बच्चा च्यापेर काम गर्ने यी आमाहरु [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — राप्ती नगरपालिका–१३ स्थित पहाडी गाउँ लोथर कालिटारमा मकैका बोट लहलह हुन थालेका छन् । मकै हुर्कंदै गर्दा झार पनि गोड्ने गरिएको छ । कालिटारका बिर्खबहादुर चेपाङको बारीमा मकै गोड्ने खेताला (कामदार) खेतभरि नै थिए । तीन जना महिला आफ्ना नानी ढाडमै बोकेर अरु खेताला बराबर काममा व्यस्त देखिए ।

झिम्कीमाया चेपाङ एक वर्षको छोरो निरजलाई बोकेरै काममा जुटेकी थिइन् भने मिनु चेपाङले पनि १० महिने छोरी एरिमियालाई मजेत्रोले बेरेर बोकेकी थिइन् । आमा काममा तल्लीन हुँदा केही बच्चा भने निदाएका थिए । २१ वर्षकी पूर्णिमाया चेपाङको काखमा भने ६ महिनाकी छोरी इच्छामाया थिइन् । उनीचाहिँ वितरण गरिएको ३० किलो चामलको बोरा पछाडि बोकेर कालिटारबाट बाटो लागिन् । उनलाई करिब ३ घण्टा परको गाउँ जानु थियो ।

पछाडि ३० किलोको भारी थियो, अगाडि मजेत्रोको झोलुंगोभित्र छोरी । पूर्णिमायाको खुट्टा पनि नांगै थिए । तर बाटाका चुच्चा ढुंगाको उनलाई वास्ता थिएन । चिप्ला ढुंगा पनि आउँथे । उनी निकै सम्हालिएर पाइला चाल्थिन् ।

चेपाङ चितवनको विकट पहाडी क्षेत्रमा बसोबास भएका आदिवासी समुदाय हुन् । उनीहरुले कम उमेरमा बिहे गर्ने र धेरै बच्चा जन्माउने परिपाटी छ । यद्यपि चेपाङ अगुवाहरु कम उमेरमा बिहे गर्ने चलन निकै घट्दै गएको बताउँछन् । परिवार नियोजन गरेर जन्मान्तर बढाउने र कम बच्चा जन्माउने पनि बढ्दै छन् । बच्चासँगै काममा निस्कनु धेरैका लागि बाध्यताजस्तै बनेको छ ।

राप्ती–१३ मा यसपालि सामान्यतया बच्चालाई लाग्ने दादुरा रोगको प्रकोप देखियो । स्वास्थ्य शाखाले भर्खरमात्र यस क्षेत्रका बालकालिकालाई दादुराको खोप पनि लगाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्