कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनका लागि काँकडभिट्टा नाका सिल, यात्रुलाई सास्ती (तस्बिरहरु)

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतमा जारी लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा यात्रु तथा पर्यटकलाई सीमा वारपार गर्न सास्ती भएको छ ।

बिहीबार पश्चिम बंगालको दार्जिलिड, जलपाइगुडी र रायगंज जिल्लामा निर्वाचन हुँदैछ । पहिलो चरणमा बंगालको आलिपुरद्वार र कोचबिहार जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनका कारण भारतीय सुरक्षा निकायले मंगलबार बेलुकाबाटै नाका बन्द गराएको थियो । जसका कारण सयौं यात्रु अलपत्र परेका थिए ।

तर, बुधबार दिउँसोदेखि नेपाल तथा भारतीय सुरक्षाकर्मीबीचको सहकार्यमा यात्रुलाई वारपार गराइएको थियो । भारततिर जाने यात्रुलाई भारतीय मतदाता परिचय पत्रका आधारमा प्रवेश गर्न सीमा सुरक्षा बल सहमत भएको थियो । भारतबाट आउने यात्रुको हकमा भने कुनै कागजात जरुरी नभएको सुरक्षा अधिकारीले जनाए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का महानिरीक्षक श्रीकुमार बन्दोपाध्यायले खुला सीमानाका कारण निर्वाचनमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि नाका बन्द गरिएको जनाए । निर्वाचनका दिन बिहानैदेखि यात्रुसहित सवारी आवागमनलाई पूर्ण रुपमा निषेध गरिने जनाइएको छ । निर्वाचन सम्पन्न भएपछि शुक्रबार बिहानदेखि नाका खुला गरिने छ ।

उनका अनुसार निर्वाचनका सुरक्षाका लागि निर्वाचन हुने तीन जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ । तीन जिल्लामा करिव विभिन्न ९ कम्पनी सुरक्षाकर्मी परिचालन गरिने छ । उनले नेपाल–भारत सीमा सुरक्षित रहेको तर भुटान र बंगलादेशसंगका सीमा क्षेत्रहरु असुरक्षित रहेकाले ती क्षेत्रहरुमा निगरानी बढाइएको जनाए ।

नाकाबन्दीका कारण मेची भन्सार र भद्रपुर छोरी भन्सार कार्यालयको आयात निर्यात पनि ठप्प छ । भारत तथा नेपाली बजारहरु पनि प्रायः सुनसान छन् ।


प्रकाशित : वैशाख ४, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्