तस्बिरमा हेरौं काठमाडौंको जनै पूर्णे

तस्बिर : इलिट जोशी

काठमाडौँ — बिहीबार हिन्दूधर्मावलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाइरहेका छन् । बिहानैदेखि मन्दिरहरुमा सर्वसाधारणको घुइँचो लागेको छ । मन्दिरमा जनै फेर्न, डोरो बाँध्न सर्वसाधारण पुगेका छन् । यस्तै दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिएका छन् ।


प्रकाशित : श्रावण ३०, २०७६ १२:१२

कुनै प्रकारको रोगव्याधि नलागोस्, सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहित तथा मन्दिरका पुजारीद्वारा नाडीमा रक्षाबन्धन बाँधी दिएका थिए । रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्रोच्चारण गरिन्छ । धाँमीझाँक्रीले पनि यही दिन ढ्याङग्रो बजाउँदै मेला भर्ने चलन छ ।

प्रतिक्रिया
पठाउनुहोस्

२ वर्षअघि दीक्षितले भनेका थिए - 'यो लामो आयुको मसँग कुनै रहस्य छैन'

पुनः प्रकाशित
देवेन्द्र भट्टराई

काठमाडौँ — झन्डै एक शताब्दी लामो उमेर छुनै लागेको एउटा बयोवृद्धको दैनिकी कस्तो होला? अइया–आत्थु गर्दै ओछयानमा ढल्किरहने, सास बढ्ने, खानपिनमा नाकनिक गर्ने अथवा यस्तै–यस्तै। प्रेसर, सुगर, ग्यास्टिक अथवा ऐजन–ऐजन रोगब्याधको सूची पनि लामै हुन सक्छ।तर यो बुढयौलीमा मामलामा केही अपवाद पनि छन्, आँखै सामुन्ने। काठमाडौं उपत्यकामा खाइलाग्दो चालमा बढी बाँचेका पात्रहरूको नाम लिनुपर्‍यो भने कवि माधवप्रसाद घिमिरे (९६) अथवा संस्कृतिविद् सत्यमोहन जोशी (९५) को नाम जोडतोडले लिने गरिन्छ। 


अहिलेको सन्दर्भ भने माड्सापको हो। माड्साप अर्थात् मदनमणि दीक्षित। आउने महिना ९५ टेक्दै गरेका दीक्षित आफैंलाई पनि थाहा छैन— यत्तिका वर्ष कसरी बाँचिएको हो? ‘यो लामो आयुको मसँग कुनै रहस्य छैन। साँच्चै, मलाई पनि थाहा छैन— म कसरी यति धेरै बाँचे? सायद मेरा समवयी सत्यमोहन जोशी अथवा माधवप्रसाद घिमिरेलाई थाहा छ कि?’ उनको सजिलो जवाफ छ, ‘तर, मलाई १०० नाघ्छु भन्ने छ। यो आफैंमा गाह्रो कुरा हो, उत्तिकै मुस्किलको विश्वास पनि हो।’

धेरैअघि वीरगन्जको त्रिजुद्ध हाइस्कुलमा अढाई वर्ष हेडमास्टर बनेको इतिहासमा जोडिएर मात्रै होइन, माडले बेरिएका धोती–कुर्था लगाएर हिंड्ने आदतमा मदनमणिको प्लस चिनारी बनेको हो— ‘माड्साप’। उहिलेदेखि अहिलेसम्मै बिहान सखारै ५ बजे उठिसक्नु, मर्निङ–वाकमा निस्कनु अथवा लेखपढमा बसिहाल्नुजस्ता आनीबानीमा त्यति धेरै फेर परिहालेको छैन। थोरतिनो हेरफेर भने बरु आएको होला। जस्तो, अहिले बिहान उठ्नासाथै ओछ्यानमै बसेर विभिन्न आसनमा शरीरको अभ्यास हुने गरेको छ। आफैं घुँडा धसेर बस्ने र लेखनमा लाग्नेभन्दा पनि दिनहुँ एक सहयोगी लेखन्दास बोलाएर कम्तीमा २/३ घण्टा अनेक विषयगत वा बुँदागत खुराक लेख्ने दैनिकी चलेकै छ। बरु, खानपिनमा चुरोट–रक्सी पूरै बारिएको अवस्था छ। तर, मासको बारा र दूधचिया भने यथावत् छ— उमेरमा जस्तै।

