कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार बम्जनको आश्रममा 'राजकीय सान' [तस्बिरहरु]

राजकुमार कार्की

पैरे(सिन्धुली) — गेटमा पुग्‍नेबित्तिकै नाम लेखाउनुपर्ने, पैदलयात्री होस् या सवारी साधन र सबैले । यो कुनै सरकारी अड्डा होइन । 'लिटिल बुद्ध' उपमा पाएर यतिखेर बलात्कारको आरोप खेपेका रामबहादुर बम्जनको कमलामाइ नगरपालिका ८ मा रहेको पैरेको आश्रमस्थल हो । गेटबाट दक्षिणतिर लागेपछि जस्ताले छाएका त्रिकोण आकारका लामा घरहरु छन् । अनुयायीहरु यत्रतत्र छरिएर रहेका छन् ।

ठूलो पटाङ्गिनी भएर दक्षिणतरि लागेपछि नवनिर्मित घर आउँछ, जुन आकर्षक शैलीमा बनेको छ । त्यहाँबाट झण्डै पाँच सय मिटर दूरीमा चारैतिर पर्खाल लगाएको र तारले घेरेको भवन आउँछ । त्यहाँ छिर्न निकै कडाइ हुन्छ । अनुयायीहरु गेट बाहिर नै चार हातखुट्टा टेकेर जमिनमा ढोग्‍ने गर्दछन् । गेटभित्र बम्जन बस्‍ने भवन चिनियाँ शैलीमा निर्माण भएको छ । भवन बाहिरबाट हेर्दा नै निकै सुन्दर छ, भित्र त झन् कल्पनाभन्दा बाहिर नै छ । अनुयायीहरुका अनुसार बम्जनलाई खोज्‍ने क्रममा प्रहरीले ढोकाको ताला फोरिदिएको हो । राजकीय सानमा बम्जन सुत्‍ने दुइवटा कोठामा आकर्षक बेडहरु छन् । सजिएको बैठक कोठा छ, भान्सा र शौचालय झनै आकर्षक छन् । कुनै तपस्वीको हो भन्दा पत्यार नै लाग्दैन । बेडमा यत्रतत्र खेलौना छरिएका छन् ।

र्‍याकमा बम्जनको तस्बिर र त्यसमा श्रीमतीको फोटो पनि छ । बम्जन खोज्ने नाममा प्रहरीले धर्ममाथि प्रहार गरेको अनुयायीहरुले आरोप लगाए । बम्जनको आश्रमभन्दा एक किलोमिटर दक्षिण लागेपछि आनीहरुको आश्रम छ । त्यहाँबाट उत्तर खोलैखोला लागेपछि अनुयायीहरुको खानाखाने स्थलमा पुगिन्छ । जहाँ बेसार नभएको दालभात तरकारी पाक्ने गर्दछ ।

अनुयायीहरु बम्जनलाई 'भगवान' मान्छन् । प्रहरीले बम्जनलाई पक्राउ गर्न आश्रम स्थलमा २४ घण्टा नै पहरा दिएको छ । करिब ४२ बिगाह जमिनमा बम्जनको आश्रम छ । २४ बिगाह लालपुर्जा भएको र बाँकी चनदेवी सामुदायिक वनको जग्गा रहेको छ । बम्जनमाथि विभिन्न आश्रममा रहँदा पाँचजना आनी र अनुयायी बेपत्ता पारेको, यौन दुर्व्यवहार, यातना लगायतको आरोपमा किटानी जाहेरी परेको छ ।

पछिल्लो समय बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि सर्लाही जिल्ला अदालतले पक्राउ गर्न आदेश जारी गरेको छ । उनी फरार सूचीमा छन् । अनुयायीहरुको बोधी श्रवण धर्म संघका अध्यक्ष निलबहादुर थिङले बम्जनको बासस्थान प्रवेशको मूलद्वारमा तालासमेत तोडफोड गरेको र अभद्रता प्रदर्शन गरेको बताए ।

प्रकाशित : फाल्गुन ४, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्