फेरिँदै मेहन्दी परम्परा [तस्बिरहरु]

प्रशान्त माली

काठमाडौँ — नेवार समुदायमा परम्परादेखि मेहन्दी लगाउने चलनबारे अधिकांशलाई थाहा नहुन सक्छ । नेपाल भाषामा ‘लैचा’ भन्ने वनस्पतिबाट मेहन्दी बनाइन्छ । जसलाई सिलौटामा पिसिन्छ । त्यस लेदोमा अमिलो घाँस मिसाएपछि बन्ने मेहन्दी  हातमा विभिन्न आकृति बनाइन्छ । प्राय:ले चन्द्र, सूर्य र चराको चित्र बनाइन्थ्यो ।

पहेँलो बनाउन मेहन्दी सुकिसकेपछि तमाखु पानीले पखाल्ने गरिन्थ्यो। काठमाडौं महानगरपालिका-१८ यंगालकी ७८ वर्षीया लक्ष्मीदेवी मालाकार सम्झन्छिन्, ‘घण्टाकर्ण चतुर्दशीमा अनिवार्य रुपमा लगाउने चलन थियो। हामी सानो छँदा हजुरआमाले लगाइदिनुहुन्थ्यो, आफैं पनि लगाउनुहुन्थ्यो।’

पहिला लैचा करेसाबारीमा थुप्रो हुन्थ्यो। बारीमा घरघरै बनेपछि गमलामा रोप्ने चलन आयो। र, बजारमा छुट्टै प्रकारको प्याकिङ मेहन्दी आएपछि लैचा लगाउने चलन हरायो। ‘अहिले कसै कसैको घरमा रोपेको छ। तर, लगाउन छाडिसकेको छ,’ उनले भनिन्। थापाथलीकी ४६ वर्षीया नन्द महर्जनको अनुभव पनि उस्तै छ। ‘लैचाको पात बूढी औंलाले टुक्रा-टुक्रा बनाएपछि रस हातभरि फैलिन्छ,’ उनी सुनाउँछिन्, ‘अनि सुकेपछि रातो, पहेँलो देखिन्थ्यो।’

बजारमा मेहन्दी लगाउने चलन परिर्वतन भएको एक दशक भयो। अहिले साउन महिना लागेदेखि नै हातभरी मेहन्दी लगाएर सजाउँछन्। मेहन्दी लगाउनका लागि विभिन्न तालिम केन्द्र खुलेका छन्। थरिथरिका डिजाइनमा मेहन्दी लगाउन सकिन्छ। हातमात्र नभई खुटासमेत लगाउने चलन आएको छ। बुटा हेरी सस्तोमा २५ रुपैयाँबाट लगाउन सकिन्छ। फुटपाटदेखि मेहन्दी सेन्टर जहींतहीं ग्राहक खचाखच छ।

भोटाहिटीस्थित नेपाल ऊल हाउसले भने मेहन्दी लगाउने नेवारी परम्परा जोगाउन प्रत्येक वर्ष साउनभरि निःशुल्क लगाउँदै आएका छन्। भोटाहिटीकी हिराकेशरी तुलाधर भन्छिन्, ‘मेहन्दीले हातलाई शोभायमान बनाइदिन्छ। उत्सवअनुसार फरक फरक किसिमले हातमा लगाइन्छ। अहिले नेपालमा मेहन्दी लगाउने व्यवसायी हुन थालेको छ।’ उनले केमीकलरहित मेहन्दीको प्रयोग गर्नुपर्ने बताइन्।

नेवार समुदायमा साउने संक्रन्तिमा लुतो फालेर लैचा लगाउने चलन थियो। त्यसको स्थान अहिले मेहन्दीले लिएको उनको अनुभव छ। लैचा साधारण हुने, सजिलै नपाउने र लगाउन पनि झन्झट भएकाले मेहन्दीतिर सबैको रुचि बढेको छ। आफूले सोचेजस्तो बुट्टा बनाउन सकिने भएकोले मेहन्दी सबैको रोजाइमा परेको उनको ठम्याइ छ। हिन्दू महिलाहरुको महान् पर्व तीजमा मेहन्दीको छुट्टै महत्व हुन्छ। अहिले महिलाहरुमा मेहन्दीको कलात्मक डिजाइन लगाउने क्रेज बढ्दै गइरहेको छ।





प्रकाशित : श्रावण २१, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको कर विवादमा निर्णय सुनाउने मिति सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले एनसेलको कर विवादमा निर्णय सुनाउने मिति सारेको छ । मंगलबार निर्णय सुनाउने मिति तोकिएकोमा सर्वोच्चले आगामी साउन ३० गते निर्णय सुनाउने मिति तय गरेको हो ।

सर्वोच्चले यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा अपनाइएको शैलीको अनुशरण गर्दै मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो। पूर्ण इजलासको फैसला अन्तिम भई पुनरावलोकनमा जाने अवस्था हुदैन। यसअघि पनि एनसेलको मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिइएको थियो।

आफूमाथि १० प्रतिशत पूँजीगत लाभकरबापत १४ अर्ब ३६ करोड रुपैयाँ कर निर्धारण हुनुपर्नेमा ३९ अर्ब ६ करोड रुपैयाँ निर्धारण गर्नु गलत हुने एनसेलको दाबी थियो।

मुद्दा किनारा लगाउने बेलामा व्यक्त हुनुपर्ने रायलाई समेत सुरुमै प्रस्तुत गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आदेशमा भनेको थियो, ‘यसअघि नै एनसेलले २३ अर्ब ५६ करोड रुपैयाँ दाखिला गरिसकेकाले त्यो घटाएर माग गर्ने भनिएको देखिए तापनि निर्णय हुनुपूर्व नै बुझाइसकेको अग्रिम करको सो अंकलाई एकमुष्ठ लाग्ने करमा गणना गरी थप शुल्क लिने गरी भएको निर्णय मनासिव देखिएन।’

प्रकाशित : श्रावण २१, २०७६ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्