मदनमणि माड्सापलाई लाग्छ— उनीसँग जीवनमा सबैभन्दा उर्वर अथवा एकदमै निष्क्रिय भन्ने समयखण्ड छैन। तर, देखेका अथवा बिझेका कुराहरू भनिहाल्ने हतारोको स्वभाव भने सधैंभर उस्तै छ। जस्तो, अहिले भर्खरै एक राणासाहेबले लेखेको राणाकालीन वृत्तान्तमा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘ध्रुत, कूटनीतिक र फटाहा’ भन्दै गरिएको निन्दामा माड्साप असहमत बनेका छन्। यही कारण केही महिना चन्द्र–इतिहासमा खर्चेर ९० पेजको पुस्तक तयार पारेका छन् जसमा छ— प्रधानमन्त्री चन्द्रशमशेरले गरेका २९ मुख्य कामको इतिवृत्तान्त। सतीप्रथाको उन्मूलनदेखि टोखा क्षयरोग अस्पताल, सिंहदरबार वैद्यखानादेखि अमलेखगन्ज–भीमफेदी सडकसम्मका आँखैसामु देखेका अथवा सुनेका चन्द्र–कर्मको प्रमाण उनले पुस्तकमा जुटाएका छन्। यसअघि ‘विचार मन्थन’ कृतिमा पनि चन्द्रशमशेरका बारेमा थोरबहुत लेखिएको थियो। तर फेरि गरेको र भएकै कामकुरामा पनि निन्दा सुरु भएपछि माड्साप थामिन सकेनन्। ‘प्रधानमन्त्री चन्द्रशमशेर यस्ता पात्र हुन् जसले एउटा राष्ट्र निर्माताले गर्ने बराबर काम गरेका छन्,’ मदनमणि भन्छन्।

शब्द–काउन्टडाउन
आजभन्दा २० वर्षअघि भेटे पनि अथवा भोलि गएर भेटे पनि माड्सापसँग थेगोझैं लाग्ने एउटा बानी छ— आफूले लेखेका कृति र कृतिभित्रका शब्दहरूको काउन्टडाउन थालिहाल्ने। ‘मेरो ५ वर्षको उमेरमा अक्षराम्भ भयो। अहिलेसम्म खालि लेख्ने काम मात्रै भएको छ— साहित्य होस् अथवा पत्रकारिता’, उनी भन्छन्, ‘अहिलेसम्म (प्रकाशोन्मुख चन्द्रशमशेर कृतिसहित) ४४ वटा पुस्तक आएका रहेछन्। मेरो हिसाबमा मैले १ करोड ५० लाखजति शब्द लेखिसकेको हुनुपर्छ।’

४० वर्षअघि लेखिएको एकालाप शैलीको उपन्यास ‘मेरी नीलिमा’ को प्लटमा काम गरिरहेका बेला माड्साप साहित्यिकभन्दा बढी पत्रकार थिए। तर, राज्यसत्ताको निगाह र दृष्टिमा चल्ने पत्रकारिताको भर थिएन। २०१६ सालदेखि निस्कन थालेको समीक्षा साप्ताहिक पूर्णिमाको एउटा बिहानीमा निस्कन्थ्यो, फेरि औंसीको दोस्रो सातामा बन्द भइहाल्थ्यो। ठूलो कारण चाहिन्नथ्यो, एउटा चिर्कटोमा लेखिएका केही शब्दहरू काफी थिए। लेखिएको हुन्थ्यो— आजका मितिदेखि ‘समीक्षा’ र समीक्षा छाप्ने प्रेस बन्द गरिएको छ।

यसैगरी, २०३८ सालसम्म ९ पटक प्रतिबन्धमा पर्दै र निस्कँदै गरेको हैरान हविगतपछि थकित–क्लान्त भएरै माड्सापको साहित्यिक–आवरण बाहिर आएको थियो—‘माधवी’ उपन्यास मार्फत। झन् २०३९ सालमैं ‘माधवी’ ले मदन पुरस्कार पाएपछि मदनमणिको नामकाम अर्कै बन्यो— पूर्वीय सभ्यता, दिग्दर्शन, पौराणिक आधार र प्राचीन समाजको औपन्यासिक पुनर्निर्माणमा लागिपरेका साधकका रूपमा। ‘तर म आफैंलाई के लाग्छ भने ‘माधवी’ साहित्यिक नियमानुसार निकै माथि छ, ‘मेरी नीलिमा’ भने गद्य लेखन पद्धतिअनुसार माथिल्लो छ,’ लेखक मदनमणिको स्वमूल्यांकन छ।

