कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ मा छठ

सामूहिक पूजा, भेला तथा मेला आयोजना नगर्न र संयम अपनाउन प्रहरी प्रशासनले गरेको आग्रहलाई गम्भीरतापूर्वक नलिए चाडबाड सकिएपछि हामी थप संकटमा पर्नेछौं ।
जितेन्द्र साह

विराटनगरका हाडजोर्नी रोग विशेषज्ञ एवं सामाजिक कार्यकर्ता डा. नवीनकुमार कर्णको परिवारले घरको छतमै पूजा गर्न मिल्ने सानो पोखरी निर्माण गरेर आठ वर्षदेखि सूर्य आराधनाको महापर्व छठ मनाइरहेको छ । प्राकृतिक जलाशयमा बढ्दो प्रदूषणले गर्दा उनले सपरिवार घरभित्रै पूजा विधि गर्न थालेका हुन् । घरभित्रै पर्व मनाउँदा पारिवारिक उमंगमा कुनै कमी नआएको उनी बताउँछन् ।

कोभिड–१९ मा छठ

‘छठमा पवित्रता एवं शुद्धताको निकै महत्त्व छ । केही वर्षयता खोला, नदी र नहर दूषित भएकाले स्वास्थ्य सुरक्षाको लागि घरभित्रै पूजा गर्ने निर्णय गर्‍यौं,’ कर्ण भन्छन्, ‘जथाभावी बालिने पटाका, डीजे र लाउड स्पिकरको आवाजले पनि घाटको माहोल पूजाका लागि उपयुक्त छैन ।’ बर्सेनि एकपटक बाह्य रूपले जलाशय र वरिपरि सफा गरेर चिटिक्क पारिए पनि व्रतालुको स्वास्थ्य एवं प्रसादको स्वच्छताका दृष्टिले अबको समयमा जलाशय किनारमा आराधना गर्नु व्यावहारिक नभएको उनी बताउँछन् । उनका अनुसार, पर्वको मर्मलाई कायम राख्दै समयअनुरूप परिमार्जित ढंगले धार्मिक विधि सम्पन्न गर्नु जरुरी भइसकेको छ ।

चिकित्सक कर्णको परिवार मात्र नभएर काठमाडौंदेखि विराटनगरसम्म देशभर यस्ता व्रतालुहरू छन् जसले पूर्ण आस्थाका साथ आफू बसेकै ठाउँबाट खुसीसाथ यो महापूजा सम्पन्न गर्छन् । उनीहरू अशिक्षित नभएर धर्मशास्त्रका समेत ज्ञाता, समाजका प्रबुद्ध वर्ग हुन् । शास्त्रले समेत मानवको शरीर र स्वास्थ्यलाई सबैभन्दा माथि राखेको छ । प्राकृतिक विपत् र महामारीमा मानव जीवनको रक्षा गर्दै अनुष्ठान सम्पन्न गर्न धर्मशास्त्रले भन्छ । यी आधारभूत कुरासमेत नबुझेको र बुझ्न नचाहेको एक जमातले अहिलेको विषम परिस्थितिमा समेत पहिलेजस्तै खुला रूपले छठ मनाउन पाउनुपर्ने माग गरिरहेको छ, जुन जुनसुकै स्वास्थ्य मापदण्डको पालन गरेर पनि सम्भव छैन । यस्तो हठबाट परिवार, समाज र देश नै जोखिममा पर्छ ।

कोभिड–१९ ले गर्दा हामी स्वास्थ्य, धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक कोणबाट महासंकटमा छौं । यो रोग सार्ने कोरोना भाइरस संक्रमणको मानव नै भरिया भएकाले ठूलो पर्वमध्येको दसैंअगाडि नै सरकारले सामूहिक पूजा, भेला र मेलामा रोक लगाएको हो । यो रोगको खोप र औषधि उपलब्ध भइनसकेकाले प्रहरी प्रशासनले संयम अपनाउन अनुरोध गरेको हो, जसलाई गम्भीरतापूर्वक नलिए चाडबाड सकिएपछि हामी थप संकटमा पर्नेछौं ।

