कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसिनले छुपुछुपु [फोटो फिचर]

रमेशकुमार पौडेल

चितवन — हिलाम्मे खेतमा खेतालाहरूले गीत गाउँदै छुपुछुपु धान रोप्ने मौसम हो यो । भरतपुर महानगरपालिका–२६ दिव्यनगरस्थित पूरै एक बिघाको एउटा प्लटमा अहिले रोपाइँको यस्तै चटारो छ । तर त्यहाँ न रोपाहार छन् न त भिड । छ त जम्मा एउटा मेसिन र तीन जार जना मानिस ।

दिव्यनगरस्थित बृहस्पति आधुनिक कृषि फार्ममा देखिएको दृश्य हो यो । त्यहाँ यस वर्ष १५ बिघामा रोपाइँ हुँदै छ । तर फार्म सञ्चालक दया दवाडीलाई रोपाहार नपाउने चिन्ता छैन । सबै खेत मेसिनबाटै रोप्दै छन् । १५ बिघा रोप्न कस्सिएर काम गरे दुई दिन पनि लाग्दैन ।

दवाडीले अघिल्लो वर्षबाट मेसिनले रोप्न सुरु गरेका हुन् । गत वर्ष चार बिघामा मात्र रोपाइँ गरेका थिए । खेताला लगाउँदा एक बिघामा कम्तीमा २० जना चाहिन्छ । तर मेसिनले दुई–चार घण्टामै एक बिघा रोपाइँ सकिने उनको अनुभव छ ।

मेसिनले रोपाइँ गर्न खेतका गह्रा ठूला र छेउकुना मिलेको हुनुपर्छ । यसैका लागि दवाडीले गत हिउँदमै जमिन सम्याए । बीउ पनि परम्परागत ब्याडमा नभएर विशेष खालको ट्रेमा राख्नुपर्छ । उनले चीनबाट ट्रे मगाएका थिए तर लकडाउनका कारण उतै रोकियो । दवाडीले अनेक जुक्ति लगाएर बीउ तयार पारेका छन् । यसलाई ट्रेमा राखिएको बीउजसरी रोप्न सजिलो भने छैन ।

चितवनमा ३० हजार हेक्टर हाराहारीमा धानखेती हुन्छ । तर मेसिनले धान रोप्ने चलन अपवादजस्तै हो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लाभर धान रोप्न कम्तीमा दुई सयवटा मेसिन आवश्यक पर्छर् । तर अहिले तीन चारवटाभन्दा छैनन् । यिनबाट ३० हेक्टर रोपाइँ हुन पनि मुस्किल छ ।

खेताला लगाउनुभन्दा कम खर्चिलो भए पनि सुरुमा किन्दा धेरै लगानी गर्नुपर्ने, मर्मत गर्न समस्या हुने, खेत पनि स–साना र सतह नमिलेको भएकाले मेसिनले खेती गर्ने चलन बढ्न नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिृकत माधव पौडेलले बताए ।


प्रकाशित : असार २२, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्