मान–सम्मान, पुरस्कार वा सम्मानमा जोडिएर आउने नातावाद–कृपावादबारेमा पनि मदनमणि माड्साप निकै सचेत छन्। जस्तो, उनको ‘माधवी’ ले मदन पुरस्कार पाएपछि बजारमा रूखो–चर्चा पनि चलेको थियो। ‘मदनमणिका जेठा बा राममणि दीक्षितका नाति हुन् कमल दीक्षित जो मदन पुरस्कारका हर्ताकर्तासमेत हुन्। यही कारण नातामा एउटा भाइ पर्नेले अर्को दाजुलाई पुरस्कार दियो त, कुन ठूलो काम गर्‍यो?’

मदनमणि दीक्षितको उपन्यास ‘माधवी’ लाई लिएर भन्ने गरिन्थ्यो— यसलाई सबैभन्दा सुरुमा नेपालीमा अनुवाद गर्नु जरुरी छ। नभन्दै छापिएको र पुरस्कृत भएको ३३ वर्षपछि उपन्यासभित्रका १५ सय संस्कृत शब्दको नेपाली अर्थसहित नयाँ संस्करण आउने भएको छ।

तर, यति भनेर धेरै छिद्रान्वेशी हुनुको अर्थ छैन। वैदिक वाङमयको नमुना कृति मानिएको ‘माधवी’ ले मदनअगाडि साझा पुरस्कार पाउने निर्णय आइसकेको थियो, तर मदनमणिले अस्वीकार गरेका थिए। यसको पनि कारण छ। मदनमणि आफैंले ‘नेपाली’ पत्रिकाको १८५ अंक (२०६२) मा लेखेका छन्— ‘साझा प्रकाशनले जनकलाल शर्माको ‘हाम्रो समाज : एक चिन्तन’ नामक समाजशास्त्रीय पुस्तक र मेरो ‘माधवी’ उपन्यासलाई २०३९ को साझा पुरस्कार संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको पत्र मलाई पठायो। शर्माजीको उक्त पुस्तक किनेर ल्याई मैले पढें। आफ्नोबारे शास्त्रीय चिन्तन भन्ने पुस्तकमा ११ वटा अमान्य भूलहरू रहेको देखेर मैले आधारभूत असन्तुलन रहेको हुँदा भनी आफ्नातर्फबाट त्यो पुरस्कारलाई नलिने निर्णय गरेर साझालाई पत्र पठाएँ।’

‘माधवी’ कै बारेमा चर्चा चल्दा यो प्रकाशनमा आएको ३३ वर्ष लागिसक्दा पनि कतिपय पाठकबाट पाउने गरेको ‘तीतो सत्य’ झैं प्रतिक्रियाले माड्सापलाई अहिले आएर निकै झस्काएको रहेछ। कतिपय प्रतिक्रियावादी पाठकको भन्नु छ, ‘कृति ‘माधवी’ आफैंमा विशिष्ट छ। तर, यसलाई सबैभन्दा सुरुमा नेपालीमा अनुवाद गर्नु जरुरी छ।’ हो, यसमा पनि आफ्नै कारण छ रहेछ। खासमा माधवी लेख्न थाल्दा ३५ सालतिर मदनमणिसँग अन्तरंग रहेका साहित्यप्रेमी रामजीप्रसाद उपाध्यायले सुझाएका रहेछन्, ‘यो कृति (माधवी) को भाषा त वैदिक समाजको ‘ऋग्वेदीय’ हुनुपर्छ।’ त्यो सुझाव ठीकै पनि थियो। कौटिल्यको अर्थशास्त्रमा पनि ‘प्राविधिक संस्कृतनिष्ठ’ शब्द प्रयोग भएकै छ। यही कारण ‘माधवी’ बढी संस्कृतनिष्ठ भएको रहेछ, समयको मागजस्तै।

