आन्टीहरूलाई खुलापत्र- विचार - कान्तिपुर समाचार

आन्टीहरूलाई खुलापत्र

केटी मान्छेलाई तारिफ गरेर उनीहरूको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने सोच तपाईंका श्रीमान्जस्ता कैयौँ अनजान अंकलहरूको होला तर मजस्ता हजारौँ केटीलाई त्यस्ता सन्देशहरू ‘प्रशंसात्मक दुर्व्यवहार’ मात्र लाग्छन् ।
लीना दुवाडी

डियर आन्टी !
आरामै छु, अनि तपाईंले पनि यो कोरोनाकालमा आफ्नो स्वास्थ्यको ख्याल गरिरहनुभएको होला भन्ने कामना गर्छु ।

कोरोनाको कहरमा तपाईंलाई गुनासोयुक्त पत्र लेख्न रहर त थिएन । यद्यपि मैले जेजस्ता कुराहरू अवगत गराउने मनसायले यो बेतारे युगमा पनि हुलाकी युगकै जस्तो पत्र कोर्न लागेकी छु, त्यसको कारण पनि कोरोना भाइरस नै रहेको मेरो अन्तरात्माले भनिरहेको छ । अनि आशा छ– तपाईंले झिँजो नमानी यो पत्र आद्योपान्त पढेर मनन गर्नुहुनेछ । कुरा गएको महिनाको हो । सूर्यास्तको केही घण्टा मात्र भएको थियो । म आफ्नै कोठामा ल्यापटप खोलेर काम गर्दै थिएँ । यहाँको समयानुसार रातको नौ बजेको थियो । नेपालमा लगभग बिहानको आठ बज्दै थियो । फेसबुकमा म्यासेजको घण्टी बज्यो ।

सायद तपाईंका श्रीमान्ले बिहान उठेर चिया पिउँदै सोसल मिडियामा आफ्नो ड्युटी सुरु गर्नुभएको थियो । ‘नमस्ते, गुड मार्निङ’ लेखेर पठाइएको त्यो म्यासेजलाई मैले बेवास्ता गरेँ । तपाईंले सोच्नुभयो होला, किन ? किनकि तपाईंका श्रीमान् मेरा साथी, आफन्त वा नजिकको चिनजानका व्यक्ति होइनन् । र, तपाईंका श्रीमान्ले हरेक बिहान मलाई त्यसरी फेसबुक सन्देश पठाउने गरेको त्यो पहिलो पनि थिएन । एक दिन उहाँले मलाई लेख्नुभयो, ‘तपाईंको पछिल्लो आर्टिकल पढेँ, धेरै राम्रो छ ।’ मैले धन्यवाद फर्काएँ । लगत्तै अर्को म्यासेज आयो, ‘के गर्दै हुनुहुन्छ ?’

त्यो प्रश्नलाई मैले ‘इग्नोर’ गरेँ किनकि मलाई त्यो असान्दर्भिक र अनावश्यक लाग्यो । अर्को दिन उस्तै समयतिर मेरो फेसबुक नोटिफिकेसन बज्यो, ‘नमस्ते ! आरामै हुनुहुन्छ ?’ तपाईंकै श्रीमान्को प्रश्न थियो, जसलाई मैले फेरि ‘इग्नोर’ गरेँ किनकि त्यो मेरा लागि बेमतलबको प्रश्न थियो । त्यसको केही दिनपछि उहाँले मलाई एउटा फोटो पठाउनुभयो । मैले खोलेर हेरेँ, मेरो प्रोफाइल पिक्चरको स्क्रिनसट लिइएको रहेछ र साथमा लेखिएको थियो, ‘सो ब्युटिफुल’ । मलाई त्यो कत्ति पनि मन परेन । केटी मान्छेलाई तारिफ गरेर उनीहरूको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने सोच तपाईंका श्रीमान्जस्ता कैयौँ अनजान अंकलहरूको होला तर मजस्ता हजारौँ केटीलाई त्यस्ता सन्देशहरू ‘प्रशंसात्मक दुर्व्यवहार’ मात्र लाग्छन् ।

