कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूलधारको वित्तीय उपकरण बन्दै डिजिटल बैंकिङ

क्यासलेस सोसाइटीमा जान असम्भव होला तर लेस क्यास सोसाइटीमा हामी चाँडै जान सक्छौं ।
अनिलकेशरी शाह

अर्थतन्त्रको हरेक क्षेत्रमा बैंकको भूमिका छ । बैंकले नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदानको महत्त्व अझ बढी छ । नेपालको बैंकिङ क्षेत्र विस्तार भइरहेको छ र सेवाहरूको दायरा पनि फराकिलो हुँदै गएको छ । स्थानीय तहमा पुर्‍याएका र डिजिटल प्लेटफर्ममा उपलब्ध गराएका धेरैभन्दा धेरै सेवासुविधाका कारण बैंक धेरैभन्दा धेरै जनतामा पुगिसकेको छ ।

मूलधारको वित्तीय उपकरण बन्दै डिजिटल बैंकिङ

नगदको सट्टा कारोबार गर्न सकिने डिजिटल माध्यमका थुप्रै सेवाले नेपाल–प्रवेश गरेसँगै यसप्रति बैंकका ग्राहकहरूको चासो बढ्दै गएको छ । कतिपय अवस्थामा बैंकको सेवाका कारण डिजिटल प्लेटफर्म थपिएका छन् भने, कतिपय अवस्थामा ग्राहकको मागका आधारमा बैंकले डिजिटल सेवा दिन थालेको छ । समाज प्रविधिमैत्री बन्दै गएको र मोबाइल फोन हरेक नेपालीको हातमा पुग्दै गएकाले डिजिटल बैंकिङमा व्यापक सहजता आएको छ ।

नेपालमा डिजिटल वा अनलाइन बैंकिङ सन् १९९३ तिर सुरु भएको हो । त्यो बेला बैंकिङ क्षेत्रमा क्रेडिट कार्डको प्रयोगको सुरुआत भएको थियो । प्रयोगकर्ताका लागि सुरु भएको सेवाको गतिले त्यसको एक दशकमै डिजिटल बैंकिङमा नयाँनयाँ ‘प्रडक्ट’ आएका कारण झन् तीव्रता पायो । तर, नेपालका बैंकमा डिजिटलको अभ्यास त्योभन्दा अलि अघि भएको पाइन्छ । म सम्झन्छु, ३६ वर्षअघि नेपाल अरब बैंक (हाल नबिल बैंक) नेपालकै पहिलो कम्प्युटराइज्ड बैंक थियो । नेपाल अरब बैंकले त्यति बेला काम सुरु गर्दा कम्प्युटराइज्ड बैंक भनेर ठूलठूला ग्राहकहरू कम्प्युटरहरू हेरौं न भनेरसमेत आउने गरेका थिए ।

त्यो बेलाका बैंकहरूमा ठूलठूला ढड्डा पल्टाएर खातापाता लेख्ने र बनाउने गरिन्थ्यो । भनेपछि, त्यो बेलादेखि नै हालको नबिल बैंक डिजिटलमै थियो । नबिल बैंकले नै पहिलोपटक नेपालमा एटीएम सेवा पनि उपलब्ध गराएको हो । अहिले नबिल बैंकले डिजी बैंक नै स्थापना गरेर डिजिटलको हरेक सेवा उपलब्ध गराउन थालेको छ । डिजिटलमा लगानी बढाउनुको प्रमुख उद्देश्य हो– ग्राहकलाई हाम्रा सेवासुविधा छिटोछरितो रूपमा दिनु र सुरक्षामा अब्बल बनाउनु ।

नेपालमा इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । सन् २००३ मा भिसा डेबिट कार्ड सेवा र २००४ देखि मोबाइल बैंकिङ सुरु भएको देखिन्छ । तर, एटीएम भए पनि, इन्टरनेटको सुविधा भए पनि, मोबाइल बैंकिङको एप राखे पनि धेरै ग्राहकले परम्परागत बैंकिङ सेवा प्रणाली नै बढी प्रयोग गरिरहेको बैंकहरूको अनुभव छ । धेरै बैंकले डिजिटल बैंकको प्रडक्ट दिने तर प्रयोगविधि नसिकाउने र त्यसको फाइदाबारे पटक–पटक नभनिदिने गर्नाले सेवा लिएर पनि प्रयोगकर्ताहरू अभ्यस्त भएको पाइएन । प्रडक्टहरू ल्याउँदै गर्ने र बिर्सिंदै जाने समस्या धेरै थियो ।