बनारसमा पढे–लेखेका माड्सापको वैदिक साहित्य र संस्कृतमा अलिक बढी झुकाव थियो नै। त्योभन्दा बढी हिन्दी भाषा–साहित्यमा पनि बेजोडको लगाव रहेछ। एक पटक (लेखक उत्रनुअघि) एउटा विषयमा निबन्ध लेख्ने प्रयास गर्दै मदनमणिले उनका ठूलो कान्छा काका नरेन्द्रमणि आचार्य दीक्षितलाई देखाएका रहेछन्। त्यो लेखाइ हेर्नासाथै काकाको प्रतिक्रिया आएको रहेछ—‘तैंले यो निबन्ध हिन्दीमा लेखेको होस् कि नेपालीमा, मैले छट्टयाउन सकिनँ। हामीले नेपाली–हिन्दीबीचको फोनेटिक्समा ख्याल गर्नुपर्छ। हिन्दी प्रभाव मात्रै आफूमा राख्यो भने कहीं पुग्न सकिन्न। यसकारण शुद्ध नेपालीमा लेख्ने गर्नू।’

त्यहाँबाट मदनमणिले हिन्दी प्रभाव त छाडे तर, अरू विद्वत् सुझावकर्ताहरूको लहैमा लागेर संस्कृतनिष्ठ हुन भने छाडेनन्। यसकारण संस्कृतको रसमा नडुबेका साधारण पाठकले मदनमणि रचना पढ्नासाथै भन्ने गरेका हुन्— हत्तेरी, यसलाई त सुरुमा नेपालीमा अनुवाद चाहिने रहेछ।


३३ वर्षदेखि रहीआएको ‘माधवी’ को यो पिरलो पनि अब साझा प्रकाशनबाट आउने छैटौं संस्करणबाट नरहने भएको छ। मदनमणिका अनुसार अब आउने ‘माधवी’ संस्करणमा संस्कृतनिष्ठ शब्दको नेपाली अनुवाद (परिसूची) राख्न झन्डै १५ सय शब्दको नेपाली अनुवाद तयार भइसकेको छ। यसकारण यत्तिका वर्षपछि ‘माधवी’ मा रहेको भाषिक क्लिष्टता र संस्कृतनिष्ठ टीकाटिप्पणी पनि हट्ने भएको छ।

अरूभन्दा भिन्न ‘प्रतिक्रियावादी’
झन्डै ३५ वर्षसम्म नेपालमा कम्युनिस्ट पार्टीको पिछलग्गु भएर हिंडेका मदनमणिले धेरै ढिलो गरी थाहा पाए— कम्युनिस्ट भनेका सधैंभर ढाँटका पुस्तक मात्रै हुन्।त्यसमा पनि गतिलो उदाहरण उनलाई मिलेको थियो, सन् १९८१ मा गरिएको रुस यात्रापछि। मदनमणिभन्दा अघि अर्का कम्युनिस्ट नेता केशरजंग रायमाझी पनि रुस पुगेका रहेछन्। रायमाझीले भने नेपाल फिरेर आफू मस्कोमा ‘दाचा’ (समर हाउस) मा बसेको र त्यहाँ क्युबाली नेता फिडेल कास्ट्रोसँग भेट गरेको जनाएका रहेछन्। संयोगले रायमाझी र दीक्षितलाई रुसी सरकारले उपलब्ध गराएको ‘इन्टप्रेटर’ एउटै परेकाले त्यो रहस्य खुलिहाल्यो। खासमा रायमाझी ‘दाचा’ मा बसेकै रहेनछन् र, उनले क्यास्ट्रोलाई भेटेकै होइन रहेछ।


‘कुनै व्यक्ति, कृति वा समाजका बारे अरूले बनाउने धारणामा म हत्तपत्त सहमत भैहाल्दिनँ,’ मदनमणिले सुनाए, ‘त्यसमा मेरो आफ्नै दृष्टिकोण रहन्छ। चाहे कसैको चित्त खाओस् अथवा नखाओस्।’