कसैको प्रोफाइल खोलेर एकएक फोटो कुन कस्तो छ भनेर हेरिरहने तपाईंका श्रीमान् पक्कै पनि निकै फुर्सदमा हुनुहुन्छ । मलाई कुतूहल लाग्यो । यसरी दैनिक सोसल मिडियामा मलाई ‘स्टक’ गर्ने को रहेछ भनी प्रोफाइल खोलेर हेरेँ । नेपालको सरकारी जागिरे र राम्रै ओहोदामा हुनुहुँदो रहेछ । उमेरका हिसाबले मैले उहाँलाई अंकल र तपाईंलाई आन्टी सम्बोधन गरेकी हुँ । म अनुमान गर्दै थिएँ– हरेक बिहान परिवारमा सबैभन्दा छिटो उठेर तपाईं भान्साको काममा लाग्नुहुन्छ । तपाईंलाई श्रीमान् उठ्नुअघि नै उहाँका लागि चिया र खाजा तयार पार्ने चटारो हुन्छ । सधैँ घरधन्दामा व्यस्त हुँदा तपाईंलाई सायद उहाँको दैनिकी कसरी बित्छ र उहाँ इन्टरनेटमा के–के गर्नुहुन्छ भन्ने कुनै ‘क्लु’ छैन ।

तपाईंले विश्वास गरेर उहाँको फोन पनि कहिल्यै ‘चेक’ गर्नु हुन्न । कसैको ‘प्राइभेसी’ लाई सम्मान गर्नु राम्रो कुरा हो तर कतै तपाईंले उहाँलाई आवश्यकताभन्दा बढी विश्वास गरिरहनुभएको त छैन ? तपाईंले आफ्नो इमेल, फेसबुक लगायतका इन्टरनेट अकाउन्टहरूका पासवर्ड उहाँसँग सेयर गर्नुभएको छ ? पक्कै होला । तर के उहाँले आफ्ना सबै पासवर्ड तपाईंसँग सेयर गर्नुभएको छ ? के उहाँ आफ्ना दैनिक रुटिन कुराहरू तपाईंसँग साझा गर्नुहुन्छ ? के तपाईंहरूबीच साथीजस्तो सम्बन्ध छ ? हाम्रोजस्तो समाजमा श्रीमती भनेको परिवारको निर्माण र घर सम्हाल्नका लागि मात्रै हो भन्ने मानसिकताले तपाईंजस्ता थुप्रै महिलालाई आफ्नो घरका चार भित्ताबाट बाहिर उम्कन दिएको छैन ।

विकासका कुरामा हामी जति अगाडि बढे पनि यस्ता रूढिवादी सोचले निम्त्याएका समस्याहरू ज्यूँका त्यूँ छन् । कोरोना भाइरसका कारण अहिले आवश्यकताभन्दा बढी फुर्सदमा हुने तपाईंका श्रीमान्जस्ता धेरैले इन्टरनेटले देखाएका लोभलाग्दा सुविधाहरू राम्रैसँग प्रयोग गरिरहेका छन् । माथि मैले ‘प्रशंसात्मक दुर्व्यवहार’ को प्रसंग उल्लेख गरेँ । यसमा केही थप कुरा गर्न मन लाग्यो । केही समयअगाडि नेपालका चर्चित नायकविरुद्ध केही महिलाले आवाज उठाए । त्रिभुवन विश्वविद्यालयका एक वरिष्ठ प्राध्यापकविरुद्ध केही महिला विद्यार्थीले गरेको उजुरीले ‘हर्रास्मेन्ट’ अर्थात् उत्पीडनका कैयौँ प्रकार हुन्छन् र यो कुनै जात, उमेर वा वर्गविशेषको कुरा नभई एउटा अल्प मानसिकताको उपज हो भन्ने जनाउँछ । ती दुवै अक्षम्य अपराध थिए, जसको सुरुआत ‘प्रशंसात्मक दुर्व्यवहार’ बाटै भएको थियो । तपाईंका श्रीमान् कतै त्यस्तै मानसिकताको सिकार बन्दै गइरहनुभएको त छैन ?

