२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

युवालाई स्वदेशमै रोक्ने चुनौती

नेपाली युवामा स्वदेशमै बसेर केही गर्न सकिन्छ वा गरौं भन्ने भावना मरिरहेको छ, जुन राष्ट्र र सत्ता सञ्चालकहरूका लागि गम्भीर चुनौती हो ।
खिमलाल भट्टराई

रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ ।

युवालाई स्वदेशमै रोक्ने चुनौती

आर्थिक–सामाजिक रूपान्तरणको विराट् उद्देश्यका निम्ति विकासका स्रोतहरूको परिचालन गर्ने योजना तर्जुमा गरियो भने पनि जनशक्तिको अभावमा केही गर्न नसकिने अवस्था बन्दै छ । मानवीय पुँजीको अभावको दुर्दशा कतै देशले भोग्नुपर्ने त होइन ? विद्यार्थीको अभावमा कलेज र विश्वविद्यालयहरू नै बन्द हुने अवस्था आउने त होइन ? जुन रफ्तारमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्, यसले गर्दा देशका कलेजहरूमा अध्यापनरत प्राध्यापक एवं कार्यरत कर्मचारीहरू निकम्मा हुने र सरकारी तथा निजी क्षेत्रका थुप्रै भौतिक संरचना खण्डहरमा परिणत हुने त होइनन् ? बेलैमा परिस्थितिको ठोस विश्लेषण र समाधानको पहल नभए अवस्था झन् गम्भीर बन्दै जानेछ । यस लेखमा पछिल्लो तथ्यांकलाई आधार मानेर समस्याको पहिचान, विश्लेषण र समाधानको उपाय के हुन सक्ला भन्नेबारे विमर्श गर्ने कोसिस गरिएको छ ।

नेपाल सरकार, श्रम विभागको पछिल्लो तथ्यांक अनुसार २०७९–८० मा मात्रै रोजगारीका लागि ५ लाख ८० हजार ९ सय ६२ पुरुष र ४९ हजार १ सय २८ महिला श्रमशक्ति बिदेसिएको छ । यस अन्तर्गत रोजगारीका सिलसिलामा बाहिरिएको जनशक्तिलाई हेर्दा उच्च दक्ष १२५, प्रोफेसनल ६८०, अर्ध दक्ष ५० हजार ६७ जना पुरुष र ४ हजार २ सय ६१ महिला, दक्ष २ लाख ६८ हजार ४ सय ५६ पुरुष र २३ हजार ४ सय ३३ महिला, अदक्ष २ लाख ६१ हजार ७ सय २ पुरुष र २१ हजार ३ सय ७७ महिला श्रम शक्ति बाहिरिएको छ । रोजगारीका निम्ति बाहिरिनेमा महिलाहरूको संख्या पनि क्रमशः बढ्दो छ । यो त औपचारिक र कानुनी ढंगले गएकाको संख्या हो, अनौपचारिक र गैरकानुनी बाटोबाट बिदेसिनेहरूको संख्या पनि ठूलै हुन सक्ने अनुमान गर्न सकिन्छ ।

उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट एनओसी लिएर जानेहरूको संख्या पनि ठूलो छ । २०७४ देखि अहिलेसम्मको डाटा हेर्दा ४ लाख ४७ हजार ७ सय ७१ विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भनेर बिदेसिएका छन् । २०७३ यताको प्रत्येक वर्षको तथ्यांक हेरौं । २०७३–७४ मा ५० हजार ७ सय ९६, २०७४–७५ मा ५८ हजार ७ सय ५८, २०७५–७६ मा ६३ हजार ४ सय १७, २०७६–७७ मा ३३ हजार १ सय ९६, २०७७–७८ मा २८ हजार ८ सय ८३, २०७८–७९ मा १ लाख २ हजार ५ सय ४ र २०७९–८० मा १ लाख १० हजार २ सय १७ जना अध्ययनका लागि भनेर एनओसी लिएर बाहिरिएका छन् । प्रस्तुत तथ्यांकको विश्लेषण गर्दा २०७३ देखि ७६ सम्म बिदेसिनेको संख्या क्रमशः बढ्दै गएको र २०७६–७७ मा यो संख्या ह्वात्तै घटेको देखिन्छ । यद्यपि पछिल्लो पटक २०७८–७९ मा भने यो संख्या लाखौंमा पुगेको छ । जुन रफ्तारमा विद्यार्थीहरू बाहिरिँदै छन्, त्यो मुलुकका लागि गम्भीर चुनौती र चिन्ताको विषय हो ।

