कांग्रेस पुनर्जीवनको मार्गचित्र- विचार - कान्तिपुर समाचार

कांग्रेस पुनर्जीवनको मार्गचित्र

कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ ।
डिला संग्रौला

सात दशकभन्दा लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसलाई अलग्गै राखेर नेपालको राजनीतिक र सामाजिक अध्ययन अपुरो हुन्छ । प्रतिपक्षमा रहेका बेला हुन लागेको पार्टी महाधिवेशनले नेपाली कांग्रेस पार्टी, देश र जनताको भविष्य निर्धारण गर्ने चुनौतीपूर्ण अभिभारा बोकेको छ ।

यो महाधिवेशनले पार्टीभित्रको व्यक्तिकेन्द्रित मतमतान्तरलाई निमिट्यान्न पार्दै समग्र पार्टी, समाज र देशका सामु उपस्थित चुनौतीलाई समाधान गर्ने सामर्थ्य राख्नुपर्छ । आजको आवश्यकता नेतृत्व चयन मात्र होइन, यसलाई लोकप्रिय पार्टी बनाउनु पनि हो । यसका लागि कांग्रेसको पुनर्जीवनको मार्गचित्र आवश्यक छ । कांग्रेसको मुख्य रोग हो– गुटबन्दी गर्नु, नीतिभन्दा नेतालाई महत्त्व दिनु, जनताको दैनिक समस्यालाई पर्याप्त ध्यान नदिनु, भ्रष्टाचार र बेथितिविरुद्ध सशक्त आवाज उठाउन नसक्नु, आत्मनिर्भर कार्यकर्ताको अभाव हुनु । नेपाली कांग्रेसको गौरव र गरिमा फर्काउन वैचारिक स्पष्टता, अवाञ्छित र अप्राकृतिक साँठगाँठलाई निरुत्साहन, नेता–कार्यकर्ताहरूमा ‘पार्टी बिग्रिए म पनि बिग्रिन्छु’ भन्ने भाव, नेताको सोझो गर्ने होइन पार्टी हितलाई प्रमुखता दिँदै नवीन सोच, संकल्प र प्रतिबद्धता लिनुपर्छ । कांग्रेस रूपान्तरणका लागि निम्न मार्गचित्रसहित अगाडि बढ्नुपर्छ–

स्पष्ट र प्रभावकारी नीति : कांग्रेसले २०१२ सालको वीरगन्ज महाधिवेशनदेखि नै समाजवादी अर्थनीति अँगालेको हो, नेपालको आधुनिक अर्थतन्त्रको अवधारणा र संरचनागत आधारशिला खडा गरेको हो । बीपी कोइरालाले उत्तरदायी शासनको धारणा अघि सार्दै ‘कोही पनि भोका, नाङ्गा वा निरक्षर नहोऊन्; देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराको अभाव नरहोस्’ भन्ने दूरगामी लक्ष्य तय गर्नुभएको थियो । यसैलाई आत्मसात् गर्दै कांग्रेसले हाल कोरोनाले संकुचन पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न स्पष्ट नीति अवलम्बन गरी कृषि, उद्योग, पर्यटन, जलस्रोतजस्ता क्षेत्रको समुचित विकासमा जोड दिनुपर्छ ।

चुस्तदुरुस्त संगठन : पार्टी संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउनु अर्को आवश्यकता हो । कुनै पनि राजनीतिक दलको निर्देशक सिद्धान्त मानिने राष्ट्रिय अखण्डता र एकता प्राप्त गर्न अख्तियार गरिने समग्र प्रक्रियागत स्वरूपलाई संगठन भनिन्छ, जसको एउटा अंग कांग्रेस हो । अनि कांग्रेसका अंगचाहिँ भ्रातृ र शुभेच्छुक संघसंगठन हुन् । मुलुकमा भएका सम्पूर्ण तह र तप्का, वर्ग र समुदायलाई परिचालन गर्ने क्षमता विकासका लागि संगठनको आवश्यकता पर्छ । नेतृत्वले भागबन्डाका आधारमा होइन, योग्य व्यक्तिलाई उपयुक्त ठाउँ दियो भने मात्र संगठन बलियो हुन्छ ।