एकपटक फेसबुकमार्फत मेरी एक साथीले एक व्यक्तिसँग मित्रता गाँसिन् । पेसाले चलचित्र निर्माणको काम गर्ने ती व्यक्तिले आफ्नो भर्खरै डिभोर्स भएको र एक्लै भएको भनेर मित्रता जोडेका थिए । हरेक दिन फेसबुकमा उनीहरूको घण्टौँ कुराकानी हुन्थ्यो । मित्रता बिस्तारै प्रेमी–प्रेमिकाको सम्बन्धतर्फ ढल्दै जाँदा एक दिन अचानक मेरी साथीलाई फेसबुकमार्फत नै थाहा भयो, ती व्यक्तिले त झुट बोलेर मित्रता गाँसेका रहेछन् । तिनको सम्बन्धविच्छेद त भएकै रहेनछ । ती मानिसले एकसाथ दुई महिलालाई धोका दिइरहेका थिए ।

कुनै ठूलै कदम नचाले पनि अहिलेका ४०/४५ काटेका पुरुषहरू सोसल मिडियामा टाइमपास गर्न घरमा श्रीमती हुँदाहुँदै बाहिर गफ गर्ने साथीको खोजीमा भइरहेका हुन्छन् । तपाईंका श्रीमान् कहीँ तिनैमध्ये एकमा त पर्नुहुन्न ? आन्टी ! मैले तपाईंलाई आज यसरी पत्र लेख्नुको कारण अर्को पनि छ । घर, परिवार, श्रीमान् भन्दाभन्दै कतै तपाईंले आफ्नो जीवन जिउन नै बिर्सिरहनुभएको त छैन ? आफ्ना इच्छा–आकांक्षालाई मारेर बसिरहनुभएको त छैन ? कुरैकुरामा उहाँले ‘भयो, छाडिदे, तैँले गर्न सक्ने कुरा होइन यो’ भनेर तपाईंको सम्मानको खिल्ली उडाउँदा त्यसलाई सामान्य रूपमा लिएर बस्नुभएको त छैन ? तपाईंले उहाँबारे केही कुरा जान्न खोज्दा उहाँले ‘तेरो मतलबको कुरा होइन यो’ भन्दा तपाईं चुप लागेर बस्ने गर्नुभएको त छैन ?

तपाईंका श्रीमान्ले आफ्नो मर्जीअनुसार जे गरे पनि हुने, तपाईंले आफूलाई मन लागेका कुराहरू आफ्नो मर्यादाभित्र रहेर गर्न किन नहुने ? दिनमा एकाध घण्टा समय तपाईं आफ्ना लागि छुट्याउनुस्, आफ्ना लागि केही लक्ष्य निर्धारण गर्नुस् । कहिलेकाहीँ एकान्तमा बसेर विचार गर्नुस्– परिवारका साथसाथै तपाईं आफ्ना लागि पनि बाँचिरहनुभएको छ भन्ने कुरा नबिर्सिनुस् । आफूलाई चित्त नबुझेका कुरा श्रीमान्का अगाडि खुलेर भन्नुस् । अनि श्रीमान्को ‘प्राइभेसी’ को सम्मान गर्दै कहिलेकाहीँ चिया दिन जाँदा बिहानबिहानै उठेर आफ्ना श्रीमान्ले आफ्नै छोरी उमेरका केटीहरूलाई ‘प्रशंसात्मक दुर्व्यवहार त गरिरहेका छैनन् ?’ भनी यसो चियो पनि गर्ने गर्नुस् ।

त्यसले तपाईंलाई श्रीमान् गलत बाटामा रहेछन् भने उनलाई सम्झाउने, बुझाउने र अझ घुर्क्याउनेसम्मको अवसर दिनेछ । यी सुझावलाई तपाईंकी छोरीको उमेरकी एउटी भतिजीले दिएको भन्ठानेर तपाईंले गम्भीरताका साथ लिनुहुनेछ भन्ने मेरो अपेक्षा छ । जसरी तपाईंका श्रीमान्ले मलाई ‘प्रशंसात्मक दुर्व्यवहार’ गर्न खोज्नुभयो, के थाहा कतै तपाईंकी छोरीलाई अर्को कुनै अंकल उमेरको व्यक्तिले त्यस्तै पो गर्ने प्रयास गर्दै छ कि ?

आन्टी, तपाईंप्रति मेरो सहानुभूति र साथ दुवै छ । आफ्नो ख्याल राख्नुहोला ।

उही तपाईंकी शुभचिन्तक !