युवाहरूको यस किसिमको विदेश पलायनले हाम्रा गाउँघरहरू वृद्धवृद्धा, महिला र बालबच्चाहरू मात्रै भएको समाजमा रूपान्तरित हुँदै छन् । यति मात्रै होइन, छोराहरू विदेशमा र बुहारीहरू छोराछोरी पढाउन भनेर सहर झर्दा गाउँहरू तिनै असहाय वृद्धवृद्धाहरूका मात्रै संवेदनशील बस्ती बन्दै छन् । युवा जनशक्ति नभएकाले बिरामी पर्दा अस्पताल पुर्‍याउने र मर्दा लास उठाउने मानिसको अभाव हुँदै गएको कुरा गाउँघरतिर सुन्न थालिएको छ । तर, यो अवस्थाको व्याख्या र विश्लेषणको मात्रै धेरै महत्त्व छैन, महत्त्व त यो अवस्थामा बदलाव ल्याउनुमा छ । बदलाव आउँछ कसरी ? केही चिन्तन गरौं ।

यहाँनिर युवाहरूको विदेश पलायनका मूलतः दुइटा उद्देश्य छन्— रोजगारी र अध्ययन । रोजगारीका निम्ति जानेहरू शिक्षित र शारीरिक श्रमशक्ति दुवै छन् । हामीले न ‘ब्रेन’ लाई रोक्न सकेका छौं, न त ‘लेबर’ लाई नै । ‘ब्रेन’ र ‘लेबर’ दुवै ‘ड्रेन’ भैरहेका छन् । रोजगारी, राम्रो तलब, सेवा र सुविधाको लोभमा डाक्टर र इन्जिनियरहरूले पनि देश छोड्ने गरेका छन् ।

प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि भनेर किशोरकिशोरी लाखौंको संख्यामा बिदेसिँदै छन् । बाबुआमाहरू उनीहरूलाई रोक्न सक्ने हालतमा छैनन् । उनीहरू सकी–नसकी त्यसको बन्दोबस्तमा लाग्न बाध्य छन् । विदेशी विश्वविद्यालयहरूले यहाँबाट विद्यार्थी लैजान सयौं कन्सल्टेन्सी खोलेका छन् । वा, तिनीहरूलाई माध्यम बनाउँदै बाल मस्तिष्कलाई प्रभाव पार्ने अनेकौं काउन्सिलिङ यहाँ चलिरहेका छन् । के यी संस्थाहरूको कुनै सरकारी निकायबाट नियमन, नियन्त्रण र अनुगमन भैरहेको होला ? चिकित्सा शिक्षा र इन्जिनियरिङजस्ता विषयहरूको अध्ययनका निम्ति धेरै ठूलो जनशक्ति विदेशिइरहेको छ । यसबाट अर्बौं धनराशि पनि बाहिरिइरहेको छ ।

