कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिहारलाई ढकमक्क सयपत्री

प्रमिता ढकाल

भरतपुर — चितवनको भरतपुर महानगरपालिका-२३ मा महिलाहरुले सामूहिक सयपत्री फूल खेती गरेका छन् । २३ वडाको वडा कार्यालयले उपलब्ध गराएको भाडाको जग्गामा मनकामना पुष्प खेती समूहका महिलाले फूल खेती गरेका हुन् ।

उनीहरु आवद्ध रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिएको पुष्प खेती तालिमबाट खेतीका लागि हौसिएका महिलाको यो पहिलो प्रयास हो । असारमा ३ दिने तालिममा सहभागी ३० महिलाले मिहिनेत गरेर हुर्काएको सयपत्रीको अहिले बिक्री योग्य भएको छ ।

तिहारलाई लक्षित गरेर लगाइएको फूलको माग आउन थालिसकेको समूहकी अध्यक्ष रेनुका पौडेलले बताइन् । करिव १५ हजार तयारी मालाको अर्डर आएकाले समूहका महिलाहरु अहिले फूल टिप्न र माला उन्न व्यस्त छन् ।

समूहका सबै सदस्य फूल टिप्ने र उन्ने कार्यमा संलग्न रहँदा पनि एक दिनमा एक हजार माला मात्रै तयार गर्न सकेको उनले बताइन् । ‘९ गतेदेखि ११ गतेसम्मका लागि मालाको अर्डर आइसकेको छ,’ पौडेलले भनिन्, ‘सबैजना मिलेर काम गर्दा पनि भ्याइनभ्याइ छ । ’ करिव १६ कठ्ठा जग्गामा लगाइएको सयपत्रीले सो क्षेत्रको सुन्दरता बढाएको छ ।

बारीभरी ढकमक्क फूलेको सयपत्रीमा रमाउने, फोटो खिच्ने र खिचाउनेको भीड पनि थेगिनसक्नुको छ ।

प्रकाशित : कार्तिक ७, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्