प्रकाशित : कार्तिक ५, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

सम्बन्धविच्छेद र नेपाली सोच

हरेक मानवलाई आफ्नो जीवनलाई उत्कृष्ट बनाउने बराबर अधिकार छ । एउटा खुसी जीवन बाँच्न पाउने सबैको जन्मजात हक हो । तर के विवाहित महिलाका लागि त्यो नैसर्गिक अधिकार छैन ?
लीना दुवाडी

अहिले जीवन ‘भर्चुअल’ भएको छ । कोरोना भाइरसको कहरले ‘क्याफेमा भेटौं न !’ भन्नुपर्नेमा ‘जुम मिटिङ गरौं न !’ भन्नुपर्ने भएको छ । डिजिटल ‘स्टोरीटेलर’ का रूपमा मेरो दैनिकी त यसै पनि ‘भर्चुअल’ । केही दिनअघि यस्तै ‘भर्चुअल’ माध्यमबाट गृहनगरकी एक जना साथीसँग कुराकानी भयो । उनीसँगको यस्तो वार्तालाप १२ वर्षपछि हुँदै थियो ।

सम्बन्धहरूका विविध आयाम हुन्छन्, सीमा हुन्छन् । पहिले जति नै घनिष्ठ भए पनि कसैसँग एक जुगपछि कुराकानी गरियो भने त्यो औपचारिकतामा सीमित बन्न पुग्छ । तर उनीसँगको वार्तालापले अनौपचारिक मोड लियो । सायद, उनलाई धेरै कुरा व्यक्त गर्नु थियो । मनमा गाँठो पारेर राखेका कैयौं कुरा बगाउनु थियो नदी बनाएर कसैसँग । अनि सम्भवतः म नै उपयुक्त पात्र ठहरिएँ उनका लागि । आफ्नो प्रेमीसँग विवाह गर्ने चाहना राख्दा उनी मात्र २४ वर्षकी थिइन् । उनका अभिभावक उनको प्रेमीलाई ज्वाइँ बनाउन इच्छुक थिएनन् । उनले बाआमालाई सम्झाइन्, सम्झाउन नसकेपछि घुर्क्याइन् । अन्ततः मातापिताको मन पग्लियो । उनको तिनै पुरुषसँग विवाह भयो । एक हिसाबले त्यो उनको हिम्मतवाला काम थियो, धेरैका नजरमा ।

उनी आफैंले रोजेको बाटोमा धेरै काँडा थिए, अवरोध र काँडेतार थिए । तिनलाई छिचोल्ने अठोट लिएकी थिइन् । तर सहयात्रीसँगै कुरो नमिलेपछि ती काँडेतारलाई पन्छाउनु कसरी ? उनीहरूबीचको सम्बन्ध टिक्न सकेन । विवाहको एक वर्षभित्रै उनले वैवाहिक सम्बन्धलाई अन्त्य गर्न कानुनी बाटो अख्तियार गरिन् । मेरा हिसाबले त्यो उनको निकै ‘बोल्ड’ निर्णय थियो । निकै हिम्मतिलो र धेरैका लागि प्रेरणादायी पनि । छोटो भर्चुअल संवादमा मसँग उनले सबै कुरा सायदै भन्न पाइन् होला । तर मलाई लाग्छ, जुन बेला उनले कानुनी रूपमा सम्बन्ध अन्त्य गर्नका लागि वकिलको सेवा लिन खोज्दै थिइन्, पक्कै पनि भविष्यमा आइपर्न सक्ने अप्ठ्याराबारे सोचिन् होला । समाज र मान्छेहरूले काट्न सक्ने कुराबारे गम खाइन् होला ।

सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गर्दैगर्दा सायद उनको मनमा पनि ‘अब तँलाई कसले स्विकार्छ ?’ भनेर प्रश्न गर्न सक्ने आमा–बा, काका–काकी, मामा–माइजू, फुपू–फुपाजु लगायतको अनुहार झलझली आयो होला । यद्यपि उनले हात कमाइनन् र एउटा छोटो सम्बन्धलाई समाप्त पारेर लामो जीवनयात्रा सुरु गरिन् । त्यसपछि पनि उनका साथीहरूले पक्कै सोधे होलान्, ‘तिम्रो श्रीमान्ले तिमीलाई धोका दिएको हो’ वा ‘किन तिमीले उसलाई सन्तुष्ट पार्न सकिनौ’ भनेर । त्यसबारे उनले विस्तृतमा बताइनन्, मलाई सोध्न उपयुक्त पनि लागेन ।

