कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो पो च्यालेन्ज !

साधना प्रतीक्षा

केही दिनअघि सामाजिक सञ्जालभरि अनौठो परिदृश्य देखियो । खै के–के हो च्यालेन्ज भन्दै फोटो प्रदर्शनीको होडबाजी चल्यो । भर्खरका अल्लारे तथा आफूलाई ‘मोडल’ भन्न रुचाउनेहरूको त कुरै छोडौँ, समाजका विविध क्षेत्रमा स्थापित व्यक्तित्व, बौद्धिक वर्गदेखि देश हाँक्न तम्सिएका नेताहरूसमेत ‘जोडी ढुकुर’ बन्दै फिल्मी शैलीमा प्रस्तुत भए ।

यस्तो पो च्यालेन्ज !

जोडी, परिवार, प्रथम प्रभाव आदि–इत्यादिको च्यालेन्ज गरिरहेका हामीलाई वर्तमान परिवेशले भने अर्कै च्यालेन्ज गरिरहेको छ ।सात महिनादेखि कोरोना महामारीले आक्रान्त हामी अब त्राहिमाम्को अवस्थामा पुगिसकेका छौँ । एकातिर सरकार भन्छ, ‘बेहोस हुने अवस्था आएमा मात्र अस्पताल जानू ।’ हुन सक्छ, भविष्यमा ‘मृत्युपश्चात् मात्र अस्पताल जानू’ भन्न के बेर ! अर्कातिर हामी पनि महामारीलाई सामान्य ठानेर सावधानी अपनाउनधरि हिचकिचाइरहेका छौँ । दिनानुदिन संक्रमितको संख्या बढ्दै छ । यस्तो अवस्थामा बरु महामारी नियन्त्रणका लागि जिम्मेवार बन्न र सरकारलाई पनि जनउत्तरदायी बनाउन च्यालेन्ज गरौँ न ! संक्रमण नियन्त्रण र जीवनभन्दा पनि संस्कृति र चाडपर्वको रमझम ठूलो हो भन्दै बजारमा भीड लाग्नुको सट्टा घरभित्रै बसेर आफू सुरक्षित बन्ने र अरूलाई सुरक्षित गराउने दायित्वबोध पनि त जिम्मेवार नागरिकका लागि च्यालेन्ज नै हो । त्यसैले अनावश्यक जमघट र भोजभतेर नगरी संक्रमणमुक्त अर्को दसैँको प्रतीक्षा गर्ने च्यालेन्ज गरौँ ।

हाम्रो समाज यौनहिंसाले पनि उत्तिकै पिल्सिएको छ । दिनहुँ महिला, किशोरी तथा बालिकाहरू निर्ममतापूर्वक मारिइरहेका छन् । यस्ता त्रासद समाचार सुन्दा अनलाइन कक्षामा पढिरहेका अबोध छोरीहरूले ‘गुगल सर्च’ गर्दै लिङ्ग परिवर्तनको सम्भावना खोज्न थालेको देख्दा आमामनहरू नराम्ररी चोइटिइरहेका छन् । जिम्मेवार निकायमा रहेका व्यक्तिहरू भने ‘विषम परिस्थितिमा यस्ता घटनाहरू भइरहन्छन्’ तथा ‘अन्य मुलुकका तुलनामा हामीकहाँ यस्ता घटना कमै देखिन्छन्’ भन्ने जस्ता उपहासात्मक अभिव्यक्ति दिन्छन् । त्यसैले सक्छौँ भने निर्मला र सम्झनाजस्ता निर्दोष किशोरीहरूले बलात्कारको सिकार भएर ज्यानसमेत गुमाउनुपर्ने अवस्था तथा त्यसको कारक बनेको दण्डहीनताको अन्त्यका लागि अनि हरेक छोरीले निर्बाध रूपमा बाँच्न पाउने अधिकारको प्रत्याभूतिका लागि जागरणको च्यालेन्ज गरौँ । लैङ्गिक विभेद तथा घरेलु हिंसाका कारण असंख्य महिलाले नारकीय जीवन बिताउनु परिरहेको सन्दर्भमा हरेक परिवार तथा समाजलाई विभेदमुक्त बनाउने अभियानमा को अघि पुग्ने भनेर पनि च्यालेन्ज गरौँ ।

गरिबका छोराछोरीले पनि प्राविधिक शिक्षाको अवसर पाउनुपर्दछ अनि दुर्गम क्षेत्रका विपन्न वर्ग तथा सीमान्तीकृत समुदायले समेत गुणस्तरीय स्वास्थ्य सेवाको अधिकार पाउनुपर्ने माग राखेर एक्लै लडिरहेका डाक्टर गोविन्द केसीसँग ऐक्यबद्धता गर्दै शैक्षिक माफियाहरूको जरो उखेल्ने च्यालेन्ज गरौँ ! विश्वविद्यालयहरूलाई राजनीतिक भागबन्डा र कमिसनको चक्रव्यूहमा फसाएर बेरोजगार उत्पादनको केन्द्र बनाइँदै छ । त्यसैले विश्वविद्यालयहरूमा तालाबन्दी र गुन्डागर्दीको संस्कृति स्थापित हुँदै छ । प्राज्ञिक मर्यादा र मूल्यलाई किनारा लगाउँदै गैरप्राज्ञिक गतिविधिलाई प्रोत्साहित गरेको, गुटबन्दी तथा अस्वस्थ प्रतिस्पर्धा र गलत मूल्याङ्कन प्रणालीका कारण वास्तविक बौद्धिक एवम् स्वाभिमानी वर्गको तेजोवध गरेको एवं अनुसन्धान केन्द्रहरूलाई गौशाला र माकुराको घर बनाएको यथार्थ पनि घामजस्तै छर्लङ्ग भइसकेको छ । त्यसैले प्राज्ञिक क्षेत्रलाई स्वच्छ बनाउन अनि विश्वविद्यालयहरूलाई शिक्षा, प्रविधि, ज्ञान र विवेक उत्पादन र प्रसारणकै थलो बनाउने च्यालेन्ज गरौँ न त !

