कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लकडाउनको मार : डम्बरबहादुर-सीताको अस्पताल यात्रा

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — डम्बरबहादुर सिम्खडा, ४२ ले खाडी मुलुकमा बसेर काम गरेको ८ वर्ष भयो । श्रीमती बिरामी परेको खबर नआएको भए उनी यतिबेला कतारमै हुन्थे । कम्पनी र काम दुवै राम्रै भएकाले उनी बिदा मिलाएर श्रीमती सीता सिम्खडाको उपचारपछि फर्कने योजनासहित नेपाल आएका थिए ।

तर उनले सोचेजस्तो भएन, श्रीमती सीता ४०, लाई सुगर र प्रेसरले च्याप्दै लग्यो । धादिङको गंगाजमुना गाउँपालिका गलनेका डम्बरलाई एक वर्षअघिसम्म गाउँमा खेती किसान गरेर बसेकी श्रीमतीको मिर्गौला खराब भएको सुन्दा विश्वास गर्नै गाह्रो भयो।

डाक्टरले डायलासिस गराउनुपर्छ भने । उनी श्रीमतीको डायलासिस गराउन काठमाडौंको सामाखुसीमा डेरा लिइ बस्न थाले र नजिकैको एउटा डायलासिस सेन्टरमा निःशुल्क डायलासिस गराउन थाले । यसैबीच श्रीमतीले आँखा कम देख्न थालेपछि उनीमाथि अर्को आपत आइलाग्यो ।

यता लकडाउनले सामाखुसीको डायलासिस सेन्टर पनि बन्द भयो। वीर अस्पतालमा डायलासिस हुन्छ भन्ने सुनेर उनी वीर अस्पताल पुगे तर वीर अस्पताले स्वास्थ्य मन्त्रालयले नाम पठाउनु पर्छ भन्यो । त्यसपछि नाम पठाउन स्वास्थ्य मन्त्रालय गएर हार–गुहार गरे। स्वास्थ्य मन्त्रालयबाट सहयोग भएपछि उनले दुई हप्ता भयो ठेलामा राखेर श्रीमतीलाई डायलासिस गराउन वीर अस्पताल ल्याउने–लाने गर्न थालेको। भन्छन्, ‘ट्याक्सी पाइँदैन, पाइहाले पनि महँगो भन्छ्न्, त्यसैले ठेलामा श्रीमती राखेर अस्पताल ल्याउनुबाहेक अरु विकल्प मसँग छैन।’ उनी बिहान–बेलुका यही ठेलामा तरकारी बेचेर डेरा भाडा र सीताको औषधि खर्चको जोहो गर्छन् ।


प्रकाशित : जेष्ठ १९, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्