परीक्षण बढाऊ, मृत्युदर घटाऊ

सम्पादकीय

कोरोना भाइरसको खोप लगाउन थालिसकेका बेलायतलगायतका कतिपय मुलुकहरू जारी संक्रमणसित जुध्न पनि उत्तिकै प्रयासरत छन् । कतिले त अझ कडिकडाउ व्यवस्था गर्दै छन् । तर, खोप कहिले आउँछ भन्ने टुंगोसमेत नलागेको नेपालले भने संक्रमणसित जुध्न अहिल्यै लत्तो छाडिसकेको देखिन्छ ।

परीक्षण बढाऊ, मृत्युदर घटाऊ

तथ्यांकमा संक्रमण दर र सक्रिय संक्रमितको संख्या कम देखिए पनि यथार्थ त्यस्तो होइन । परीक्षण दर घटाइएकाले मात्रै संक्रमण दर घटेको देखिएको हो । बढ्दो मृत्युदरले नै स्थिति ठीकठाक छैन भन्ने जानकारी दिन्छ । विज्ञहरूले चेतावनी नै दिइसकेका छन्, ‘संक्रमण घटेको छैन, दोस्रो लहरको जोखिम छ ।’ तसर्थ, जिम्मेवार सरकारी निकायले सम्भावित खतराको हेक्का राख्नुपर्छ । र, संक्रमणसित जुध्न गर्नुपर्ने सम्पूर्ण प्र्रतिकार्यलाई प्रभावकारी तुल्याउनुपर्छ ।

सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको हो । गत अगस्ट र सेप्टेम्बर दुवै महिना ३–३ लाखभन्दा बढीको पीसीआर परीक्षण भएको थियो । अक्टोबरमा त सबा चार लाखको परीक्षण गरिएको थियो । तर, नोभेम्बरमा यो संख्या तीन लाख पनि पुग्न सकेन । डिसेम्बरमा पनि यही पारा छ । पछिल्लो समय त मुस्किलले दैनिक औसत ६ हजारको मात्रै परीक्षण भैरहेको छ । परीक्षण नै थोरैको गरिएपछि स्वाभाविक रूपले संक्रमितहरू कम हुने नै भए । कुनै बेला ४० हजार नाघेको संक्रिय संक्रमितको संख्या अहिले साढे ७ हजारमा झरेको छ ।

सरकारले संक्रमितको पहिचानसँगै उसको सम्पर्कमा आएका व्यक्तिलाई अलग्गाउँदै संक्रमण फैलिन नदिएको भए यो घटेको दर स्वाभाविक हुन्थ्यो, यसमा खुसी हुन सकिन्थ्यो । तर, आवश्यक ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै नगरेर र परीक्षण घटाएर मात्रै संक्रमितको संख्या कम देखाइएकाले यो चिन्ताको विषय हो । महिनैपिच्छे बढ्दै गएको कोरोनाबाट मृत्यु हुनेको दरले पनि मुलुकको वास्तविकताको एउटा छनक दिन्छ । पछिल्ला तीन दिन मृत्यु हुनेको संख्या एकल अंकमा झरे पनि गत आइतबार मात्रै एकै दिन ११ जनाको मृत्यु भएको थियो । शनिबार १२ र शुक्रबार १६ जनाको निधन भएको थियो । ६ महिनायताको तथ्यांकअनुसार परीक्षण घटाइएको महिना नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । जुन संख्या अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ थियो । बुधबारसम्म मुलुकमा कोभिडबाट १ हजार ८ सय ३ जनाको ज्यान गैसकेको छ ।

यसरी मृत्युदर बढ्नु तर परीक्षण घट्नु उचित होइन । यसले हाम्रो संक्रमण रोक्न अपनाइनुपर्ने प्रतिकार्य प्रणाली प्रभावकारी नभएको जानकारी दिन्छ । यदि वास्तविक रूपमा परीक्षण गर्नुपर्नेको संख्या कम भएको भए या संक्रमितको संख्या घटेको भए त मृत्युदर पनि सोहीअनुसार न्यून हुनुपर्थ्यो । तर यो संख्या जुनदेखि नोभेम्बरसम्म आइपुग्दा झन्डै २० गुणाले बढेको छ । यसबाट के बुझिन्छ भने, परीक्षण बढाउने हो भने संक्रमण दर स्वतः धेरै देखिन्छ । यसको अर्थ, समाजमा संक्रमण अझै उच्च छ । तसर्थ, जनस्वास्थ्यको नियमलाई अझै पनि कडाइपूर्वक पालन गर्न आवश्यक छ । सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी बनाएर परीक्षण बढाउनुपर्छ ।

अहिले भैरहेको परीक्षणमा पनि शंकास्पद संक्रमितबाहेक विदेश जान खोज्नेहरूको संख्या ठूलो छ । त्यसैले विदेश जान पीसीआर गराएकाको संख्या हटाएर गणना गर्दा मात्रै परीक्षण गराउनेमध्येमा संक्रमितको वास्तविक अवस्था थाहा हुन्छ । विज्ञहरूका अनुसार अहिले लक्षित समूहमा परीक्षण हुन छाडेको छ । विदेश जानेभन्दा बाहेक कोभिडको कडा लक्षण देखिएकाको मात्र परीक्षण गराइरहेका छन् । यसरी रोगको वास्तविक तस्बिर बाहिर नआउँदा नागरिकले अपनाउने स्वास्थ्य संवेदनशीलतामा कमी आउन सक्छ । अझ, पछिल्लो समय मुलुकको राजनीतिक वातावरणका कारण भौतिक दूरीलाई बेवास्ता गर्दै दिनहुँ बैठक, भेला, जुलुस, सभा आदि भैरहेका छन् । यी गतिविधि पनि संक्रमण विस्तारमा सहायक हुन सक्छन् । त्यसैले, संक्रमणको अवस्थालाई भयावह हुनबाट रोक्न सम्बन्धित सबै सजग हुन आवश्यक छ । नागरिकको सावधानी र सरकारको सक्रियताले सम्भावित दोस्रो लहर आउनबाट रोक्नुपर्छ ।

प्रकाशित : पुस ९, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?