हेर्नुहोस् पूर्व राजाहरुले दरबारमा राखेका आखेटोपहारको लथालिंग अवस्था [फोटोफिचर]

साउन भित्र व्यवस्थापन गरिसकिने
तस्बिरः कञ्चन अधिकारी, दिनेश रेग्मी

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालयमा लथालिंग अवस्थामा रहेका वन्यजन्तुका हाडखोर, छाला, दाह्रालगायत आखेटोपहारको व्यवस्थापन गर्न थालिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको निर्देशनअनुसार समिति बनाएर व्यवस्थापनगर्न थालिएको हो ।


प्रकाशित : श्रावण १७, २०७६ १२:२९

११ मन्त्रालय तथा निकाय सम्मिलित समितिले वन्यजन्तुका हरेक सद्दे आखेटोपहारको नाप, तौल, बारकोडसहित चिप्स राखेर व्यवस्थापन गरेको छ । माइक्रोचिप्सलाई नदेखिने गरी आखेटोपहारमा राखिएको छ । नारायणहिटीको फरासखाना (भोजका लागि प्रयोग हुने सामान राख्ने ठाउँ) मा रहेका आखेटोपहारको व्यवस्थापन आइतबारदेखि सुरु गरिएको समितिले जनाएको छ ।

‘संग्रहका लागि राख्न मिल्ने र नमिल्ने आखेटोपहार छुट्याउन खटिएका छौं,’ समिति संयोजक तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले भने, ‘हामीले छुट्याएपछि प्रतिवेदन बनाएर समिति (प्रत्यायोजित व्यवस्थापन) लाई दिन्छौं र समितिले जे निर्देशन दिन्छ,त्यहीअनुसार काम गर्ने छौं ।’

समितिले हाल बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुका हड्डीजन्य पदार्थ छुट्याउने काम गरेको छ । वन्यजन्तुका छाला भने कतिपय कुहिएका, ढुसी लागेका र पानीले भिजेका छन् । हाल तिनलाई घाममा सुकाएर राखिएको छ ।

आखेटोपहार व्यवस्थापनका लागि ११ मन्त्रालय र निकाय पदाधिकारी, सेना, प्रहरीसहित दैनिक ३५ जना खटिएको जानकारी भट्टराईले दिए । प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीले नारायणहिटीमा पुराना अभिलेख अध्ययन गर्न जाने क्रममा आखेटोपहारको दुर्गति देखेपछि व्यवस्थापन गर्ननिर्देशन दिइएको बताए ।‘निर्देशनअनुसार काम भएको छ भन्ने जानकारी आएपछि बिहीबार अनुगमन गर्न आएका हौं,’ बिडारीले भने, ‘हामीले हनुमानढोका र ग्यालरी बैठक (सिंहदरबार) का आखेटोपहार पनि संरक्षण गर्न भनेका छौं ।’

नारायणहिटी दरबार संग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठले आखेटोपहारको संरक्षण गरेपछि हानुमानढोका र ग्यालरी बैठकमा जाने तयारी गरिएको बताए । ‘छुट्याएर चिप्स लगाइएका आखेटोपहार अहिले दरबार संग्रहालयको स्टोरमा राखेका छौं,’ श्रेष्ठले भने, ‘यसपछि हनुमानढोका र ग्यालरी बैठकमा जान्छौं ।’ व्यवस्थापनमा जुटेको समितिले साउनभरिमा नारायणहिटीका आखेटोपहारलाई व्यवस्थित गर्ने जनाएको छ ।

प्रतिक्रिया
पठाउनुहोस्

दुवै अध्यक्षमा इच्छाशक्ति नहुँदा एकता प्रक्रिया प्रभावित : नेता नेपाल 

प्रमिता ढकाल

भरतपुर — पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले दुवै अध्यक्षले एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाएका छन् ।

शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाकाे एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको बताए। उनले भने, ‘जहाँ चाह त्यहाँ राह। इच्छाशक्ति नै छैन त कसरी हुन्छ?’एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए।

नेता नेपालले विधि–विधान अनुसार पार्टीलाई अगाडि बढाउन सके समस्याहरु स्वतः समाधान भएर एकता प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेका छन्। पार्टी भित्र हुने विवादहरुलाई सामान्यीकरण गर्न तत्पर रहनुपर्ने भन्दै नेता उनले एकता प्रक्रिया कुनै अनौठो कुरा नभएको र चाँडै टुंगो लगाउन सकिने बताए।

पत्रकारहरुसँगको कुराकानीमा सरकारप्रति केही नरम रुपमा प्रस्तुत भएका नेता नेपालले अहिले सरकारको काम कारवाहीलाई पार्टीभित्र पनि छलफल गर्नुपर्ने औ‌ंल्याएका छन्। छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ। ‘सरकारका काम कारवाहीमा ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने, भ्रष्टाचार गर्नेलाई कारवाही गरेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘दण्डहीनता कायम रहे यथास्थितिमा सुधार गर्न सकिदैँन।’

प्रकाशित : श्रावण १७, २०७६ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्