माड्सापसँग कुराकानी चलिरहेका बेला एउटा सन्दर्भ आयो— उनका बारेमा साहित्यिक अन्वेषक कमल दीक्षित (कदी) ले गरेको टिप्पणीमाथिको पुनव्र्याख्यान। तीन साताअघि मात्रै नश्वर चोला त्यागेका कमलमणिले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘साहित्यिक’ र ‘विद्वान्’ दुई व्यक्तित्व एकै ठाउँमा मुस्किलले मात्रै पाउन सकिन्छ। यो मेरो व्यक्तिगत छनोट हो— नेपालमा मदनमणि दीक्षित र भारतीय नेपालीमा इन्द्रबहादुर राईलाई मैले एकैसाथ साहित्यिक विद्वान्का रूपमा पाएको छु।’

‘हेर्नोस्, कमलमणिले इन्द्रबहादुरलाई किन सराहना गरे, मलाई थाहा छैन। म भने इन्द्रबहादुरलाई पटक्कै मान्दिनँ। उनले कविहरू बैरागी काइँला, ईश्वरबल्लभसँग मिलेर तेस्रो आयाम ल्याए, त्यो पनि चलेन। फेरि अर्को प्रयोग ल्याए— लीलालेखन। त्यो पनि चलेन। साहित्यमा यस्तो काम एउटा व्यक्तिको प्रभाव र प्रयोग हुन सक्छ तर यसलाई साहित्यको उपलब्धि भन्न सकिन्न,’ माड्सापले सुनाए।आफ्ना नातेदार र निकै नाम कमाएका अन्वेषक कमल दीक्षितका बारे पनि मदनमणि माड्सापको ‘रिजर्भेसन’ रहेछ। ‘कमलमणि सामान्य रूपबाट निकै सक्रिय र उत्तम कोटिका मान्छे हुन्। तर यो हुँदाहुँदै पनि, उनको यो कृतिले साहित्यलाई दिग्दर्शन गरायो भन्ने एउटै छैन। न गद्य छ, न पद्य छ,’ माड्सापको आफ्नै दृष्टि रहेछ, ‘उनले डायरी लेखनमा प्रसिद्धि पाएका हुन्। तर, कृतिगत विशिष्टता मैले भेटेको छैन।’

उनले भाइ कमलमणिका बारेमा लामो समयदेखि रहीआएको एउटा गुनासो पनि स्मरण गराए। ‘आजभन्दा १७ वर्षअगाडि कमलबाबु एउटा मध्याह्नमा मेरो कालिकास्थानस्थित घरमा आए र भने— मदन बा, यसपालिचाहिं जगदम्बा पुरस्कार तपाईंलाई दिने भनेर बलियो आधार जुटेको थियो। तर मैले यसपालि होइन, अर्कोपालि गरौंला भनेर रोकेको छु,’ आफ्ना गुनासा र मनका गुम्फन खोल्दै मदनमणिले भने, ‘तर त्यो अर्कोपालि कहिल्यै आएन।’मदनमणिले लेखाइमा ‘रसात्मकता’ र ‘वैचारिक उचाइ’ भएका कृतिमा बालकृष्ण समको ‘प्रेमपिण्ड’ र ‘चिसो चुल्हो’ लाई राजेका छन्। नारी साहित्यमा कुनै बेला वानीरा गिरीले त्यस्तै उचाइ समाउलिन् कि भन्ने उनलाई लागेको रहेछ। ‘तर, खोइ किन हो, वानीरा माथि आउनै सकिनन्,’ उनले मूल्यांकन सुनाए।वानीराबारेको टिप्पणी सोध्नेबित्तिकै मैले सोधें— सबैले नाम लिने पारिजात नि?

‘हेर्नुस्, मैले उनका कविता पढेको छैन। उपन्यास ‘शिरीषको फूल’ मा भने मेरो रिजर्भेसन छ। यसका पछाडि पनि एउटा घटना छ,’ उनले सुनाए, ‘एक पटक धनुषचन्द्र, शंकर लामिछानेसहितको टिममा हामी छ जना पशुपति, वनकालीमा पिकनिक गएका थियौं। त्यहाँ शंकरले पारिजातको उपन्यासमा लेखेको आफ्नो भूमिका सुनाएका थिए, कण्ठस्थै रहेछ। मलाई अचम्मै लाग्यो। म साह्रै प्रभावित पनि भएँ। लगत्तै फर्केर आउँदा मैले डिल्लीबजारमा ‘शिरीषको फूल’ किनें र, रातभरमा पढिसिध्याएँ। कृतिबारेमा मसँग रहेको प्रभाव र पढेपछि पाएको परिणामले म निराश बनें।’ मदनमणिका अनुसार, ‘शिरीषको फूल’ मा चर्को सैद्धान्तिक कमजोरी छ। मानिस जीवन रहिन्जेल बाँच्छ, काम गर्छ, अनि मर्छ। यो सबै उसको इच्छामा निर्भर हुँदैन। तर ‘शिरीषको फूल’ मा त्यो सिद्धान्त छैन, क्रमभंगले मात्रै जीवन चल्दैन।

