कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवालयमा बोलबमको भीड

कान्तिपुर संवाददाता

काठमाडौँ — साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ ।

साउनको सोमबार विशेषगरी महिला भक्तजनको भीड बढी देखिन्छ । हरियो र रातो पहिरजनमा सजिएका महिलाको भीडले पशुपतिमा तीजको झल्को दिन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन् । पैदल यात्रा गर्ने भक्तजनले ठूलो स्वरमा बोलबम भन्दै नारा लगाएका थिए ।

साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ । भोलेनाथ काँवरिया सङ्घको आयोजनामा भएको आजको बोलबममा हजारौँ भक्तजन सहभागी भएका थिए । बोलबम मेला भर्न आइतबार साँझ नै भक्तजन सुन्दरीजल पुगेका थिए । आइतबार साँझ सुन्दरीजल पुगेका भक्तजन रातभर भक्ति सङ्गीत एवं भजनकीर्तन गरी बसेका थिए । राति १२ बजेपछि स्नान एवं जल सङ्कल्प गरी खाली गोडा करीब ११ किमी पैदल यात्रा गरेर पशुपतिनाथ मन्दिरसम्म आएका थिए । 

यसैगरी उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, सन्तानेश्वर, डोलेश्वरलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड थियो ।साउन महीनाभर सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाउने भक्तजनको भीड लाग्छ । सोमबार र शनिबार बढी भीड हुने गरेको छ । पहिले तराईवासी मात्र सहभागी हुने गरेको बोलबम यात्रामा हाल पहाड एवं हिमालवासीको सहभागिता बढ्न थालेको छ । 

प्रकाशित : श्रावण २७, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्