चिनियाँ नाका खोल्न धमाधम काम [फोटोफिचर]

अनिश तिवारी

तातोपानी (सिन्धुपाल्चोक) — नेपाल-चीन जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ । चिनियाँ सरकारी कम्पनी ‘तान् सुन रोड एण्ड ब्रीज कम्पनी’ले काम थालेको हो । ठूला दुई अत्याधुनिक उपकरण, ५ वटा एक्जाभेटर, स्यु क्यान प्रविधियुक्त रड, जस्ता सामाग्री प्रयोग गरेर मितेरी पुलको जग निर्माण भइरहेको छ ।

‘आउँदो चार महिनासम्म सक्नेछौं, मितेरी पुलको काम सकिसकेपछि अन्य भौतिक संरचनाको काम थालिनेछ ,’ तान सुन एण्ड ब्रीज कम्पनीका ठेकेदार पुबीक्वीजीको भनाइ उद्धृत गर्दै कार्यरत एक चिनियाँ इन्जिनियरले भने । उनले चिनियाँ संस्कृति पात्रोअनुसार आउँदो ‘मे’ महिना कर्मचारी दिवस भएकाले त्यसदिन नाका खोल्ने केन्द्रीय सरकारको योजना रहेको जनाए । सुख्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगिसकेको छ ।

पुल निर्माणको अलावा चाइना रेलवे कन्ट्रक्सन ग्रुप (सिआरसीसी)ले सडक र सुख्खा बन्दरगाहको संरचना बनाउने कार्यलाई तीव्रता दिएको छ । पुल, सडक र बन्दरगाह निर्माण हुन थालेपछि नाका खुल्ने आसले सीमावासी खुसी छन् । ‘अब नाका खुल्छ रे त, यहाँ काम गर्न आउने चिनियाँ पनि त्यसै भन्छन्,’ राजधानीबाट हालै फर्केकी भोटेकोसी गाउँपालिका कोदारीकी साङडोमा शेर्पाले भनिन् । होटेल व्यवसाय गरेर परिवार धानिरहेकी शेर्पाले भूकम्प, भोटेकोसी बाढी र बर्खे पहिरोले लखेटेपछि राजधानी भागेको सुनाइन् । काम थालनी भए पनि नाका खुल्ने, नखुल्ने अन्योलता अझै छ ।

प्रकाशित : माघ १३, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

मध्यपुर थिमिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाइने

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले आफ्नो नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएरै छाडिने बताएका छन् । सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक गुणस्तरको खाडल बढ्दै जानु देशकै लागि चुनौती भएको बताउँदै उनले आफ्नो नगरपालिकाबाट खाडल कम गर्दै लैजाने दाबी गरे । 

भक्तपुरमा रहेको आदर्श जनप्रेमी इंग्लिस सेकेण्डरी स्कुलको ३०औँ स्थापना दिवसमा बोल्दै मेयर श्रेष्ठले यसका लागि संस्थागत विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा थिमी नगरपालिकाको सामुदायिक विद्यालयलाई नेपालकै नमूना विद्यालयको रुपमा विकास गराउने दाबी गरे । उनले भने, 'जहाँ पनि नीजि स्कुल राम्रा हुन्छन् । सामुदायिक स्कुल खस्किन्छन् भन्ने भ्रम छ। तर अब थिमीमा नगर निरीक्षकको व्यवस्था गरेर सामुदायिक स्कुलको पनि शैक्षिकस्तर उकासिने छ ।'

उनले यसको लागि थिमी नगरपालिकाले काम अघि बढाइसकेको बताए । नगरपालिकाले आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) मध्यपुरसँगको सहकार्यमा नगर निरीक्षकको लागि आवेदन खुला गरिने उनले बताए । नगर निरीक्षकले सामुदायिक र संस्थागत विद्यालयको सहकार्य गर्ने र ती विद्यालयहरुको निरीक्षण गर्ने छ ।

यसैगरी मेयर श्रेष्ठले मध्यपुर थिमी नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउने दाबी पनि गरेका छन् । मध्यपुरमा उत्कृष्ट शिक्षयालय रहेको र यी शिक्षालयलाई ब्रान्डिङ गरेर शैक्षिक हब बनाउनु पर्ने उनको धारणा थियो ।

यस्तै जनप्रेमीका प्रिन्सिपल एवं मध्यपुर प्याब्सन भक्तपुरका अध्यक्ष निलेश आचार्यले चाँडै नै सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल कम हुने बताए । थिमी नगरपालिका भित्र रहेका विद्यालयका सबैको समान गुणस्तर रहने बताउँदै उनले त्यसपछि शिक्षामा एकरुपता आउने बताए । उनले भने, 'अब हामी नीजि र सरकारी भनेर शिक्षाको गुणस्तरमा भिन्नता हुने शिक्षा दिँदैनौं । सबैको गुणस्तरीय शिक्षा हुन्छ । यसको लागि नगरपालिका प्याब्सनसँग सहकार्य गरेर अगाडि बढिकसेकेको छ ।'

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले विद्यालय र अभिभावकबीच सम्बन्ध समधुर हुनुपर्ने बताइन् । उनले विद्यार्थीलाई घर र विद्यालयमा नै संस्कार सिक्ने भएकोले राम्रो संस्कार दिनुपर्ने बताइन् । उनले भनिन्, 'यदि शिक्षक र अभिभावकले नै सही संस्कार र शिक्षा दिन सकेनौं भने हाम्रो भविष्य अन्धरकार हुन्छ ।'

नगरपालिका भित्र १६ वटा सामुदायिक र ५० वटा भन्दा बढी संस्थागत विद्यालय छन् ।

प्रकाशित : माघ १३, २०७५ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×