भरोसायोग्य सक्षम नेतृत्व : पार्टीलाई नीति र विधिमा आधारित बनाएर अगाडि बढाउन भरोसायोग्य सक्षम नेतृत्वको आवश्यकता छ । विधिको ब्याडमा नीतिको बिरुवा उम्रिनुपर्छ । भागबन्डाकै आधारमा पार्टी सञ्चालन गर्दा असहमतिका स्वरहरू सतहमै पोखिएका छन् जसले गर्दा पार्टीभित्र वैमनस्य मौलाएको छ । पार्टीका होनहार र पुराना नेता–कार्यकर्ता ओझल पारिएका छन् । विधि र नीतिको अन्तरलाई मापन गर्न नेतृत्वमा ज्ञान, विवेक र दूरदर्शी सोचको आवश्यकता पर्छ । कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ ।

जनमुखी एजेन्डाको सशक्त उठान : समयसापेक्ष एजेन्डाहरूकै कारण जनता कुनै पनि पार्टीप्रति आकर्षित हुने हुन् । त्यसैले कांग्रेस विकासमुखी, विपन्नमुखी, जनमुखी एजेन्डाको उठान गर्दै ‘निमुखालाई न्याय, विपन्नलाई आय’ को समाजवादी आदर्शअनुरूप अगाडि बढ्नुपर्छ । हालैको मलबीउको अभाव होस् वा विदेशमा अलपत्र परेका नेपालीहरूको समस्या, पार्टीले समाधानका लागि सशक्त आवाज उठाउनुपर्छ । जनताका दैनिक समस्याबारे सडक र सदन तताउनुपर्छ । अबको पाँच वर्षभित्र कांग्रेसलाई नवजीवन दिने कृषि क्रान्ति, ऊर्जा विकास, पर्यटन विकास, औद्योगिक विकास, गुणस्तरीय शिक्षा, सडक सञ्जाल विस्तार, जलस्रोतको विकास, सुशासनद्वारा राष्ट्र निर्माण, खानेपानी, स्वास्थ्य र रोजगारीजस्ता क्षेत्रमा अग्रगामी कार्ययोजनासहित प्रस्तुत हुनुपर्छ ।

निरन्तर प्रशिक्षण : पार्टीभित्र प्रशिक्षण, लेखपढ, छलफल, रचनात्मक बहसलाई प्राथमिकता दिइरहनुपर्छ । प्रशिक्षणले नै कार्यकर्तालाई कुशल वक्ता, बहसशिल्पी र प्रतिपक्षको भूमिका सक्षमतापूर्वक निर्वाह गर्न सक्ने बनाउँछ । सही प्रशिक्षण हुन नसक्दा कार्यकर्ताको क्षमता विकास हुन पाएको छैन ।

प्रभावकारी सञ्चार : पार्टीलाई युगानुकूल परिवर्तन गर्न प्रभावकारी सञ्चारको आवश्यकता पर्छ । पार्टीको आन्तरिक र बाह्य जीवनमा सञ्चारको महत्त्वपूर्ण भूमिका हुन्छ । सञ्चारको प्रभावकारी व्यवस्थापन हुन नसक्दा पार्टीका धारणाहरू एवं शीर्ष नेतृत्वका अभिव्यक्तिहरू बेलाबखत विवादमा पर्ने गर्छन् ।

तटस्थ मतदाताकेन्द्रित कार्यक्रम : हरेक राजनीतिक दलमा दुई प्रकारका मतदाता हुन्छन्– पार्टीलाई सधैं मत दिइरहने अर्थात् वफादार र पार्टीको नीति हेरेर मात्र आकर्षित हुने अर्थात् तटस्थ । कांग्रेसले युवा, महिला, जनजाति, मधेसी, दलित, विभिन्न पेसा–वर्गका जनसमुदायलाई आकर्षित गर्न प्रभावकारी कार्यक्रम गरिरहनुपर्छ ।

