कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिम्मुरबोटे युद्धमा बलिदानको मूल्य

सहिदहरूको बलिदानका कारण आफूहरू नेतृत्व तहमा पुगेको सत्य नेपाली कांग्रेसका नेताहरूले नै भुलिसकेका छन् ।

जुन दिन राजा महेन्द्रले प्रजातान्त्रिक अधिकारको जफत गरेका थिए, १४ वर्षपछि सोही दिन नेपाली कांग्रेसले सत्तासँग पहिलोपटक आमनेसामने सशस्त्र युद्ध लडेको थियो । २०३१ पुस १ त हो त्यो दिन ! यो घटना नेपालको इतिहासमा टिम्मुरबोटे काण्डका रूपमा परिचित छ ।

टिम्मुरबोटे युद्धमा बलिदानको मूल्य

यसभन्दा अगाडि नेपाली कांग्रेसले गुरिल्ला आन्दोलन मात्र गरेकाले टिम्मुरबोटेलाई पहिलो आमनेसामने युद्ध मानिएको हो । तर, यति ठूलो परिघटना यस आन्दोलनको रचयिता नेपाली कांग्रेसकै कारण इतिहासको गर्भर्बाट हराउन लागेको छ । प्रजातन्त्र अपहरण भएको २०१७ साल पुस १ को छायामा परिरहेको छ टिम्मुरबोटे काण्ड । राजाबाट प्रजातन्त्र अपहरित भएको घटनाका रूपमा यो दिनलाई धेरैले सम्झिरहँदा टिम्मुरबोटे काण्डको पूर्वार्द्ध र उत्तरार्द्धमा ४७ जनाले सहादत पाएको कालो दिन भने भुलिरहेका छौं । टिम्मुरबोटे ओडारमा सेल्टर लिएर बसेका योद्धाहरूमाथि शाही सेनाद्वारा हमला भएपछिको दोहोरो भिडन्तमा १३ जना मारिएका थिए, बाँकीचाहिँ त्यो युद्धको तयारीका क्रममा र घटनापछि राज्यद्वारा गरिएको दमनमा ।

नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनको इतिहासमै टिम्मुरबोटे युद्ध सबैभन्दा पछिल्लो सशस्त्र संघर्ष हुन पुग्यो । त्यसपछि त २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार बीपी कोइराला र गणेशमान सिंह हतियार बिसाई भारतबाट फर्किए । यद्यपि नेपाली कांग्रेसको यो नीतिलाई राजाले नजरअन्दाज गरे र प्रजातन्त्रका लागि थप शान्तिपूर्ण आन्दोलनहरू गर्नुपर्‍यो । सोलुखुम्बुको टिम्मुरबोटेमा भएको त्यो काण्डमा म पनि सहभागी थिएँ । ओडारमा सेल्टर लिएर बसेका रामप्रसाद उपाध्याय, लक्ष्मणप्रसाद उपाध्याय, नेत्रबहादुर कार्की, मानबहादुर बख्खिम लिम्बू, कृष्णबहादुर लिम्बू, प्रजालाल राई, पदमप्रसाद पुरी, श्याम गुरुङ, महेशकुमार कोइराला, माइला राई (पूर्णबहादुर), होमप्रसाद राई, मानबहादुर मगर, लालबहादुर थापाजस्ता मेरा सहयात्रीहरूले वीरगति प्राप्त गरे ।

घटनास्थलबाट उम्कन सफल भएर हिँड्दै गर्दा ओखलढुंगाको ठाडेमा अगममणि राई, शिवकुमार राई, मानबहादुर तामाङ प्रहरीको गोलीको सिकार भए । उनीहरूसँगै गएका लोकबहादुर गुरुङ र घटनास्थलबाट जोगिएर फरक बाटो गएका जसधन राई अझै जीवितै छन् । घटनास्थलबाट घाइते अवस्थामा पक्राउ परेका रामप्रसाद राईलाई सदरमुकाम सल्लेरी ल्याई आबाडाँडामुनि सेनाले गोली हान्यो । मसहित साथीहरू बलबहादुर राई, दत्तसिंह कार्की, अमृतबहादुर कार्की, सीताराम कार्की, लक्ष्मण कार्की, ज्वालाप्रसाद भट्टराई, जहरबहादुर मगर, भगिवन्त राई, एक्कबहादुर गुरुङ, चन्द्रकान्त दाहाल, बमबहादुर राई, अडिमर्दन थापामगर, भैरव राई, भीमबहादुर अधिकारी, परशुराम अधिकारीलाई घटना हुनुभन्दा केही दिनको अघिपछिमा पक्राउ गरिएको थियो । कस्तो अचम्म, हुतराज बस्नेत र गडुलध्वज थापालाई पक्राउ गर्न नसकेपछि क्रमशः उनीहरूका वृद्ध बुबा देवीबहादुर बस्नेत र बमबहादुर थापालाई गिरफ्तार गरियो ! पछि हुतराज र गडुलध्वजलाई सुनसरीको चतराबाट पक्रिएपछि मात्र यी दुई वृद्धलाई छोडियो ।

