वैकल्पिक सिकाइको ‘क्लिनिक मोडेल’- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैकल्पिक सिकाइको ‘क्लिनिक मोडेल’

अबको शिक्षण सिकाइ एक जना विद्यार्थीलाई एक जना शिक्षकले सहजीकरण गर्ने पद्धतिमा नजोडी सबैलाई सिकाइको पहुँचमा पुर्‍याउन असम्भवजस्तै देखिएको छ । 
देवीराम आचार्य

विद्यालय शिक्षामा वैकल्पिक सिकाइका माध्यमका रूपमा खास गरी रेडियो, टीभी र अनलाइनलाई प्रयोग गरिएको छ । केही विद्यालयले घरदैलो र सिकाइ केन्द्रको अवधारणालाई पनि कार्यान्वयन गरेका छन् ।

पछिल्लो समयमा वैकल्पिक सिकाइ अपेक्षित प्रभावकारी नभएको र यसबाट सबै बालबालिकालाई समेट्न नसकिएपछि भौतिक रूपमै विद्यालय खोलेर पठनपाठन सुरु गर्न खोजियो । धेरै पालिकाहरूले औपचारिक रूपमै विद्यालय खोल्ने निर्णय गरे र त्यसका लागि शिक्षकहरू पनि तयार भए । तर बढ्दो कोभिड संक्रमणका कारण खोलिएका विद्यालयको पठनपाठन बन्द हुँदै गएको छ र विद्यालय खुल्ने समय अझै अनिश्चित हुँदै छ ।

हाल प्रयोगमा ल्याइएका वैकल्पिक विधिहरूबाट सबै बालबालिकालाई समेट्न नसकिने र भौतिक रूपमा विद्यालय खोलेर पढाउन पनि नसकिने परिस्थति सिर्जना भएको छ । कोभिड संक्रमणको अनिश्चिततामा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिनु जरुरी छ र त्यसका लागि एउटा विकल्प क्लिनिक मोडेल (वन टु वन सिकाइ सहजीकरण) हो । अबको शिक्षण सिकाइ एक जना विद्यार्थीलाई एक जना शिक्षकले सहजीकरण गर्ने पद्धतिमा नजोडी सबैलाई सिकाइको पहुँचमा पुर्‍याउन असम्भवजस्तै देखिएको छ ।

क्लिनिक मोडेलमा शिक्षकको भूमिका क्लिनिकमा हुने डाक्टरको जस्तै हुन्छ । जसरी डाक्टरहरू क्लिनिकमा तोकिएको समयमा बिरामी जाँच गर्छन् त्यसै गरी शिक्षकले विद्यार्थीलाई तोकिएको समय र स्थानमा भेटेर सिकाइमा सहयोग गर्छन् । यसका लागि शिक्षकहरू विद्यालय वा कुनै तोकिएको सिकाइ केन्द्रमा वा कुनै खुला ठाउँहरूमा तोकिएको समयमा उपस्थित हुन्छन् । कुन स्थानमा कुन विद्यार्थी कहिले र कति बेला उपस्थित हुने भन्ने स्पष्ट योजना विद्यालय र शिक्षकसँग हुनेछ र त्यसको जानकारी विद्यार्थी र अभिभावकलाई पनि हुनेछ । विद्यार्थीलाई हरेक पटकको सहजीकरणमा दिने काम र गर्नुपर्ने अन्य कामका लागि मेडिकल कार्डजस्तै हरेक विद्यार्थीको एउटा सिकाइ सहजीकरण कार्ड हुनेछ । विद्यार्थीलाई तोकिएको दिन र समयअनुसार फरकफरक कक्षा र विषयका शिक्षकले भेट्नेछन् । यसरी भेट्दा शिक्षकले विद्यार्थीलाई दिने काम (पाठ पढ्ने, अभ्यास गर्ने, लेख्ने, परियोजना कार्य गर्ने) दिनेछन् भने विद्यार्थीले ती काम कसरी गर्ने र के गर्ने भन्ने स्पष्ट भएर घर फर्कनेछन् । अर्को पटक शिक्षकलाई कहिले र कहाँ भेट्ने भन्ने पनि निश्चित हुन्छ । अर्को पटक शिक्षकलाई भेट्दा अघिल्लो पटकका कामहरू बुझाउने, ती काम गर्न भएका समस्या बताउने र त्यसको समाधान थाहा पाउने र फेरि अर्को काम लिने हुनेछ । यसरी क्रमशः पालोअनुसार सबै कक्षाका सबै विषय शिक्षकले तोकिएको स्थानबाट विद्यार्थीलाई सहयोग गर्नेछन् । यसमा ध्यान पुर्‍याउन पर्ने पक्ष भनेको एकपटक एक विद्यार्थीले मात्र शिक्षकलाई भेट गर्नेछन् । यसरी भेट्दा भौतिक दूरी कायम गरी अनिवार्य रूपमा मास्क लगाइएको हुनेछ । तोकिएका केन्द्र वा विद्यालयमा हात धुने साबुनपानीको व्यवस्था हुनेछ । अन्य वैकल्पिक विधिमा नजोडिएका विद्यार्थीका लागि सातामा कम्तीमा दुईपटक र अन्य विधिमा पनि जोडिएका विद्यार्थीका लागि कम्तीमा एकपटक यस्तो शिक्षकसँग भेट गर्नुपर्ने हुन्छ ।