मूल्याङ्कन र न्यायोचित व्यवस्थापन : गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई विधिवत् सामूहिक नेतृत्वका आधारमा अगाडि बढाउनुपर्छ । पार्टीमा प्रत्येक कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन गर्दै केन्द्रदेखि वडासम्मका सबै संरचनामा उनीहरूको न्यायोचित व्यवस्थापन हुनुपर्छ । निर्वाचनमा टिकट दिँदा, पार्टीभित्रको संगठनको जिम्मेवारी दिँदा एवं अन्य ठाउँमा राजनीतिक नियुक्ति दिँदा मूल्याङ्कन पद्धति अपनाउनुपर्छ ।

सीमान्तीकृत वर्गसँग निकटता : आर्थिक, सामाजिक, लैंगिक, शैक्षिक हिसाबले पछाडि पारिएका र राज्यको मूल प्रवाहमा आउन नसकेका सीमान्तकृत, अपाङ्ग र गरिब जनतासँग निकट सम्बन्ध हुन जरुरी छ । व्यापारी, पुँजीपति र दलालसँग साँठगाँठ भयो भन्ने आरोपबाट कांग्रेस मुक्त हुनुपर्छ ।

चुस्त व्यवस्थापन : अहिलेको युग व्यवस्थापनको युग हो तर कांग्रेसमा व्यवस्थापकीय कमजोरी छ । पार्टीको नियमित कार्य सञ्चालन गर्न, निरन्तर ढंगले गतिविधि सञ्चालन गर्न चुस्त व्यवस्थापन चाहिन्छ ।

राम्रो कामको प्रचार : नेपाली कांग्रेस लामो समय सत्तामा रहेको पार्टी हो । यो मुलुकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक–सामाजिक संरचनाको विकास कांग्रेस सरकारकै पालामा भएको हो । तर त्यसको समयोचित प्रचार–प्रसार हुन सकेको छैन । सरकारमा रहेका बेला आफूले गरेका राम्रा कामको प्रचार नगर्ने, सधैं नकारात्मक टीकाटिप्पणी गर्ने, पार्टी अनुशासनविरुद्ध काम गर्नेलाई कारबाही नगर्ने शैलीलाई तिलाञ्जली दिनुपर्छ ।

भ्रातृ र शुभेच्छुक संस्थाको परिचालन : भ्रातृ र शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड र संगठनका आधारशिला हुन् । यिनीहरूको क्रियाशीलता, सशक्तता र मजबुतीबिना पार्टी मजबुत हुन सक्दैन । यिनलाई चलायनमान बनाउन विशेष कार्यनीति ल्याउनुपर्छ, विधानअनुसार क्रियाकलाप गर्न र समयमै अधिवेशन गर्न निर्देशन दिनुपर्छ ।

प्रकाशित : कार्तिक २०, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा महिला

डिला संग्रौला

सात दशकभन्दा लामो समयदेखि नै महत्त्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व लिने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ । अनेकौं आरोह–अवरोह पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा कांग्रेस प्रतिपक्षको भूमिकामा छ । अहिले राष्ट्रसामु थुप्रै चुनौती छन् ।

एकातर्फ कोरोनाले समाजलाई भयभीत र त्रसित बनाएको छ, अर्कातर्फ थुप्रै आशा र अपेक्षालाई सरकारले सम्बोधन गर्न नसक्दा जनता मर्माहित भएका छन् । जनता प्रतिपक्षको भूमिकाबाट पनि सन्तुष्ट छैनन् । त्यसैले अबको महाधिवेशनबाट कांग्रेसको सुनौलो भविष्य निर्धारण गर्ने चुनौतीको अभिभारा बोक्ने नेतृत्व ल्याउनुपर्छ । अबको महाधिवेशनमा महिलाले प्रतिनिधित्व मात्रै होइन, नेतृत्व पनि पाउनुपर्छ ।