कोभिड–१९ अघि नै डिजिटल बैंकिङका थुप्रै प्रडक्ट थिए । तर, प्रयोगमा थोरै थिए । महामारीयता यसको प्रयोग र डिजिटल बैंकिङको महत्त्वमाथि बढी चर्चा हुन थालेको हो । ग्राहकहरूले ती प्रडक्टहरू किन चलाउने, के फाइदा हुन्छ भन्नेतिर बैंकहरूको ध्यानै गएन । दस वर्ष भयो होला, विश्व बैंक र आईएमएफ लगायतले नेपालमा आएर उदाहरण दिने गरेका थिए– केन्याको ‘एम पेसा’ भन्ने डिजिटल सेवा (मोबाइल एप) छ । केन्याका सबै मानिसले त्यो एपमार्फत कारोबार गर्छन् ।

केन्यामा सबैभन्दा गरिबदेखि सबैभन्दा धनीसम्मले त्यो एप चलाइरहेका छन् भने नेपालमा किन नल्याएको भनी उनीहरूले धेरै बैंकलाई भन्ने गरेका थिए । हामीले त्यसबारे गहिरो अध्ययन गर्दा के पायौं भने, हामीसँग भएको टेक्नोलोजी र हाम्रा ग्राहकहरूको बुझाइ केन्यालीको भन्दा कम रहेनछ । फरक चाहिँ के रहेछ भने, केन्यामा आपराधिक घटनाहरू धेरै हुँदा रहेछन् । त्यही भएर केन्यालीहरू गोजीमा पैसा बोकेर हिँड्दा रहेनछन् । पैसा देख्नेबित्तिकै चक्कु वा बन्दुक देखाएर लुटपाट गरिने भएकाले उनीहरूले ‘एम पेसामा पैसा’ राख्ने गरेका रहेछन् । अपराधकै कारण ‘एम पेसा’ लोकप्रिय भएको रहेछ ।

तर हाम्रोमा अपराधले हैन, कोभिडले मानिसहरूलाई डिजिटल बैंकिङमा धेरै उत्साहित बनाएको छ । यो महामारीअघि डिजिटल बैंकिङको जुन अवस्था थियो, अहिले त्योभन्दा फरक किसिमले प्रयोगकर्ताहरू बढेका छन् । पहिले जतिसुकै एपहरूको सुविधा दिए पनि ग्राहकहरू किन प्रयोग गर्ने भन्ने प्रश्न गर्न पछि पर्दैनथे । कतिपय त बैंकसम्म जान्छौं, ब्रान्च म्यानेजरसँग बसेर एक कप चिया खान्छौं र केही समय गफ गरेर फर्कन्छौं भन्नेहरू पनि थिए । तर, अहिले बैंकमा आउनुस् भन्दा पनि उनीहरू आउने अवस्थामा छैनन् । कोभिड सुरु भएसँगै ग्राहकहरूले हामी आफ्ना अफिसमा जान सक्दैनौं र बैंकसम्म पनि आउन सक्दैनौं भन्ने गुनासाहरू गर्न थालेपछि नबिल बैंकले इ–नबिल कर्पोरेट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । र, यस्तो अभ्यासमा अरू बैंक पनि छन् ।

अहिले समग्रमा डिजिटल बैंकिङ उकालो चढिरहेको छ । डिजिटल बैंकिङ अहिले मूलधारको वित्तीय उपकरणका रूपमा विकास हुँदै गएको छ । डिजिटल बैंकिङ प्रयोग गर्नेहरू २ करोडभन्दा बढी छन् । यसमा मोबाइल र इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गर्नेहरूको संख्या समावेश छ । बैंकहरूले एटीएम सेवालाई विस्तार गर्दै लगिरहेका छन् । अहिले सबै बैंकका गरेर देशभर ४ हजारभन्दा बढी एटीएम बुथ छ ।

