कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ८ हजारभन्दा अग्ला १४ हिमाल सात महिनाको अवधिमा आरोहण गरी विश्व किर्तीमान कायम गरेका निर्मल पुर्जासहितका नेपाली आरोहीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । रसुवाको स्याफ्रुबेंसीबाट बुधबार विमानस्थल ओर्लिएका निर्मल र उनका टिमका मिङ्मा ग्याबु शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङलाई पञ्चेबाजा, नेपाल प्रहरीको ब्यान्ड बाजासहित स्वागत गरिएको हो ।

नेपाली पर्वतारोही पुर्जाले चीनले ‘स्पेसल परमिट’ दिएपछि मंगलबार विहान स्थानीय समयअनुसार ८:५८ बजे सिसापाङ्माको शिखरमा पाइला राख्दै ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सफलतापूर्वक आरोहण गर्ने पुर्जा विश्वमा ४३ औं नम्बरमा परेका छन् भने शेर्पा ४४ स्थानमा परेका छन् । नेपालमा भने पुर्जा चौथो र शेर्पा पाँचौ व्यक्ति हुन् । म्याग्दीका पुर्जा पूर्वब्रिटिस आर्मी हुन् भने शेर्पा ताप्लेजुङका बासिन्दा हुन् । आरोहीद्वयलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । पुर्जाले आठ वर्ष लगाएर पोलिस आरोहीले सन् १९८७ मा बनाएको कीर्तिमानलाई सात महिनामै छोट्याइदिएका हुन् । यसअघि पोल्यान्डका जर्जी कुकुच्जाले ७ वर्ष ११ महिना १४ दिन लगाएर सन् १९८७ मा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

पुर्जाले २३ अप्रिलमा अन्नपूर्णको आरोहरणसँगै कीर्तिमान कायम गर्ने अभियान ‘प्रोजेक्ट पोसिबल’ थालेका थिए । चौथो हिमालको रुपमा २२ मे मै विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका उनले ११ हिमाल ९० दिनभित्रै चढेका थिए । उनले ल्होत्से, मकालु र सगरमाथा ४८ घन्टाभित्रै आरोहण गर्दै रेकर्ड बनाए । उनले यो अभियानको १३ औं हिमालको रुपमा २७ सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राखेका थिए ।


प्रकाशित : कार्तिक १३, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्