कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिस्कोपबाट सूर्यग्रहण हेर्नेको कीर्तिपुरमा घुइँचो

बुनु थारु

काठमाडौँ — बिहीबारका दिन खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपालमा बिहान ८ बजेर ४३ मिनेटमा ग्रहण लाग्न सुरु भएको थियो भने ११ बजेर ३३ मिनेट जाँदा सकिएको थियो । कीर्तिपुरस्थित बीपी विज्ञान संग्रहालयले टेलिस्कोपबाट तथा प्रत्यक्ष प्रसारणबाट हेर्ने व्यवस्था गरिएको थियो । सर्वसाधारण, विद्यार्थीका घुइँचो देखिन्थ्यो। कोही परिवार नै हेर्न आएका थिए। सबैजना लाइनमा उभिएका थिए।

पाटनबाट सूर्य ग्रहण हेर्नका लागि श्रीमान् र नातिसहित आएकी ७० वर्षीया दिलशोभा शाक्यले टेलिस्कोपबाट ग्रहणको दृश्य हेर्न पाउँदा खुसी लागेको बताइन् । ‘कालो डल्लो अनि सेतो चक्का राखेजस्तो देखेँ’, यसरी कहिल्यै हेर्न नपाएको उनी भन्छिन्,‘ खानु हुँदैन, बाहिर हिँड्नु हुँदैन भन्छन् खासै विश्वास त छैन । मैले त खाएरै आइदिएँ ।’

श्रीमती र डेढ वर्षीय छोरा बोकेर ग्रहण अवलोकन गर्न आएका ठिमीका रत्नकृष्ण श्रेष्ठ लाइनमा बसिरहेका थिए । उनले ग्रहणमा खानेकुरा खानुहुन्न भनेर नखाइ आएको बताए । समाचारमा नेपालमा पनि हेर्ने सुविधा रहेछ भन्ने थाहा पाएपछि आइयो,प्रत्यक्ष हेर्दा नजिकबाट छुट्टै अनुभव हुनेरहेछ , उनले भने ।

कलंकीबाट अजु डंगोल बच्चाहरुको स्कुल बिदा भएपछि सूर्य ग्रहण देखाउनका लागि छोराछोरीसहित आएका थिए ।‘स्कुल बिदा भएपछि हेर्न आएको, टेलिस्कोपबाट हेर्दा सनलाई ‘ब्लक’ गरेको देखेँ’, ८ कक्षामा पढ्ने अज डंगोलले बताइन् । बच्चाहरुको राशी मिल्यो मेरो भने मिलेन त्यसैले हेरिन अजु बताउँछन् ।

त्यही भीडमा आफ्नो छोरीलाई एक्सरे फिल्मबाट देखाउँदै थिइन् कीर्तिपुरकी निरु हमाल । घामका किरणबाट बच्न आमा छोरीले चश्मा लगाएका थिए । सेन्ट जेभियर कलेजका स्नातक तेस्रो वर्ष फिजिक्सका विद्यार्थीहरु पनि त्यही भीडमा देखिए । विद्यार्थी रितेश शाहले ३० जना साथीहरु आएको जानकारी दिए । पढेको कुरा हेर्न पाइयो अर्की विद्यार्थी सुप्रिया खानले बताइन् ।

कीर्तिपुरस्थित विज्ञान संग्रहालयमा आज खण्डग्रास सूर्य ग्रहण प्रत्यक्ष प्रसारण गर्नुका साथै सर्वसाधारणलाई टेलिस्कोपबाट ग्रहण देखाइएको थियो।

विज्ञान संग्रहालयका कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले निकै नै उत्साहजनक तरिकाले मानिसहरु हेर्न आएको बताए । सर्वसाधारणलाई वैज्ञानिक सन्देश दिनका लागि र रुढीवादी आक्रान्त समाजले सूर्यग्रहणबारे थाहा पाउन् भन्ने उद्देश्यले यो सुविधा दिएको जानकारी दिए ।

उनका अनुसार स्कुल, कलेजका विद्यार्थी, सर्वसाधारण गरी २ घण्टामा लगभग ५०० जनाको उपस्थिति थियो । सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा बिग्रने सम्भावना हुन्छ । सोलार फिल्टर प्रयोग गरेर हेर्न सकिने विज्ञहरु बताउँछन् ।

साथै एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमासमेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन। साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन । ग्रहण लागेका बेला बार्नुपर्ने बताए पनि यस समयमा मानवमा पर्ने प्रभावमा सम्बन्ध हालसम्म कुनै पनि वैज्ञानिक आधारहरु प्राप्त हुन सकेका छैनन् ।


प्रकाशित : पुस १०, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्