कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोडा चढेर गोसाइँकुण्ड [तस्बिरहरु]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका सुब्बा तामाङ घोडा डोर्‍याउँदै तल झर्दै गर्दा लौरीबिनाको उकालोमा भेटिए । उनी गोसाइँकुण्ड मेलामा आएका भक्तजनलाई बुद्ध मन्दिर पुर्‍याएर फर्कंदै गर्दा भेटिएका हुन् । उकालो चढ्न नसक्ने तीर्थालु लिन पुन: चोलाङपाटी झर्दै थिए उनी । गोसाइँकुण्ड तीर्थयात्राका लागि आउने भक्तजनको सुविधाका लागि स्थानीय बासिन्दाले बर्सेनि घोडामार्फत तीर्थयात्रीलाई ओसार्दै आएका छन् ।

'मेलाको समयमा दिनको ४/५ पटकसम्म तलमाथि गर्नु पर्ने हुन्छ' तामाङले सुनाए । अघि पछि काम नहुँदा यी घोडाहरु जंगलमा चरेर बस्छन् । मेलाको समयमा मात्र घोडाको प्रयोग हुने गरेको छ । एउटै घोडाबाट दैनिक ५ देखि ७ हजार रुपैयाँसम्म लिने गरेका छन् । उकालोमा हिंड्न नसक्ने, ज्येष्ठ र अशक्त तीर्थयात्रीहरुले घोडा चढ्ने गरेका छन् । कोही रहर र रमाइलोको लागि पनि घोडा चढने गर्दछन् । मनोरम दृश्यहरु अवलोकन गर्दै घोडामा यात्रा गर्दा धेरै रमाइले हुने तीर्थालु बताउँछन् ।

गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र साउन शुक्ल पूर्णिमा अर्थात् (जनैपूर्णिमा) गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ । यस ठाउँ धार्मिक एवम् पर्यटकीय क्षेत्र भएकाले वर्षभरि नै विदेशी तथा स्वदेशी पर्यटकहरुको आगमन भइरहन्छ ।

प्रकाशित : भाद्र ३, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्