यो मोडेलसँगै हाल चलिरहेका रेडियो, टेलिभिजन र अनलाइन विधिलाई पनि निरन्तर रूपमा लैजान सकियो भने यसको प्रभावकारिता बढ्न सक्छ । विद्यार्थीलाई विद्यालयका कक्षाकोठामा राखेर समूह शिक्षण गरिनेछैन । जो विद्यार्थीले रेडियो, टीभीमा पाठ सुनेका/हेरेका छन् उनीहरूलाई यसरी भेट्ने दिन र दिने काम फरक हुनेछ भने जो रेडियो, टिभी अनलाइन केहीमा पनि छैनन् उनीहरूका लागि सहयोग गर्ने पद्धति फरक हुनेछ । तर विद्यालय र शिक्षकले कुन विद्यार्थीले कुन विधिबाट सिकिरहेको छ भन्ने जानकारी राखेर सोही अनुसार सिकाइ सहजीकरण गर्नेछन् । त्यसै गरी घरमा वा टोल, समुदायमा अरू व्यक्तिहरूबाट पनि उनीहरूले सहयोग लिन सक्छन् वा सक्दैनन् भन्ने अभिलेख बनाउने र सहयोग दिन सक्ने व्यक्तिहरूलाई पनि विद्यालयले परिचालन गर्न सक्छन् । रेडियो, टीभी र अनलाइनजस्ता अन्य विधिमा समावेश हुन नसकेका बालबालिकालाई समावेश गराउन सकिन्छ ।

टेलिकमको सीयूजी मोबाइल सिमकार्ड सबै शिक्षकलाई उपलब्ध गराउने र शिक्षकहरूले पालैपालो सबै अभिभावकलाई फोन गरेर तथा म्यासेजहरू पठाएर विद्यार्थीको नियमित अनुगमन गर्न सक्छन् । शिक्षकहरूलाई मास्क, सेनिटाइजर, साबुन तथा अन्य स्वास्थ्य सावधानीका लागि पालिकाहरूले सहयोग र समन्वय गर्नेछन् । यसरी सिकाइ सहजीकरण गर्दा साना कक्षाका विद्यार्थीले शिक्षकलाई भेट्दा अभिभावकसहित सँगै भेट गर्नेछन् । यो क्लिनिक मोडेललाई सिकाइका अन्य वैकल्पिक मोडेलहरूसँगै प्रयोग गर्दा विद्यार्थी र शिक्षकको प्रत्यक्ष भेट हुने, सिकाइका कठिनाइ थाहा हुने, सिकाइमा सहजीकरण गर्न सकिने र सिकाइको अनुगमन पनि हुने अवस्था रहन्छ भने त्यसपछिका दिनमा रेडियो, अनलाइन वा अन्य कुन विधिले धेरै बालबालिका समेट्न सकिन्छ भन्ने जानकारी पनि हुन्छ । शिक्षकको तयारी र यसका लागि योजना बनाउने काम महत्त्वपूर्ण हुन्छ ।