श्रमशक्तिको अर्को ठूलो हिस्सा शारीरिक श्रम बेच्न बिदेसिइरहेको छ । देशभित्र थोरै पनि आम्दानी गर्न सक्ने आधार नपाएर यो शक्ति बिदेसिन बाध्य भएको हो । विदेशी श्रम बजारमा रगत–पसिना बेच्न बाध्य एक श्रमिकको भनाइ छ— ‘चौतारी थियो वर थिएन, सहर थियो तर आफ्नो घर थिएन/परदेसिनु मेरो बाध्यता थियो, तर कुनै रहर थिएन ।’ थोरै कमाइको आशामा घरको गुजारा धान्न उनीहरू लाखौं खर्चिएर बिदेसिएका छन् । यसरी रोजगारीका लागि बिदेसिनुपरेका युवाहरूको गन्तव्य मुलुक भने तिनकै हैसियत अनुसारका हुने गरेका छन् । अनपढ, धेरै लगानी गर्न नसक्ने र शारीरिक श्रम मात्रै गर्न सक्ने श्रमशक्तिको गन्तव्य खाडी मुलुकहरू, मलेसिया आदि हुने गरेका छन् । अलि खर्च गर्न सक्ने र केही पढेलेखेका युवाहरू दक्षिण कोरिया, जापान लगायतमा अनि पर्याप्त खर्च गर्न सक्ने धनाढ्यहरूका छोराछोरीको युरोप–अमेरिका जाने गरेका छन् । सवाल यो हो कि, धनीदेखि निम्न वर्गसम्मका युवा जनशक्तिको गन्तव्य विदेश बनिरहेको छ । यति बेला नेपाली युवाहरूमा स्वदेशमै बसेर केही गर्न सकिन्छ वा गरौं भन्ने भावना मरिरहेको छ, जुन राष्ट्र र सत्ता सञ्चालकहरूका लागि गम्भीर चुनौती हो ।

हाम्रो भूगोल उर्वरा छ; अपार जलस्रोत छ; हजारौं नदीनाला, सयौं तालतलैया छन्; चिसो–न्यानो र गर्मीको मौसमी विविधता छ । हिमाल, पहाड, तराई, भित्री मधेश गरी भौगोलिक विविधता छ । १३० भन्दा बढी भाषाभाषी, १४० भन्दा बढी जाति–जनजाति छन् । जातीय एवम् सांस्कृतिक बहुलता छ । सयौं धार्मिक–सांस्कृतिक सम्पदाले भरिपूर्ण, दुर्लभ वन्यजन्तु र जडीबुटीले भरिएका वनजंगल भएको हाम्रो देशले युवाहरू दैनिकी चलाउनकै निम्ति सानोतिनो कामको खोजीमा बिदेसिनुपर्ने विडम्बनाबाट मुक्ति कहिले पाउने ?

हाम्रो मुलुकमा विकासको अनन्त सम्भावना छ, स्रोतहरू छन् । तिनको सही परिचालनबाट रोजगारीका अवसरहरू सृजना हुन सक्छन् । र, मुलुकको विकास र समृद्धि सम्भव हुन सक्छ । त्यसका लागि हामीले शिक्षा प्रणालीलाई लगभग आम रूपमै बदल्न जरुरी भएको छ । प्राविधिक र व्यावसायिक शिक्षा नै मुलुकको आवश्यकता हो । यसलाई पनि अनुभवमा आधारित बनाउन जरुरी छ । सैद्धान्तिकजस्तो प्राविधिक शिक्षाले पुग्दैन, पढाइ सक्दै गर्दा श्रमबजारमा पुगेर काम गर्न सक्ने शिक्षाको आवश्यकता छ । अझै काम गर्दै पढ्दै गर्न सकिने प्रणाली बनाउन जरुरी छ । मुलुकको विकासका स्रोतहरूमा आधारित शैक्षिक व्यवस्था र त्यसमा युवाहरूको परिचालन हुन सक्यो भने अध्ययनका लागि विदेश पलायन हुनेको संख्या निश्चित रूपमा घट्दै जानेछ ।

अर्को कुरा, मुलुकको राजनीतिले युवाहरूमा आशा र विश्वास जगाउन सक्नुपर्छ । युवाहरूमा देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास जागृत गराउनुपर्छ । र, मुलुकभित्रै केही गर्नुपर्छ भन्ने देशभक्तिको भावना पनि जगाउन सक्नुपर्छ । युवाहरूमा मातृभूमिप्रतिको कर्तव्यबोध गराउने जिम्मेवारी सरकारको हो, जसका लागि अहिलेको सरकार पूर्ण रूपमा असफल छ ।