महिलाहरू घर, समाज र राष्ट्रका आधा हिस्सा हुन् । पूर्वीय दर्शनले भन्छ— जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ ईश्वर पनि खुशी हुन्छन् । तर, समाज विकासको चक्रमा पुरुषसरह महिलाको सक्रियता बढ्न सकेन । पितृसत्तात्मक सोचले गर्दा महिला अझै नेतृत्वदायी तहमा पुग्न सकेका छैनन् । त्यसैले राज्यको हरेक निकाय र तहमा महिलाको सहभागिता बढाउनुपर्छ । किनकि महिला–पुरुष समविकासबाटै राष्ट्र निर्माण हुन सक्छ । निर्णायक तहमा महिलाको अर्थपूर्ण नेतृत्व नभएकाले राष्ट्र रूपान्तरण प्रक्रियामा बाधा–अड्चन देखा परिरहेका छन् । विश्वव्यापी शासन प्रणालीमा कुल जनसंख्याको लगभग आधा महिला भए पनि शासन पद्धतिका विभिन्न तहमा उनीहरूको नेतृत्व निकै कम देखिन्छ । लोकतन्त्रको पर्यायवाची मानिने नेपाली कांग्रेसको अबको महाधिवेशन अपवाद बन्नुपर्छ ।

कांग्रेसमा महिला नेतृत्वको अवस्था

मंगलादेवी सिंह संस्थापक अध्यक्ष हुँदै २००४ साउन २४ मा स्थापित भएको नेपाल महिला संघले ७३ वर्ष पूरा गरिसकेको छ । नेपाली कांग्रेससँगै जन्मेको महिला आन्दोलन प्रजातन्त्र प्राप्ति र महिला अधिकारका लागि थियो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लडाइँमा पनि महिलाहरू पुरुषसरह अग्रपंक्तिमा होमिए । नेपाली कांग्रेसमा नेतृत्व तहमा जाने अवसर पाएका महिलाहरूले महत्त्वपूर्ण भूमिका खेले । द्वारिकादेवी चन्द ठकुरानीले स्वास्थ्य सहायक मन्त्रीको, शैलजा आचार्यले उपप्रधानमन्त्री तथा उपसभापतिको, सुजाता कोइरालाले उपप्रधानमन्त्रीको, चित्रलेखा यादवले उपसभामुख तथा कोषाध्यक्षको र सीतादेवी यादवले कोषाध्यक्षको भूमिका निर्वाह गरे । त्यसपछिका महिला नेताहरूले मन्त्रिपरिषद्मा जाने अवसर पाए पनि कांग्रेसको नेतृत्व तहमा जिम्मेवारी पाएका छैनन् ।

कांग्रेसमा समावेशी प्रतिनिधित्व

नेपाली कांग्रेसको अहिलेको कार्य समितिमा समावेशिताको मर्म अनुसारको प्रतिनिधित्व देखिँदैन । केन्द्रीय कार्य समितिमा २० प्रतिशत महिलाको प्रतिनिधित्व देखिन्छ भने जिल्ला तहमा २४ प्रतिशत मात्र । राजनीतिमा महिला सहभागिताका दृष्टिले नेपाल दुनियाँमै छत्तीसौं स्थानमा पर्दछ । एकतिहाइ महिला सहभागिता अन्य ३५ देशमा मात्र छ । नेपालको संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षसहित महिलाका लागि व्यवस्थापन गरेको छ । तर, त्यो अनुरूप नेपाली कांग्रेसको विधानमा महिलालाई नेतृत्वमा पुर्‍याउन आरक्षणको व्यवस्था छैन ।

संघीय संसद्‌मा ३३ प्रतिशत, प्रदेशमा ३४ प्रतिशत, स्थानीय तहमा ४१ प्रतिशत महिला नीतिनिर्माण गर्ने हैसियतमा पुगे पनि प्रत्यक्षमा टिकट नदिई समानुपातिकमा मात्र लैजाने, ठूला मन्त्रालयको जिम्मा नदिने, उपाध्यक्षमा मात्र सीमित राख्ने प्रवृत्तिले महिला नेतृत्व अगाडि आउन सकेको छैन ।