पाठ्यवस्तु समायोजन ढाँचाले तोकेअनुसार विषयवस्तुमा सघाउन शिक्षकले व्यक्तिगत रूपमै विद्यार्थीलाई सहयोग गर्न सक्छन् । यसलाई अन्य विधिसँगै जोडेर प्रयोग गर्दा अन्य विधि प्रभावकारी हुने र सिकाइलाई निरन्तरता दिँदै प्रभावकारी शिक्षण गर्न सकिन्छ । यो विधि प्रयोग गर्दा विद्यालयका जम्मा विद्यार्थी, जम्मा शिक्षक र विद्यालयको सेवाक्षेत्रका आधारमा योजना तय गर्नुपर्छ । एकएक जना गरी शिक्षक विद्यार्थी भेट गर्दा जोखिम पनि कम हुने र सिकाइ प्रभावकारी हुनेछ । स्थान–विशेष, परिवेशअनुकूल प्रयासहरू गर्दै जाँदा समस्या पत्ता लाग्नेछन् र समस्या समाधान गर्दै अगाडि बढ्दा सफल हुने सम्भावना रहन्छ । सामान्य अवस्थामै दैनिक छ घण्टा विद्यालय–समय थियो । उक्त छ घण्टामध्ये एक घण्टा अन्य क्रियाकलापमा खर्चिएर बाँकी रहने पाँच घण्टामा एक शिक्षकले प्रत्येक दिन २० जना विद्यार्थीलाई १५ मिनेटका दरले सहजीकरण गर्न सक्छन् ।

विद्यालयमा सबै शिक्षकले सहकार्यात्मक रूपमा एक साता शैक्षणिक योजनाहरू तयार गरेर हरेक विद्यार्थीका लागि व्यक्तिगत शिक्षण योजना बनाई सहजीकरण गर्न स्थानीय स्तरमा पालिकाहरूले आवश्यक बजेट र समन्वयकारी भूमिका निर्वाह गर्नु आवश्यक हुन्छ । संघीय सरकारले निर्धारण गरेका पाँचवटा विधिबाट मात्र सिकाइ सुनिश्चित हुन सकेको छैन । स्थानीय सरकारहरूले परिवेश अनुकूलका अन्य विधिको खोजी गर्नु जरुरी छ ।

शिक्षक–विद्यार्थी प्रत्यक्ष रूपमा भेट गरेर तथा शिक्षकले विद्यार्थीको नियमित अनुगमन नगरी वैकल्पिक विधिबाट हुने स्वनिर्देशित सिकाइ प्रभावकारी हुन सकेको छैन । कति बालबालिका वैकल्पिक शिक्षाको पहुँचमा समेटिएका छन् भन्ने विश्वसनीय तथ्यांकको अभाव छ । सिकाइ सहजीकरण निर्देशिकाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक (इन्टरनेट सुविधा, उपकरणमा कर छुट, रेडियो कार्यक्रमका लागि बजेट, शिक्षक क्षमता विकास) पूर्वाधार, विधि र प्रक्रिया विकास अपेक्षित हुन सकेको छैन । ‘वन साइज फिट्स अल’का रूपमा निर्देशिकाहरू त जारी भएका छन् तर ती कतिपय सन्दर्भमा अनुकूल हुन सकेका छैनन् ।

रेडियो र टीभी एकतर्फी सञ्चारमाध्यम हुन् जसको प्रभावकारिता न्यून नै हुन्छ तर तिनीहरूलाई पनि दोहोरो सञ्चार हुने गरी (प्रश्नोत्तर शैलीमा) विकसित गर्ने, रुचिकर बनाउनेतर्फ प्रयास गर्नु आवश्यक छ । रेडियो, टीभी, इन्टरनेटको पहुँच विस्तार गर्नेतर्फ पनि विशेष ध्यान दिनु आवश्यक छ । स्थानीय स्तरमा अधिकांश रेडियोका कार्यक्रम अभिभावकले समय दिन नभ्याउने समयमा बजाइने गरेको छ । यसले गर्दा अभिभावकहरू विद्यार्थीको सिकाइमा सहभागी हुन सकिरहेका छैनन् । सबैभन्दा धेरैको पहुँचमा भएको रेडियोप्रति बालबालिका आकर्षित हुन सकेका छैनन् । विद्यालय खोल्ने समय अनिश्चित हुँदै जाँदा थप विकल्प खोजी गर्दै प्रयोगमा ल्याइएका विधिमा पनि विभिन्न पूरक पद्धति थप गरेर प्रभावकारी बनाउँदै लैजानुपर्नेछ ।