समाज र राष्ट्रको माथिल्लो तहदेखि तल्लो तहसम्म आकाशेबेली जस्तै जेलिएको भ्रष्टाचार फँडानी गरेर सुशासनको बिरुवा हुर्काउन च्यालेन्ज गर्नुपर्ने बेला आएको छ । दलगत हित र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर देशलाई खोक्रो पार्ने, आपसी समझदारीबाट राज्य सञ्चालन गरेर निहित स्वार्थका लागि विदेशी शक्तिसामु घुँडा टेक्ने लम्पसारवादी राजनीतिक संस्कृतिको अन्त्यका लागि पनि च्यालेन्ज गरौँ । देशलाई राजनीतिक खिचातानीको मैदान बनाएर जनतालाई भकुन्डोसरि खेलाउने नेताहरूका विरुद्ध कसले आवाज बुलन्द गर्ने भनेर च्यालेन्ज गरौँ । युवाशक्ति परिचालन गर्दै आफ्नै माटोमा सुन फलाएर, कलकारखाना चलाएर आत्मनिर्भर हुनेभन्दा त्यस्ता सम्भावनाप्रति आँखा चिम्लने अनि देशलाई युवाविहीन बनाएर रेमिट्यान्सले समृद्ध बनाउने सपना देख्ने अदूरदर्शी र दिशाविहीन नेतृत्वको उछित्तो काढी नयाँ सोच र दूरगामी योजनासहितको नेतृत्व स्थापित गर्न च्यालेन्ज गर्न पनि त बाँकी नै छ !

डेन्ड्राइट सुँघेर लट्ठिँदै भुस्याहा कुकुरसँगै सडक–पेटीमा गुडुल्किएर रात गुजार्ने अनि फोहोरका थुप्रा खोतलेर भोक मेटाउने सडक बालबालिका एवं जीवनको उत्तरार्द्धमा आफ्नै परिवारभित्र अवहेलित र असहाय बन्दै मृत्यु कुरिरहेका तथा वृद्धाश्रमहरूमा आँसु झारिरहेका ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक जीवनयापनको व्यवस्था गराउनु पनि च्यालेन्जकै कुरा हो ! सत्ता र शक्तिको आडमा सार्वजनिक जग्गा रातारात व्यक्तिका नाममा दर्ता गरेर सम्पन्न बन्ने भू–माफियाविरुद्ध, राष्ट्रको ढुकुटी रित्त्याएर आफ्नो महल ठड्याउने कमिसनखोरहरूका विरुद्ध, गरिब किसानको पसिना अनि आम उपभोक्ताको रगत चुसेर मालामाल बन्ने बिचौलिया तथा कालो बजारियाहरूका विरुद्ध एकजुट भएर उभिने वातावरण बनाउन कसले पहल गर्ने भनेर च्यालेन्ज गरौँ न त ! लोडसेडिङका नाममा वर्षौंदेखि अँध्यारिएको मुलुकलाई उजिल्याउन सक्ने कुलमान घिसिङको प्रतिबद्धताजस्तै आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न अनि राष्ट्रलाई वैज्ञानिक तथा प्राविधिक उन्नयनतर्फ अग्रसर गराउन दिलोज्यानले लागिपरेका महावीर पुनको आविष्कार केन्द्रजस्तै नवीन चिन्तनका साथ उपस्थित हुन पनि च्यालेन्ज गरौँ ।

यस्तो विषम परिस्थितिमा भोकाहरूलाई भोजन गराइरहेका, नाङ्गाहरूलाई लुगा ओढाइरहेका, स्वास्थ्य सामग्री वितरण गरिरहेका अनि ‘फुड बैङ्क’ सञ्चालन गरेर ‘हुनेले दिएर जाने, नहुनेले लिएर जाने’ भन्दै सङ्कटापन्न अवस्थामा जीवनरक्षाको पुण्य कर्ममा लागेका, विपन्न वर्गकालाई घरभाडा छुट गरिरहेका दाता तथा समाजसेवीहरूसँग प्रतिस्पर्धा गर्दै कसले बढी सेवा दिने भनेर च्यालेन्ज गरौँ । विपत्को यस घडीमा हरेक वर्ग तथा उमेरसमूहका व्यक्तिहरूले आ–आफ्ना क्षमता अनुसार परिवार, समाज तथा समग्र राष्ट्रका लागि योगदान हुन सक्ने रचनात्मक कार्य गर्ने च्यालेन्ज गरौँ न त !

प्रकाशित : आश्विन २८, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?