अर्कातिर, शिरीषको फूललाई साह्रै सम्मान गर्ने व्यक्ति रहेछन् मदनमणि। ‘हामी त्यस बेला हाडीगाउँ बस्थ्यौं। हाडीगाउँबाट हात्तीसार–तीनधारा–कमलादी हुँदै आइजाइ गर्दा सडक पेटिभरि शिरीषको फूल टम्मै हुन्थ्यो। मलाई भुइँमा झरेका फूल मायाले कुल्चन पनि मन लाग्दैनथ्यो। पछि पारिजातको उपन्यास पढेपछि मेरो ‘सेन्सिटिभ फिलिङ’ लाई, मेरो सम्मान र आस्थालाई कुल्चेको जस्तो पाएँ। तैपनि उपन्यास भने राम्रो हो।’


मदनमणिले आफूलाई मन परेको कृतिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ का बारे पनि लामै चर्चा सुनाए। आफ्ना भिनाजु मित्रनाथ देवकोटा (महाकविका दाजु) मार्फत महाकिवलाई भेट्न मैतीदवी जाने गरेको र त्यहाँ दाजुभाइ बसेर अक्सर पासाखेलिरहेको दृश्यले आफूलाई अचम्मित बनाउने गरेको उनले स्मरण गरे।

आफ्नो समयका कवि/लेखकका बारेमा कुरा जोडिँदा कवि मोहन कोइरालाका बारे पनि चर्चा चल्यो। यी हरेक अग्रजका नामसँग ‘हेर्नुस्, यसमा एउटा घटना जोडिएको छ’ भन्दै वृत्तान्त सुन्न पाइन्थ्यो। ‘एक पटक एउटा घटना भयो। प्रज्ञा प्रतिष्ठानमा एउटा गोष्ठी आयोजना भएको थियो। त्यहाँ कवि मोहन कोइरालाले एउटा कविता सुनाए, पहाड (पर्वत) की एउटी केटीको। त्यो केटी चितवन हुँदै बनारस जान लागेकी पृष्ठभूमि सुनाएर उनले त्यसमा मेलवादेवीको गीती लाइन (सवारी मेरो रेलैमा) पनि संकेत बनाएर जोडेका थिए ’माड्साप बेलाबेला रोकिंदै सम्झना उधिनिरहेका थिए, ‘त्यस बेला न रक्सौल–सुगौली रेल चल्न थालेको थियो। न पर्वतकी त्यो केटीले त्यत्रो संवेदनाका साथ मेलवादेवीको बिम्बलाई पक्रन सक्ने हुन्।’ मदनमणिलाई अरूले चर्चा गर्ने गरेझैं, बीपी कोइरालाका सबै कृति पनि उति मन पर्दैन। ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’ अनि ‘बाबु–आमा र छोरा’ उपन्यास भने उनले ५ पटकसम्म दोहोर्‍याउँदै पढेका रहेछन्। ‘मलाई के लाग्छ भने बीपीमा हिन्दीको प्रभाव एकदमै बढी छ। त्यो स्वाभाविक थियो, किनभने उनको म्याट्रिकुलेसन पनि उतै भएको थियो,’ उनको मूल्यांकन छ।