प्रकाशित : कार्तिक १७, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड : उच्च शिक्षा र परीक्षा

अझै पनि प्रश्नपत्रको टाउकामा वर्ष फेरेर पुरानै प्रश्न सोध्ने, खास प्राध्यापकले आफ्ना किताबमा राखेको सेटबाट र सेमेस्टरमा सोधिएको चार अंकभारको प्रश्नलाई वार्षिक परीक्षामा दस अंकभारको बनाएर सोध्ने प्रचलनको निरन्तरता खोजिरहने ?
देवीराम आचार्य

कोभिड–१९ का कारण प्रायः संसारभर शैक्षिक संस्थाहरूमा नियमित पठनपाठन अवरुद्ध छ । विद्यार्थीको सिकाइमा अवरोध सिर्जना भएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि र केही कलेज तथा विश्वविद्यालयले अनलाइन कक्षाहरू सुरु गरेपछि मात्र सबैभन्दा धेरै विद्यार्थी (७८ प्रतिशत) भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षाबारे छलफल सुरु गर्‍यो ।

पाँच महिना बित्दा पनि सबै विद्यार्थीलाई अनलाइनमा जोड्न नसकेपछि त्रिविले सम्पर्कमा आउन सूचना निकालेको छ । उच्च शिक्षाको सबैभन्दा ठूलो भार त्रिविसँग भएकाले उच्च शिक्षा भन्नासाथ धेरैले उसैलाई बुझ्छौं र त्यो धेरै हदसम्म स्वीकार्य पनि छ । साथै नयाँ खुलेका धेरै विश्वविद्यालयमा पनि त्रिविकै पाठ्यक्रम, पठनपाठन र परीक्षाका मोडलहरू लागू छन् । अधिकांश विश्वविद्यालयले आफ्नै अनलाइन सिकाइ पद्धति विकास गर्न नसक्दा लाखौंको सफ्टवेयर किन्नुपरेको छ ।

यति बेला अनलाइन, भर्चुअल, सिङ्क्रोनस, असिङ्क्रोनस, डिस्टेन्स, ब्लेन्डेडजस्ता जार्गनयुक्त शब्दहरूको प्रचलन बढिरहेको छ । कसरी पढाउने र पढ्ने भन्ने सम्बन्धमा विभिन्न परिचर्चा भइरहे पनि सिकाइको मूल्यांकन कसरी गर्ने भन्नेबारे त्यति चर्चा र चासो देखिएको छैन । बन्दाबन्दी खुकुलो हुँदै गएपछि त्रिविसहित केही विश्वविद्यालयले रोकिएका परीक्षा गर्नेसम्बन्धी सूचनाहरू प्रकाशन गर्दै थिए । ती सूचनामा विद्यार्थीलाई अब परीक्षा हुने भएकाले तयारी अवस्थामा रहन भनिरहँदा ‘परिस्थिति सहज भएमा मात्र’ भनेर उल्लेख गरिएको थियो । फेरि संक्रमण बढ्दै गएको र पुनः बन्दाबन्दी हुन सक्ने सम्भावनाबीच फेरि परीक्षा नहुने सूचना प्रकाशन भयो र हालै मात्र अघिल्लो सेमेस्टरको परीक्षा नलिई अनलाइनबाट अर्को सेमेस्टरको पठनपाठन सञ्चालन गर्ने सूचना आएको छ । अनलाइनबाट नियमित पठनपाठन गर्न मिल्ने तर परीक्षा लिन नमिलेको अवस्था देखिँदै छ । यसले हाम्रा धेरै विश्वविद्यालय परीक्षाका वैकल्पिक विधि प्रयोग गर्न इच्छुक छैनन् र तिनलाई पुरानै सात प्रश्नको तीनघण्टे परीक्षा नभई नहुने भएको देखाउँछ । विकल्प खोजीमा होइन, कतिखेर परीक्षा हुन्छ र फेरि हुँदैन है भन्ने सूचना निकाल्नेमा व्यस्त छन् । कतिपय विश्वविद्यालय त अर्कैको सूचना प्रकाशन गरेर बसेका छन् ।