आफ्ना व्यावसायिक ग्राहकहरूलाई कोभिड महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले ‘इ@नबिल–कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा नबिलले सञ्चालनमा ल्याएको छ । इ–नबिल एसएमई मिड कर्पोरेट तथा ठूला कर्पोरेटहरूलाई प्रदान गर्ने इन्टरनेट बैंकिङ सेवा भएकाले नबिल बैंकमा खाता भएका ग्राहकहरूलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् । यसका लागि कर्पोरेट हेडको दुई–तीन डिजिटल हस्ताक्षर चाहिन्छ । आफ्ना कर्मचारी र भेन्डरहरूलाई रकम भुक्तानी गर्न पाएपछि यसको यस्तो राम्रो रेस्पोन्स आयो कि, महामारीका बेला पनि घरमै बसीबसी रकम भुक्तानी गर्ने अवसर दिएको भन्दै खुसी व्यक्त गर्न थाले । योसँगै हामीले सामान आयातका लागि प्रतीतपत्र (एलसी) पनि डिजिटलमार्फत नै खोल्न सक्ने गरी काम गरिरहेका छौं ।

खाता खोल्ने, ऋण आवेदन दिने, भुक्तानी गर्ने, पैसा पठाउने जस्ता बैंकिङ सेवाहरू अहिले घरघरमै उपलब्ध छन् । अहिलेको पुस्ताको प्रविधितिर बढी झुकाव भएका कारण पनि यस्तो सेवा दिएका हौं । अहिलेको पुस्ता प्रविधिसँग अभ्यस्त हुन थालेकाले बैंकहरूले मागबमोजिम कतिपय प्रडक्ट थपिरहेका छन् । घरमा नयाँ पुस्ताले पुरानो पुस्तालाई सिकाउने क्रम पनि बढिरहेको छ । इन्टरनेट र ब्रोडब्यान्ड अनि मोबाइल फोन ग्रामीण क्षेत्रमा पुगेपछि डिजिटल बैंकिङ पनि गाउँ–गाउँसम्म पुगेको छ । यसको सकारात्मक प्रभाव के रह्यो भने, कोभिड सुरु भएपछि ग्रामीण क्षेत्रमा खाता खोल्ने र डिपोजिट गर्नेहरूको संख्या बढेको छ । तर, बैंकले मात्र डिजिटल फोकस भएर हुँदैन । यसका लागि एउटा इको सिस्टम चाहिन्छ । इको सिस्टममा पहिलो चासो दिनुपर्ने भनेको सरकार र नेपाल राष्ट्र बैंकले नै हो । उनीहरूले डिजिटल फ्रेन्ड्ली रेगुलेसन र प्रोसेसरहरू ल्याउनुपर्छ ।

राष्ट्र बैंक मात्र नभनी किन नेपाल सरकार पनि भन्नुपर्छ भन्दा, यसमा न्यायिक निकायको पनि ठूलो भूमिका रहन्छ । हामीले सबै सिस्टम डिजिटल गर्‍यौं तर केही समस्या आयो, ग्राहकहरू अदालतसम्म जानुपर्‍यो र न्यायाधीशले आवश्यक कागज ल्याउनुस् भन्दा छैन भन्नुपर्‍यो भने कसरी डिजिटल ? बैंकका प्रयोगकर्ताहरू छन्, नियम छ तर भेन्डरहरूकहाँ सेवा उपलब्ध भएन भने पनि समस्या हुन्छ । उपभोक्ताले जहाँ गएर आफ्नो वस्तु वा सेवा प्रयोग गर्छन्, त्यहाँ पनि त त्यो चल्नुपर्‍यो नि ! र, अहिले कोभिडका कारण त्यो राम्रो इको सिस्टम बनेको छ । तरकारी, औषधि, तेल र चामल होस् या कुनै पनि सामान चाहियो भने हाम्रा युवाहरूले एपमार्फत भुक्तानी गर्न थालेका छन् ।