सम्बन्धविच्छेदअघि पनि उनले सम्बन्ध जोगाउन भरमग्दुर प्रयास गरिन् होला । आफूमाथिका दुर्व्यवहारलाई लुकाइन् होला । अझ उनले त आफैंले रोजेको मान्छेसँग विवाह गरेकी थिइन् । आफन्त वा साथीहरूसँग मन नमिलेको बताउँदा पनि ‘आफैंले त रोजेकी होस् नि !’ भन्ने खालको जवाफ पाइन् होला । एक जुगपछि ती साथीसँग कुराकानी गरेपछि मैले सम्बन्धविच्छेदबारे सोचें । त्यसका विविध पक्ष र हाम्रो सामाजिक मानसिकताबारे केही बेर गमें । खासमा सम्बन्धविच्छेद चाहनु कुनै ठूलो कुरो होइन, न त यो गल्ती वा अपराध नै हो ।

कुनै गाँठो बाँध्नु वा फुकाउनु भनेको त एउटा लामो जीवनमा गरिने कैयौं निर्णयमध्येको एउटा निर्णय न हो । तर नेपालजस्तो देशमा, हाम्रोजस्तो समाजमा कसैले नमिलेकै गाँठो फुकाउन खोज्यो भने पनि त्यो ठूलो मुद्दा बनिदिन्छ । नेपालमा विशेष गरी महिलाका लागि त सम्बन्धविच्छेद भनेको निकै ठूलो कुरा हो । अझ मध्यम र निम्नमध्यम वर्गका तथा छोराछोरी भएका महिलाका लागि त यो असम्भवप्रायः जस्तै ठानिन्छ ।

हामी यस्तो समाजमा बाँचिरहेका छौं, जहाँ महिलालाई चौबीसै घण्टा निगरानी गरिएको हुन्छ, त्यसैका आधारमा चारित्रिक प्रमाणपत्र दिन खोजिन्छ । अरू कुराभन्दा महिलाबारे धेरै चासो राखिन्छ । विवाह नगरुन्जेल उसले के लगाउँछे, कहाँ जान्छे, कसलाई भेट्छे, के गर्छे भन्नेमा घरपरिवार, आफन्तदेखि छिमेकीसम्मलाई चासो हुन्छ । विवाह भएपछि पनि उसले सासू–ससुरालाई कस्तो व्यवहार गर्छे, कति गहना लगाउँछे, खाना पकाउन जान्दछे कि जान्दिन, बच्चा कहिले जन्माउँछे जस्ता चासोले उसलाई भन्दा अरूलाई बढी सताउँछ । तर कसैले सोध्दैन ‘ऊ खुसी छ कि छैन’ भनेर ।

महिलाप्रति पितृसत्तात्मक सोच र शोषण तथा ‘सोसियल स्टिग्मा’ भएको हाम्रोजस्तो समाजमा विवाहित महिलाहरू जीवनभरि खुम्चिएर बस्न बाध्य छन् । उनीहरू समस्यामा हुन्छन् तर त्यसलाई व्यक्त गर्न सक्दैनन् । सम्बन्धविच्छेदपश्चात् सामना गर्नुपर्ने चुनौती सम्झेर उदास जीवन बिताउन तयार हुन्छन् । त्यसैले त महिलाहरू खराबभन्दा खराब वैवाहिक जीवनबाट बाहिरिन पनि हजारपटक सोच्न बाध्य छन् । मेरो गृहनगरकै अर्की एक जना महिलाले हालै युवावस्थामै आत्महत्या गरिन् । एउटा निजी स्कुलमा पढाउने उनका दुई जना साना बच्चा छन् । तर वर्षौंदेखि श्रीमान्को शारीरिक र मानसिक यातना खप्दै आएकी उनले सम्बन्धविच्छेदको बाटो रोज्न सकिनन्, जीवनै समाप्त पारिन् । हरेक मानवलाई आफ्नो जीवनलाई उत्कृष्ट बनाउने बराबर अधिकार छ । एउटा खुसी जीवन बाँच्न पाउने सबैको जन्मजात हक हो । तर के विवाहित महिलाका लागि के त्यो नैसर्गिक अधिकार छैन ? किन कुनै पनि महिलाले सधैंभरि दुःखी भइरहने र हरेक दिन मरेसरह बाँच्नुपर्ने वैवाहिक जीवनलाई कायम राख्नैपर्ने ? मात्र, अरूले के भन्छन् भन्ने सोचेर ?