परीक्षाका सम्बन्धमा वैकल्पिक विधि (अनलाइन, शिक्षकलाई जिम्मा दिने, मौखिक परीक्षा, परियोजना कार्य, पेपर वर्क आदि) को प्रयोग गर्नतर्फभन्दा परीक्षा नै नगरी अर्को सेमेस्टर पढ्दै गर भन्नुपरेको छ । अहिले फेरि दसैंअगाडि परीक्षा गर्ने भन्ने समाचार त आएका छन्, तर पाँच महिनासम्म भरपर्दो विकल्प नआएकाले परीक्षा हुन्छ भन्नेमा शंकै छ ।

इ–लर्निङसँगै इ–एसेसमेन्टको विषय गौण छ । वैकल्पिक सिकाइसँग वैकल्पिक मूल्यांकनको विषय गौण छ । जबकि यतिखेर हाम्रा विश्वविद्यालयहरूले परीक्षाका थुप्रै वैकल्पिक तरिका प्रयोग गर्न सुरु गरेको हुनुपर्थ्यो । यसले विश्वविद्यालयहरू ज्ञान, सीप र प्रविधिमा कुन हैसियतका छन् भन्ने प्रस्ट्याएको छ । ज्ञान, सीप र प्रविधि उत्पादन गर्नुपर्ने विश्वविद्यालयहरू, केही अपवादबाहेक, अरूले विकास गरेका प्रविधिको प्रयोगसम्म गर्न नसक्ने देखिएका छन् ।

विश्वविद्यालयहरू परीक्षाबारे यति धेरै अलमलमा रहँदा र कोरोना संक्रमण बढिरहँदा विश्वविद्यालयको परीक्षा अझै अनिश्चित नै देखिन्छ । अब पनि विश्वविद्यालयहरू अवस्था सहज होला र परीक्षा गरौंला भनेर बसिरहने कि, अध्ययन, अनुसन्धान र नवप्रवर्तनमा लाग्ने ? अनलाइनबाट पठनपाठन गरिरहँदा परीक्षा गर्न चाहिँ किन नमिल्ने भन्ने प्रश्न पनि उब्जिएको छ ।

इ–एसेसमेन्टका थुप्रै टुल्स, एप्लिकेसन तथा सफ्टवेयरहरू उपलब्ध छन् । तीबाटै परीक्षा लिन वा आफ्ना लागि उपयुक्त कुनै सफ्टवेयर तथा टुल्स आफैंले विकास गर्न पनि सकिएला ! अब पनि चुपै लागिरहने हो भने हाम्रा विश्वविद्यालयबाट नवप्रवर्तन र ज्ञान निर्माणको आशा गर्न सकिन्न । विषयगत र संकायगत रूपमा परीक्षाका ढाँचाहरू फरकफरक गर्न सकिन्छ । अन्तिम र अन्य वर्ष वा सेमेस्टरको परीक्षाको रणनीति फरक गर्न सकिन्छ । परीक्षा केन्द्रबारे फरक रणनीति अपनाउन सकिन्छ । हामीलाई पढ्ने समय पुग्दैन, परीक्षा सारिदेऊ भनेर आन्दोलन गर्ने र त्यसकै आधारमा परीक्षा सार्ने प्रचलनको अन्त्य गर्न अब ढिला भइसकेको छ । हामीले अझै प्रश्नपत्रको टाउकामा वर्ष फेरेर पुरानै प्रश्न सोध्ने, खास प्राध्यापकले आफ्ना किताबमा राखेको सेटबाट र सेमेस्टरमा सोधिएको चार अंकभारको प्रश्नलाई वार्षिक परीक्षामा दस अंकभारको बनाएर सोध्ने प्रचलनको निरन्तरता खोजिरहने ? हाम्रो परीक्षा पद्धतिमा सुधार गर्न धेरै ढिला भइसकेको होइन र ?