आफ्ना कृतिबारेमा हुने गरेका समीक्षा/समालोचनामा पनि मदनमणि उति उत्साहित अथवा निरुत्साहित भइहाल्दैनन्। धेरै समीक्षकहरू ‘मदनमणिको बुझिँदैन’ भनेर उम्कनेहरू पनि भेटिन्छन्। ‘उपन्यास माधवी निस्किएपछि त्यसमा चर्चा गराउन मैले धेरैतिर किताब पठाएको थिएँ। धरानमा रहेका छविलाल पोखरेल भन्ने विद्वान्ले ‘माधवी’ बारे गोरखापत्रमा टिप्पणी लेख्दै समाजको यौन नैतिकतामा मदनमणिले भाँडभैलो मच्चाएको आरोपसमेत लगाए। उनले उपन्यासमा हाडनाता करणी (यम–यमी संवाद) लाई मात्रै उचालिएको भनेर अनर्थकारी कुरा गरेका थिए,’ उनी सम्झन्छन्, ‘पुस्तक पढ्नु छैन, थाहा पाउनु छैन। मलाई त्यस बेला रिस पनि उठ्यो, चित्त पनि दु:ख्यो। मैले विख्यात संस्कृत विद्वान् शंकराचार्यको वेद संवादअनुसार लेखेको थिएँ भनेर गोरखापत्र मार्फतै जवाफ फर्काएँ। त्यो कुरा पछि सेलाएर गयो।’बुढ्यौलीमा आउने आँखाको समस्यासँगै मदनमणि हिजोआज बाहिरी पुस्तक त्यति पढ्दैनन्, केही दैनिक पत्रिकाबाहेक। ‘पछिल्लो वर्ष विराटनगरकी कवयित्री सविता गौतम दाहालको ‘अन्तिम आकाश’ कवितासंग्रह पढेको थिएँ, निकै प्रभावित भएँ,’ उनी सम्झन्छन्, ‘मैले मेरो जीवनकालकै चित्तबुझ्दो भूमिका त्यही संग्रहमा लेखेको छु, हेर्नुहोला।’

मृत्यु : न भय न चिन्तन
मदनमणिका भोगाइमा उनको जीवन समग्रमा ‘बढो आनन्दमय र सुखमय’ रह्यो। कम्युनिस्ट पार्टीलाई इमानदार र भरपर्दो मानेरै धेरै वर्ष झुक्किनुपरेकोमा उनलाई सधैंको पछुतो छ। ‘मृत्य भनेपछि चेतनाको समग्र समाप्ति हो। यही कारण, मरेपछि के होला भनेर म कहिल्यै सोचमग्न बनिनँ,’ लामो कुराकानीमा रोकिंदै बोलिरहेका माड्सापको एउटै चिन्ता बँचेको रहेछ, ‘बरु पोहोरसम्म बिजुलीको बिल महिनाको ८ सय रुपैयाँ आउँथ्यो, अहिले १८ सय रुपैयाँ आउन थालेको छ। यसमा चिन्ता छ। किनभने पुस्तकहरूको रोयल्टी बन्दप्राय: छ अहिले। माधवीको छैटौं संस्करण निस्किएपछि ५० हजार रुपैयाँ दिन्छु भनेका छन्, साझाका महाप्रबन्धक डोलेन्द्रले। कहिले हो कहिले...’

यसरी माड्सापको यथास्थितिवादी दैनिकी चलिरहेको छ, कालिकास्थान निवासमा। उनको घर–कोठामा छिर्नेबित्तिकै पूरै दाह्रीजुँगाले छोपिएको र हातमा सल्किरहेको चुरोटको ‘अर्थपूर्ण’ तस्बिर टाँगिएको छ। ‘म आफैंले २०१८ साल फागुन ७ गते ‘अटो’ मोडमा खिचेको तस्बिर हो यो। जर्मन कम्पनीको ‘जाइस–आनकन’ क्यामेरा थियो त्यस बेला,’ माड्सापले सम्झाए, ‘समीक्षा पत्रिकाकै कारण ७ महिना जेलमा थुनिएर निस्केको बिहानीमा त्यो फोटो खिचेको थिएँ। तपाईं पत्रकारहरू लेखिरहन्छु नि, तस्बिर आफैं बोल्छ भनेर। मेरो जीवन, समय र उतारचढाव सम्झन–सम्झाउन पनि यो तस्बिर मैले कोठामा, आफूले देख्ने गरी झुन्डयाएको हुँ।’

साहित्यकार मदनमणि दीक्षितको बिहीबार बिहान ९६ वर्षको उमेरमा निधन भएको छ। दीक्षितसँग करिव साढे २ वर्षअघि कुराकानी गरेर तयार पारिएको आलेखलाई पुनः प्रकाशित गरिएको छ। - प्रधान सम्पादक


प्रकाशित : श्रावण ३०, २०७६ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्