हाम्रो समाजमा व्याप्त ‘अरूले के भन्छन्’ भन्ने रोगले धेरै कुरा नष्ट गरिदिएको छ । धेरैको जीवन बरबाद पारेको छ । जसरी हाम्रो समाजले वैवाहिक सम्बन्धलाई कायम राख्न दबाब दिने र कतिपयका हकमा सहजीकरण गर्ने गर्छ, त्यसै गरी कायम रहन नसक्ने सम्बन्धलाई विच्छेद गर्न पनि सहजीकरण गर्न जरुरी छ ।

सम्बन्धविच्छेद पक्कै पनि सहज प्रक्रिया होइन, न त कोही सम्बन्ध राम्रो हुँदाहुँदै सम्बन्धलाई अन्त्य गर्न नै चाहन्छ । त्यसैले यो आफ्नो आत्माभिमान खुम्च्याएर र दुर्व्यवहार सहेर बस्नुभन्दा कैयौं गुणा राम्रो कुरा हो । कसैले सम्बन्धविच्छेदपश्चात् आफ्नो परिवार वा आफन्तहरू परिवर्तन होऊन् भन्ने चाहना राख्नुभन्दा आफ्नो जीवन आफैंले कसरी स्वतन्त्र र खुसी भएर जिउने भन्ने सोच्नु पनि उत्तिकै आवश्यक छ । बाल तथा किशोर मनोचिकित्सक मार्क आर. ब्यान्चिक आफ्को पुस्तक ‘द इन्टलिजेन्ट डिभोर्स’ मा लेख्छन्, ‘कोही पनि सचेत रूपमा एउटा अप्रसन्न वैवाहिक जीवनमा बस्न चाहँदैन । आत्मसम्मान र बुद्धिमत्तापूर्ण तरिकाले अवस्थालाई हेरेर निर्णय गर्नु तपाईंको मानसिक र संवेगात्मक स्वास्थ्यका लागि जहिले पनि उपयुक्त छनोट हुन जान्छ ।’

अब हामीले सम्बन्धविच्छेद शब्दलाई एलियन जसरी हेर्नु जरुरी छैन । सामाजिक रूपमा हामीले सम्बन्धविच्छेदलाई पनि अन्य कुराजस्तै सामान्य रूपमा स्विकार्नु आजको आवश्यकता हो । किनकि विशेष गरी सहरी क्षेत्रमा बसोबास गर्ने नयाँ पुस्ता परिवर्तन भइरहेको छ । अब महिलाहरूले पनि हिजोकै जस्तो वैवाहिक जीवन अपनाउने छैनन् ।

त्यो परिवर्तन बिस्तारै देखिन पनि थालेको छ । केही वर्षदेखि नेपालमा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भइरहेको छ । काठमाडौं जिल्ला अदालतको एउटा तथ्यांकअनुसार सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नेमा ८० प्रतिशत महिला छन् । त्यसले सहरी क्षेत्रका आत्मनिर्भर महिलामा आफ्नो व्यक्तिगत खुसी पनि प्राथमिकतामा पर्न थालेको देखिएको छ । सामाजिक मनोवैज्ञानिक बेला डे–पाउलो आफ्नो एउटा लेखमा लेख्छिन्, ‘सम्बन्धविच्छेद भनेको एउटा प्रेमकथाजस्तो हुनुपर्छ । जब मानिसहरूले आफूलाई पर्याप्त प्रेम गर्न थाल्छन्, त्यसपछि उनीहरू खराब अवस्थाबाट टाढा भाग्छन् ।’ यसर्थ हाम्रो समाजमा जब महिलाहरूले अरूको होइन, आफ्नो खुसीको महत्त्व बुझ्नेछन् तब मात्र यो परिवर्तन सम्भव छ । अनि, त्यो बाटो कहिलेदेखि सहज हुनेछ भने जब समाजले महिलाहरूले गरेको निर्णयका आधारमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्छ । यद्यपि त्यसका लागि महिलाहरूले आफैंसँग लड्न अझै धेरै बाँकी छ ।

Instagram/Twitter : @leenachitwan

प्रकाशित : भाद्र १९, २०७७ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×