोग हुने केही फिटिङका सामानहरु काठमाडौं आइसकेको छ । मुख्य त्यही काममात्र बाँकी छ । १२ हजार ७ सय वर्गमिटर अत्याधुनिक फल्स सिलिङ बनाइने छ । अहिले ५० बढी मजदुर र मिस्त्रीले काम गरिरहेका छन् ।

८ हजार ३ सय वर्गमिटरमा रहेको ध्यान केन्द्र रहेको छ । १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन बनाइएको छ । उक्त फाउन्डेसन माथि एक वर्गमिटर गोलाईको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छाता शैलीमा बनाइएको अत्याधुनिक र सुविधा सम्पन्न हल मुलुकै सबैभन्दा ठूलो हो । ५ हजार जना जम्मा भएर कार्यक्रम गर्न सक्ने बनाइएको छ । अत्याधुनिक र सुविधा सम्पन्न हल मुलुकै सबैभन्दा ठूलो कार्यक्रम गर्न मिल्ने आकर्षणको रहेको लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले बताए । यसले यहाँको पर्यटकीय आकर्षणमा गरगहनाको सजावट राम्रो रहेको बताए ।

हलमा ठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह र ध्यान शिविर आयोजना गर्न मिल्ने गरी निर्माण गरिएको छ । त्यस्तै हललाई सानो ठूलो आकारमा विभाजन गरेर कार्यक्रम पनि गर्न मिल्ने गरी बनाइएको छ । छाना माथि बुद्धको आँखा बनाइने छ । पहिलो चरणको आयोजना अन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले २८ करोड १३ लाख लागतमा निर्माण गरिरहेको हो । ०७४ चैत्र ६ गते सम्झौता भएको हल ०७६ चैत्र ५ गते सम्पन्न गर्ने लक्ष्य रहेको थियो । लकडाउनका कारण बाहिरबाट सामग्री आउन नसकेका कारण केही ढिलो हुन गएको हो । अब दुई महिनाभित्रै निर्माण पूरा हुने बताइएको छ ।

पहिलो चरणको काम सम्पन्न भएपछि हलमा कार्यक्रम सञ्चालन गर्न सकिने छ । त्यसलाई व्यवस्थित रुपमा सञ्चालन थप पूर्वाधार बनाउन दोस्रो चरणको ठेक्का इस्टिमेट र लागतसमेत तयार गरिएको छ । दोस्रो चरणका लागि ३८ करोड लागत रहेको छ ।

नेपालको सबैभन्दा बढी विदेशी र स्वदेशी भ्रमण गर्ने पर्यटकीय ठाउँ हो लुम्बिनी । सन् २०१९ मा एक लाख ७४ हजार विदेशी र ११ लाख बढी स्वदेशीले लुम्बिनी भ्रमण गरेका थिए । 


प्रकाशित : असार ३०, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्