हामीलाई कठोर यातना दिई सोलुखुम्बु कारागारमा राखिएको थियो । आज पनि म त्यस बेला ठोकेका नेलको चोटको निसाना शरीरमा बोकेर बाँचिरहेको छु । हामीसँगै सोलु कारागारमा रहेका अम्मरबहादुर खड्का, शमशेरबहादुर कार्की, हर्कबहादुर कार्की, भीमबहादुर कटुवाल, रामकुमार सुनुवार र ओखलढुंगा जेलमा रहेका अगमशेर राई, होमशेर राई, टीकाराम राईसहित आठ जनालाई अञ्चल कारागार, राजविराज लैजाने बहानामा ओखलढुंगाको मानेभन्ज्याङस्थित लगलगे भन्ने ठाउँमा पुर्‍याई गोली दागियो ।

विष्णुदल गुल्मका जमदार कर्णबहादुर बस्नेत र अमलदार भवेन्द्रबहादुर बस्नेतलाई कांग्रेससँग मिलेको आरोपमा कोर्ट मार्सल गरी मृत्युदण्डको सजाय दिइयो । सेनाले उनीहरूलाई काठमाडौंको थानकोट रेन्जपोस्टमा गोली हान्यो । बाँकी हामी जेलमा रहेकालाई पनि राजविराजमै सार्ने खबर सुनिएको थियो । जेल सरुवाका नाममा मार्ने भयो भनेर हामीले ज्यान माया मारिसकेका थियौं । तर यहीबीच न्यायाधीश ऋद्घिमानन्द बज्राचार्यको विशेष अदालत गठन भएछ । बज्राचार्यको इजलासले मुद्दा चलाएर ठहरेअनुसार दण्ड–सजाय हुने आदेश दिएपछि राजविराज लैजाने चालबाजी रोकियो । कठोर जेल सजाय भने भोग्नुपर्‍यो । टिम्मुरबोटे युद्धका फौजी कमान्डर क्याप्टेन यज्ञबहादुर थापालाई पनि पक्राउ गरेर मुद्दा चलाइएको थियो । विशेष अदालतबाट मृत्युदण्डको फैसला भएपछि उनलाई मृत्यु कुराएर काठमाडौंको केन्द्रीय कारागारमा राखिएको थियो । उनलाई २०३५ माघ २६ गते कमलामाई जंगलमा लगी गोली हानियो ।

प्रजातन्त्र स्वर्ग हो भन्ने परिकल्पना गरी जीवन उत्सर्ग गर्ने कसम खाएर हामी संघर्षमा होमिएका थियौं । स्वर्गमा न कसैले अन्याय गर्छ, न कोही अन्यायमा पर्नुपर्छ भन्ने सोचले आन्दोलनमा धकेलिएका थियौं । हाम्रो मानसपटलमा यस्तो चेतनाको भ्रूण घुसाइदिने बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता अग्रज आज हामीमाझ छैनन् । अहिले जो नेतृत्वमा छन्, तिनले त्यो सोच र सहिदको बलिदानको हेक्का राख्न छोडिसकेका छन् । त्यही बलिदानका कारण आफूहरू नेतृत्व तहमा पुगेको सत्य नेपाली कांग्रेसका नेताहरूले नै भुलिसकेका छन् । सहिदका परिवार तथा वर्षौं जेल जीवन गुजारेका प्रजातन्त्रका सेनानीहरू कहाँ कुन अवस्थामा छन् भनी नेताहरूमा चिन्ता र चासो छैन । बरु टिम्मुरबोटे काण्डमाथि नै निम्न दर्जाको राजनीतीकरण गरिरहेका छन् ।