कोभिडको बेला सोह्रश्राद्ध कसरी गर्ने ? पण्डितलाई बोलाउँदा भाइरस सर्छ कि भन्ने त्रास भइरहेका बेला युवाहरूले एप निकाले । सोह्रश्राद्ध डिजिटल भयो, दक्षिणा डिजिटलमार्फत नै । दसैं र तिहारको दक्षिणा पनि एपमार्फत नै भुक्तानी भएको देखियो । परम्परागत संस्कृतिमा सबैभन्दा मोडर्न टेक्नोलोजी प्रवेश भयो । यो इको सिस्टम त बैंकले गरेको होइन, समयले माग्यो । हामीले पेमेन्टका लागि बाटो खुला गराएका मात्र हौं । एकचोटि एटीएम चलाएको मान्छे अर्कोपटक बैंकको शाखासम्म चेक लिएर जाँदैन । डिजिटल माध्यम प्रयोग गर्दा झनै सहज भएपछि अर्को विकल्प सोच्नैपरेन । अहिले बिजुलीको बिल तिर्नदेखि तरकारी किन्नसम्म डिजिटल पेमेन्ट सुरु भएको छ ।

क्यास–लेस सोसाइटीमा जान असम्भव होला तर लेस क्यास सोसाइटीमा जान हामी चाँडै सक्छौं । धेरै मुलुकमा नगदरहित कारोबार सुरु भइसकेको छ । सानोदेखि ठूलो कारोबारसम्म डिजिटलबाटै हुने गरेको छ । हामीकहाँ अझै डिजिटल प्लेटफर्ममा ठूलो कारोबारका लागि सीमा राखिएको छ । हार्वर्ड बिजनेस रिभ्यु–२०१९ अनुसार, जापान, अमेरिका, डेनमार्क, बेलायत, नेदरल्यान्ड, नर्वे लगायतमा ९० प्रतिशत डिजिटल र १० प्रतिशत मात्र नगदमा कारोबार हुन्छ ।

अर्थतन्त्रको समयचक्र माथि होइन, तल जानुपर्छ । तल्लो तहसम्म डिजिटललाई विकास गर्नुपर्छ । गाउँका हाटबजारमा किनबेचसमेत फोनको क्यूआरकोडमार्फत हुन आवश्यक छ । क्रेता र विक्रेता दुवैको पैसा, सुरक्षा र बचतका लागि डिजिटललाई आत्मसात् गर्नैपर्छ । डिजिटल भनेको एटीएम, कोर बैंकिङ सिस्टम र इन्टरनेट बैकिङ मात्र होइन । हाम्रो सोच नै डिजिटल हुनुपर्‍यो । डिजिटल भर्टिकल बनाइसकेपछि त्यसमा आन्तरिक रूपमा बलियो हुनुपर्छ । सबैभन्दा पहिला बाहिर आउनुभन्दा भित्र डिजिटल हुनुपर्‍यो ।

कागजको प्रयोग कसरी घटाउने, कागज कहाँ–कहाँ प्रयोग गरिन्छ र त्यसलाई कसरी डिजिटलमा रूपान्तरण गर्ने भन्ने विषयमा अध्ययन गरौं । बंगलादेश र श्रीलंकासहित विश्वका बैंकहरूले कसरी काम गरिरहेका छन् भन्ने हेरौं । छिमेकी मुलुक चीन डिजिटलमा विश्वकै अगुवा भएको छ । हामीले चिनियाँ बैंकबाट पनि धेरै सिक्न सक्छौं । नबिल बैंकले त्यसै गरी सिकिरहेको छ । पैसा सबैसँग छ, नबिलसँग राम्रो टिम छ । ३६ वर्षदेखि काम गरिरहनुभएका साथीहरू हामीसँग हुनुहुन्छ, नयाँ युवा साथीहरू पनि अहिले आउनुभएको छ । नयाँ र पुराना साथीहरू मिलेर नबिल डिजी बैंकमा जसरी काम भएको छ, यो निकै लोभलाग्दो छ । कोभिडपछि भ्याक्सिनको युग आउँदा भूकम्प भुलेजस्तै कोभिडलाई भुल्ने हो भने हामी फेरि पहिलाकै अवस्थामा पुग्न सक्छौं । यो समय अभ्यस्त हुने हो र हामी डिजिटलमा अभ्यस्त हुनपट्टि लागौं ।

(शाह नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

प्रकाशित : मंसिर १४, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?