कांग्रेस विधानमा महिला

नेपाली कांग्रेसको संशोधित विधानमा आठ तहका संरचना छन् । केन्द्रीय कार्य समिति १, प्रदेश कार्य समिति ७, जिल्ला कार्य समिति ७७, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति १६५, प्रदेशसभा क्षेत्रीय कार्य समिति ३३०, गाउँ/नगर/उप र महानगर कार्य समिति ७५३ र वडा कार्य समिति ६,७४३ एवं टोल कार्य समिति सबैमा महिलाको एकतिहाइ प्रतिनिधित्वको व्यवस्था गरिएको छ । तर संविधानको मूल मर्म अनुरूप पदाधिकारीमा आरक्षण गरिएको छैन । कार्य सम्पादन समितिमा महिलाको प्रतिनिधित्वको व्यवस्था छैन । केवल केन्द्रीय कार्य समितिमा आठ वटा क्लस्टरमा एक महिला सहमहामन्त्रीको व्यवस्था छ । त्यसैले चौधौं महाधिवेशनमा पनि महिलाहरू नेतृत्वमा पुग्ने होइन कि, प्रतिनिधित्वमा मात्र सीमित रहने सम्भावना देखिन्छ । महिला नेताहरू अब खुला प्रतिस्पर्धाबाट पछाडि हट्न हुँदैन ।

महिलामा क्षमता, योग्यता, दक्षता सबै छ, तर अवसर छैन । कुनै पनि नेताको छत्रछाया नभए आफ्नो राजनीति सकिन्छ भन्ने मानसिकताबाट ग्रस्त राजनीति महिला नेताले अब त्याग्नैपर्दछ । महिलाको मुद्दामा महिला नेताहरू बृहत्तर राष्ट्रिय हितमा उभिनुपर्दछ भने, पार्टीभित्र पनि समान अवसर, महिलामैत्री नीतिनिर्माणका लागि अहं भूमिका खेल्नुपर्दछ ।

नेतृत्व तहमा महिला कसरी ?

संविधानमा लैंगिक विभेदको अन्त्य गर्दै राज्यका सबै निकायमा महिलाको समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था छ । तर, राजनीतिक दल एवं सरकारले त्यसको कार्यान्वयन गर्न सकेका छैनन् । त्यसैले राज्यको हरेक निकायको नेतृत्व तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउँदै ५० प्रतिशतको लक्ष्य राखी अगाडि बढ्नुपर्छ । पार्टीको हरेक संरचनामा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्वका साथै नेतृत्वको पनि व्यवस्थापन गर्नुपर्छ । हरेक राजनीतिक दल एवं राज्यको नीति महिलामैत्री हुनुपर्छ । पार्टीमा जिम्मेवारी दिँदा वा राजनीतिक नियुक्ति गर्दा महिलालाई विशेष प्राथमिकता दिनुपर्छ । राज्यले महिलालाई अध्ययन, सीप, विकास, रोजगारी प्रवर्द्धन जस्ता कार्यहरूमा निःशुल्क एवं अनिवार्य रूपमा सहभागी गराउनुपर्छ । स्रोतसाधनमा महिलाको स्वामित्व नियन्त्रण र उपभोगमा महिलाको समान अधिकारको सुनिश्चिता गर्नुपर्छ । महिला तथा बालबालिकामाथि हिंसा एवं बलात्कारको न्यूनीकरणका लागि द्रुत न्याय प्रणालीको व्यवस्था हुनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिलाका पक्षमा गरिएका सन्धि–सम्झौताको अविलम्ब कार्यान्वयन हुनुपर्दछ ।

अन्त्यमा, नेपाली कांग्रेसमा जति पुरुष नेताको आवश्यकता छ, त्यति नै महिला नेतृत्वको खाँचो छ । राजनीतिमा महिला–पुरुष सबैको समान पहुँच र समान अवसर आजको आवश्यकता हो । पार्टीभित्र महिलालाई संख्यात्मक रूपमा उपस्थिति गराएर मात्र पुग्दैन, गुणात्मक र अर्थपूर्ण नेतृत्व चाहिन्छ । राजनीति सामाजिक चेतनाकै प्रतिविम्ब हो । राजनीति राज्यको मूल नीति भए पनि सामाजिक, चेतना र संस्कृति त्यसको जरो हो । नेपाली समाजझैं पार्टीहरू पनि पितृसत्तात्मक चेतनाबाटै परिचालित छन् । महिला स्वयंले हाँकेको पार्टीको राजनीतिले त्यसको जरो हल्लाउन र उखेल्न सक्छ । त्यसैले कांग्रेसको आगामी महाधिवेशनमा महिलालाई प्रतिनिधित्व मात्र होइन, नेतृत्व पनि चाहिन्छ ।

प्रकाशित : आश्विन १४, २०७७ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×