यसपछि स्वास्थ्य र मानव क्षतिको सहज भर्पाई हुन्न । समाजमा प्रभाव र प्रभुत्व देखाउन खोज्ने दुई–चार जना अगुवाको हठले परिवार, समाज तथा देशलाई अपूरणीय क्षति हुने सम्भावना रहन्छ । रोकथामको नियन्त्रणमा सरकारबाट निकै कमी–कमजोरी भए पनि नागरिक समाजले आफ्नो कर्तव्य बिर्सन मिल्दैन । परिवार र छरछिमेक घाटमा भेला भएर छठ मनाउने जिद्दी त्याग्नैपर्छ । मुख्य चाडबाडमा संयम नराखेमा संक्रमण बढेर स्थिति अझ भयावह हुने स्वास्थ्यविज्ञहरूले चेतावनी दिइरहेका छन् । ‘भाइ, यसपालि आ–आफ्नै घरमै मनाउने है,’ दसैंअगावै विराटनगरका एक मान्यजनबाट मेसेन्जरमा आएको सन्देश थियो, ‘परिस्थिति सुध्रिएपछि अर्को वर्ष भरपूर रमाइलो गर्नुपर्छ ।’ हामीले सपरिवार उनकोमा टीका लगाउँदै आएका थियौं ।

उनको सन्देशले दुःखी बनाउनेभन्दा खुसी बनायो । अनि सचेत परिवारसँग आफ्नो सम्बन्ध रहेकामा गर्व लाग्यो । कर्मथलो विराटनगरदेखि २२ किमिपूर्वमा पर्ने मोरङको रंगेली बजार मेरो जन्मथलो एवं मावली घर हो । तर अघिल्ला वर्षहरूजस्तै ८० वर्षीय पिता र परिवारजनले चाडबाडमा घर आउनुपर्छ भनेर कर गरेका छैनन् । ‘म ठीक छु, भीडमा नजानू, राम्रोसँग कोठामै बस्नु, मनैले आशीर्वाद छ,’ वृद्ध पिताले यसो भन्दा मनै आनन्दित भयो । उहाँकै सल्लाह र मार्गदर्शनअनुरूप दसैं घरभित्रै मनायौं । अब तिहार र छठको आराधना पनि कोठाबाटै गरिरहेका छौं । हो, यस्तो अप्ठेरो समय आउला भनेर कसैले कल्पना गरेको थिएन । तर अब यथार्थलाई स्विकार्नैपर्छ । अढाई दशकअगाडि औपचारिक रूपले पत्रकारितामा प्रवेश गर्दा मेरा सुरुआती लेखनहरू दसैं, तिहार र छठजस्ता पर्वहरूकै बारेमा थिए । त्यसयता यी पर्वहरूका बारेमा निरन्तर लेखन जारी राखें । यो लामो अवधि आफ्नो परिवारबाट टाढा रहेर फरक थलो, मन्दिर, बजार तथा घाटमा भेटिने अपरिचित व्रतालुहरूसँग कुरा गरेर समाचार बनाउँदै र उनीहरूले गरेका आराधनाका तस्बिर खिच्दै बित्यो ।

चाडबाडको रिपोर्टिङबाट विश्राम दिँदै २०७७ देखि दसैं, तिहार र छठ परिवारजन, मित्र एवं शुभेच्छुकसँग हर्षोल्लासका साथ मनाउने योजना बनाएको थिएँ तर कोरोना भाइरसले गर्दा यो चाहनाले पूर्णता पाउन सकेन । मन खल्लो छ तर यो त विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिजन्य बन्देज हो जसलाई पालना गर्नुबाहेकको विकल्प छैन । एउटा सानो गल्तीले परिवार र मसँग प्रत्यक्ष जोडिएकाहरू जोखिममा पर्न सक्छन् र उनीहरूबाट अरू । झनै खुला जलाशय किनारमा मानवसागर उर्लिएर साँझ–बिहान मनाइने छठमा यो बन्देजको पालना उत्तिकै आवश्यक छ । धर्म–संस्कृतिको प्रदर्शन गर्ने समय होइन यो भनेर बेलैमा मनन गर्नुबाहेकको उपाय छैन ।

सबै चाडबाडजस्तै यो पर्वमा समेत सरकारको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालयले सामूहिक पूजा नगर्न अनुरोध गरेको हुनाले यसको पालना नागरिकको कर्तव्य हो । मानव जीवनको रक्षाभन्दा ठूलो र माथि कुनै पनि धर्म–संस्कृति एवं पर्व हुन सक्दैन ।