वीरहरूको रगतले सिञ्चित टिम्मुरबोटेको पुण्य भूमिलाई सहिदहरूको सम्मानस्वरूप पर्यटकीय क्षेत्र बनाउने उद्देश्य राखी २०५१/५२ सालतिर सहिद स्मृति पार्क प्रतिष्ठान गठन भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संरक्षक र बलबहादुर केसी अध्यक्ष रहेको यो प्रतिष्ठान आज अस्तित्वको संकटमा छ । काठमाडौंको कोटेश्वरमा रहेको प्रतिष्ठानको कार्यालय खाली गराइदिन घरधनीले ताकेता गरिरहे पनि कसैले सुनेको छैन । स्थापनाको डेढ दशक बित्दासम्म प्रतिष्ठानको गुरुयोजना र प्रारम्भिक अभिलेख लेख्ने काम मात्र भएको छ । हुँदाहुँदा टिम्मुरबोटे घटनाबारेका तथ्य नै तोडमोड गर्ने काम भयो । सोलुखुम्बुमा पर्ने घटनास्थल टिम्मुरबोटेलाई ओखलढुंगाको भनी पुरुषोत्तम दाहालले प्रतिष्ठानका लागि तयार पारेको प्रारम्भिक अभिलेखमा लेखे । यो घटनामा ओखलढुंगेलीको सहभागिता पक्कै कसैले बिर्सन सक्दैन । यसमा सहिद हुनेहरू ओखलढुंगावासी नै बढी छन् । तर घटनास्थल नै परिवर्तन गर्दा न इतिहास सत्य रहन्छ, न सहिदको सम्मान नै हुन्छ ।

हुन त अहिले इतिहासको जिम्मेवारी र भावना सम्झिएर कर्तव्य निर्वाह गर्ने राजनीतिक प्रवृत्ति लगभग मरिसकेको छ । प्रजातन्त्रका लागि बलिदानपूर्ण इतिहास बोकेको नेपाली कांग्रेस गुट–उपगुटमा विभाजित भएर राजनीतिक हिसाबकिताब खोजिरहेछ । नेपाली कांग्रेस गुटगत आकार र गच्छेअनुसार भागबन्डा गर्नमै सीमित हुन पुगेको छ । लाभहानिको हिसाब गर्दै बिहान–बेलुका गुटगत नेताका घरदैलोमा उपस्थित हुनेहरूलाई धनमान कमाउने स्थानमा पुर्‍याउनमै बेफुर्सदी छ । समानुपातिक सांसदहरूको क्रय–विक्रयमा नेपाली कांग्रेस असाध्य व्यस्त छ । समानुपातिक कोटाबाट सांसद हुन ‘माफिया’ लाई योग्यताको मापदण्ड बनाइएको छ । प्रत्यक्षतर्फका उम्मेदवारको आधार पनि जिल्लाजिल्लामा बसेर संगठन मजबुत बनाउनुलाई होइन कि काठमाडौंमा नेताहरूका कोठाचोटामा साँझ–बिहान नित्य धाउनुलाई बनाइएको छ ।

इतिहासको जिम्मेवारीबाट नेपाली कांग्रेसको आत्मा पूरै भड्किसकेको छ भनी पुष्टि गर्ने यस्ता आधार बग्रेल्ती छन् । अंशियार त सन्ततिबीच पैतृक सम्पत्तिमा मात्र हुन्छ । के नेपाली कांग्रेस अहिलेको नेतृत्व वर्गको पैतृक सम्पत्ति हो ? पार्टीलाई नेतृत्वको निजी सम्पत्तिका रूपमा सञ्चालन गर्नलाई नै सहिदहरूले जीवन उत्सर्ग गरेका थिए ? पार्टी कसैको पैतृक सम्पत्ति किमार्थ बन्न हुँदैन । यी हरफ लेखिरहँदा मेरा आँखाअगाडि सहादतप्राप्त सहयात्रीहरूका अनुहार नाचिरहेका छन् । हामीलाई मृत्युमा होमिन त्यस बेलाको नेपाली कांग्रेस नेतृत्वले दिएको लामो प्रवचन र वर्तमान कांग्रेसको कार्यशैलीबीचको यो कस्तो विरोधाभास ! इतिहासको जिम्मेवारी पूरा गर्ने क्षमता त नेपाली कांग्रेसले देखाउन सकेन नै, उल्टो इतिहासको मूल्यांकन पनि गर्न छोड्यो । हेक्का रहोस्— इतिहास युगको जग हो र जगबिनाको घर बलियो हुँदैन ।

(बस्नेत सोलुखुम्बु नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति हुन् ।)

प्रकाशित : पुस २, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?