यो जटिल परिस्थितिमा अन्तिम परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित क्याम्पस वा शिक्षकलाई दिन पनि सकिन्छ । परीक्षा सञ्चालनमा विश्वास नगर्ने र पछि त्यही शिक्षकलाई कोड राखेको कापी परीक्षणमा विश्वास गर्ने हाम्रो पद्धतिमा परिवर्तन जरुरी छ । हामी तीनघण्टे लिखित परीक्षाको विकल्प सोच्नै नसक्ने भएको त होइन नि ? आवश्यक भए क्षमता विकास गराऔं तर अब शिक्षकलाई विश्वास नगर्ने अवस्था अन्त्य गर्दै तीनघण्टे परीक्षा प्रणाली बन्द गरौं । यसले उच्च शिक्षालाई सुधार गर्न पक्कै सघाउनेछ ।

कोभिडको सन्दर्भ विश्वविद्यालयका लागि पाठ्यक्रम, शिक्षण सिकाइ र परीक्षा प्रणालीमा नवप्रवर्तनको थालनी गर्ने अवसर थियो र छ, तर यसलाई अवसरका रूपमा सदुपयोग गर्न सकिएको छैन । यो त्रिविको मात्र नभई उच्च शिक्षाकै परीक्षालाई विकेन्द्रीकरण गर्ने र ढाँचा परिवर्तन गर्ने अवसर पनि हो । प्रविधिमा भइरहेको विकास र नवप्रवर्तनलाई प्रयोग नगरी परम्पराको निरन्तरता मात्र खोज्नु हुन्न । परीक्षालाई सधैं नियन्त्रणमा राख्नुभन्दा शिक्षण सिकाइ अनि प्राध्यापक र पठनपाठनको निरन्तरता र सिकाइको गुणस्तर नियन्त्रणतर्फ ध्यान दिनु जरुरी छ ।

परीक्षा सञ्चालनका वैकल्पिक विधिको समस्या खोज्ने हो भने विश्वसनीयता, वैधता र अनैतिक कामको फेहरिस्तै बन्ला तर समाधान खोज्ने हो भने मौखिक परीक्षा एउटा विकल्प हुन सक्छ । मौखिक परीक्षाका लागि विद्यार्थीलाई अनलाइन फारम भराउने र त्यसमा उसले प्रयोग गर्ने सक्ने सफ्टवेयर वा कुनै क्याम्पसमा जान सक्ने अवस्था वा कुनै निश्चित स्थानबाट अनलाइन परीक्षा दिन सक्ने अवस्थाको पहिचान गरेर सोहीअनुसार व्यवस्थापन गर्न सकिन्छ । सूचना प्रविधिका दक्ष जनशक्ति व्यवस्थापन गरेर मौखिक परीक्षाको कार्यविधि बनाई तत्कालै सुरु गर्न सकिन्छ ।

सिङ्क्रोनस (वास्तविक समय) र असिङ्क्रोनस (जुनसुकै समय) मा प्रयोग गर्न सकिने गरी परीक्षाको लचिलो विधिमा जान सकिन्छ । प्रश्न बैंकबाट एउटै विषयमा माध्यमअनुसार फरकफरक प्रश्न प्रयोग गर्न सकिन्छ । चिटिङ समस्या हुन्छ भनिरहँदा विगतमा चिटिङ पूर्ण नियन्त्रणमा थियो र भन्ने प्रश्न पनि उठ्छ । तर यसका लागि अनलाइन विधिमा प्रोक्टोरिङ सफ्टवेयर (कम्प्युटरको अडियो, भिडियो र अन्य क्रियाकलाप रेकर्ड गर्ने) प्रयोग गर्न सकिन्छ । विगतका कमजोरीहरू सुधारी परियोजना कार्य र कुनै लघु अनुसन्धानका काम दिएर त्यसको अनुगमन गर्न पनि सकिन्छ । सम्भव हुने विषयहरूमा बहुवैकल्पिक प्रश्नका सेटबाट हरेक विद्यार्थीलाई र हरेकपटक फरकफरक प्रश्न सोध्न सकिन्छ र यस्ता अभ्यास भइरहेका पनि छन् ।

अब कोभिड संक्रमणको अवस्था सामान्य होला र पुरानै ढाँचाका परीक्षा सञ्चालन गरौंला भन्ने सोचबाट बाहिर निस्किएर परीक्षाका वैकल्पिक विधि र पद्धतिको खोजी गर्नु जरुरी छ । यसका लागि आवश्यक पूर्वाधार तथा प्रक्रियामा सुधार र क्षमता विकासको खाँचो छ ।

(आचार्य परीक्षा र मूल्यांकन विषयमा विद्यावारिधि गर्दै छन् ।)

प्रकाशित : भाद्र १२, २०७७ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×