अस्पतालभर संक्रमितको लाम र आफन्त गुमाएकाहरूको पीडा हेर्न नचाहने हो भने चारदिने छठ पर्वका सम्पूर्ण विधि घरआँगनमै पूरा गर्ने अठोट गरौं, आफू बसेकै थलोबाट सूर्यलाई अर्घ्य दिऔं । पूजाआजासँगै रमाइलो गर्ने चाहना त्यागौं । अटेर गर्दा सारा परिवार र समाज अकल्पनीय समस्यामा पर्न सक्छ । बाँच्यौं भने यसबारे अर्को वर्ष सोचौंला ।

वातावरणीय प्रदूषण र स्वास्थ्य चुनौतीबीच फरक ढंगले छठ मनाएर सचेत नागरिकको धर्म पूरा गर्दा व्रतालुप्रति आदर बढ्छ । राजनीतिक एवं साम्प्रदायिकताको चस्माबाट हेर्दा हाम्रोसामु तेर्सिएको स्वास्थ्य समस्यालाई उपेक्षा गरिरहेका हुन्छौं जुन घातक हुन सक्छ । ‘जहाँबाट भए पनि सूर्यदेवकै आराधना त हो, बारीमै कृत्रिम पोखरी खनेर विधि गरौं न,’ दुई दशकअगाडि मेरी आमाले बुबासँग राखेको प्रस्ताव अझै सम्झिन्छु । घाट भनिने जलाशय किनारमा भीड बढ्दै गएपछि आमाले बुबासँग यो प्रस्ताव गर्नुभएको थियो । तर, परिवारका अन्य सदस्य र छरछिमेकले नमानेकाले उहाँको इच्छा त्यो बेला कार्यान्वयन हुन सकेन ।

आमाले संसार त्याग्नुभएको पनि डेढ दशक भइसक्यो । उहाँको ठाउँमा काकीले छठ परम्परालाई धान्दै आउनुभएको छ । हाम्रो परिवारले पनि घरकै छतमा सांकेतिक पोखरी बनाएर यसपालि छठ मनाउँदै छ । तराई–मधेसमा चर्चित गीत नै छ, ‘अगनामे पोखरी खुनाएब, छठी मैया औंती आयज ।’ आज छठी माता आउने भएकाले आँगनमै पोखरी खनेर भए पनि पूजा गरौं भन्ने यो गीतले पनि छठ जहाँसुकै मनाउँदा हुन्छ भन्ने सन्देश दिइरहेको छ । २०४७ को संविधान टेकेर स्वतन्त्र सञ्चार माध्यमहरूको स्थापनापछिको तीन दशकमा नेपाली समाचार माध्यमले निकै प्राथमिकताका साथ समेटेको पर्वमध्ये छठ पनि हो । यो पर्वको धार्मिक, सांस्कृतिक, लोकसांगीतिक, सामाजिक, समावेशी, एकता र समानताको सन्देश लगायतको हरेक पक्षका बारेमा लेखिएको र बोलिएको छ ।

दसैं तथा तिहार लगायतका अन्य पर्वजस्तै छठबारेका सामग्रीले इन्टरनेट भरिभराउ छ । छठलाई कसैले अब चिनाइराख्नुपर्ने वा प्रचारको आवश्यकता पनि छैन । पुरानाबाट नयाँ पुस्तामा स्वतःस्फूर्त रूपमा हस्तान्तरण हुँदै आएको हुनाले यो लोकपर्वको लोकप्रियता संसार रहुन्जेल कायम रहन्छ । पूजा गरिने ठाउँ परिवर्तन हुँदैमा केही फरक पर्दैन । व्रतालुसँगै सञ्चारकर्मी पनि संयमित हुन जरुरी छ । नागरिक समाजका अन्य वर्गझैं कोभिड–१९ बाट सञ्चारकर्मी र उनीहरूका परिवार संक्रमित हुने क्रम जारी छ । यो असहज र जटिल समय भएकाले धर्म तथा संस्कृतिको नाउँमा कुनै पनि किसिमले भीडलाई प्रोत्साहन नगरौं । भीडको पात्र नबनौं । यो महान् लोकपर्व आडम्बर प्रदर्शन गर्ने थलो पनि होइन । सादगीपूर्ण तरिकाले सरलतापूर्वक कम खर्चमा सबैले मनाउन सक्नु यसको विशेषता हो । छठको यो पक्षको रक्षा गरौं ।

प्रकाशित : कार्तिक ३०, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?