नेपाल ३ करोडभन्दा कम जनसंख्यालाई सुखले पाल्न नसक्ने देश होइन । साधनस्रोतको हिसाबले नेपाल गरिब छैन । उपलब्ध साधन र स्रोतको समुचित उपयोग गर्न नसकेरै हामी अविकसित र गरिब भएका हौं । मुलुकभित्रका साधनस्रोतहरूको समुचित उपायोग नै देश विकासको आधार हो । मुलुकको राजनीति पनि तदनुरूप स्थिर, दृष्टिकोणयुक्त, योजनाबद्ध, लक्ष्यकेन्द्रित र संकल्पबद्ध हुन जरुरी छ, जुन हुन सकेको छैन । यही कारण युवापंक्तिमा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भइरहेको छ, परिणामस्वरूप युवा वर्ग भविष्य खोज्न विदेशतिरै कुदिरहेको छ ।

जलस्रोतमा अपार धनी नेपाल भर्खरै थोरै मात्र विद्युत् बिक्री गर्ने लक्ष्यमा पुगेको छ । यो पनि सकारात्मक पक्ष हो । हाम्रा नदीनालाहरूमा हजारौं मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । यसको समुचित उपयोगका निम्ति पुँजी र प्रविधि जुटाउन सार्थक पहल गर्नुपर्छ, बुद्धि–विवेक लगाउनुपर्छ । हाम्रो भान्सा र यातायातका साधनमा मात्रै विद्युत्को प्रयोग हुन सके पनि पेट्रोल, डिजेल र खाना पकाउने ग्यास आयातमा गइरहेको अर्बौं रुपैयाँ जोगिन सक्छ । त्यो रकम अन्य उद्योगमा लगाउन सकिन्छ । यसले रोजगारीका अवसरहरू उपलब्ध गराउन सक्छ ।

धार्मिक पर्यटन नेपालको विकासको अर्को असाध्यै सम्भावना बोकेको क्षेत्र हो । पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम लगायतका थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरू नेपालमा छन्, जसले आन्तरिक र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्छन् । सगरमाथा र अन्य मनोरम प्राकृतिक दृश्यहरू पनि पर्यटनका केन्द्र हुन् । यिनको उपयोग र विकासका निम्ति पर्याप्त पूर्वाधारको आवश्यकता छ । यो नेपालीलाई स्वरोजगार बनाउन सक्ने क्षेत्र पनि हो । यिनको समुचित उपयोगले देशभित्रै लाखौंलाई रोजगारी दिन सकिन्छ ।

सबैभन्दा ठूलो संख्यामा रोजगारीका अवसरहरू सृजनाका लागि चाहिँ औद्योगिकीकरणमै जानुपर्छ । यसका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्छ । उद्योग स्थापनाका निम्ति सहज कानुनी प्रबन्ध, सरल र सहयोगी प्रशासनिक संरचना, आवश्यक पूर्वाधार विकास, सुविधा र मुनाफाको सुनिश्चितता भए मात्रै स्वदेशी–विदेशी लगानीकर्ताहरू आकर्षित हुन सक्छन् । तर सरकारको ध्यान यता जान सकेको छैन । औद्योगिकीकरण युवाहरूको विदेश पलायनलाई रोक्ने महत्त्वपूर्ण आधार हो ।

निष्कर्षतः, राजनीतिलाई रोजगारीका अवसरहरूको सृजना, शिक्षामा परिवर्तन र गुणस्तरको सुनिश्चितता, उज्यालो भविष्य देखाउन सक्ने विकास र समृद्धिमा केन्द्रित बनाउन सके युवाहरूको विदेश पलायनलाई रोक्न सकिन्छ । अन्यथा मुलुक संकटतर्फै जाने हो, बेलैमा सोचौं ।

प्रकाशित : श्रावण ३१, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?