कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी कस्तो निजत्व चाहन्छौँ ?

प्रेममा मानिसले अर्काको भावनाको सम्मान गर्दैन र अपराध गर्छ भने त्यो अपराध नै हो । त्यसलाई प्रेम हो भनेर हजारौं साहित्य र तथ्यांकका सन्दर्भ जोडे पनि मान्न सकिन्न ।
नारायणी देवकोटा

कुरा आफैँबाट सुरु गरूँ । विविधताले भरिएको तर असमावेशी, शोषण र दमनमा आधारित नेपाली समाज समावेशी होस्, विभिन्न नाम र आधारमा हुने शोषणको सिलसिला कम होस् भनेर समाजसँग लड्न थालेको पनि झन्डै दुई दशक हुन थालिसकेछ ।

हामी कस्तो निजत्व चाहन्छौँ ?

म सार्वजनिक बहसका डबली, पत्रिकाका विचारपृष्ठ, राजनीतिक दलका केन्द्रीय समिति/कमिटी समावेशी होऊन्, कसैले कुनै प्रकारको विभेद, हिंसा र शोषण भोग्न नपरोस् भन्ने आग्रह बोकेर हिँडिरहन्छु ।

भूषिता वशिष्ठलाई म आफ्नो पुस्ताकी एक लेखक मान्छु । उहाँको लेखाइको लालित्य, त्यसलाई तथ्यसंगत बनाउन जोडिने सन्दर्भ र ती सन्दर्भसम्मको पहुँचले मलाई बेलाबेला लोभ्याउँछ । बेलाबेला म विद्यार्थीलाई उहाँका लेखहरू पढ्न र छलफल गर्न लगाउँछु पनि । तर, भूषिताजीको पछिल्लो लेख ‘मुस्कुराउनुस्, तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’ (२०७७ असोज ३, कान्तिपुर) पढेपछि म कामेँ । उक्त लेख पढेपछि उठेका आफ्ना केही सवाल म यहाँराख्न चाहन्छु ।

मानिसको विचार कसैले थाहा पाउन हुन्छ कि हुँदैन ?

‘कसैले अरूको विचार पढ्न सक्ने भए हरेक मानिसको शरीर नै झ्यालखाना हुन्छ’ भन्ने तर्कमा सहमत हुन सकिन्न । विचार भन्ने कुरा मानिसले दबाएर राखेको आपराधिक मानसिकता मात्रै पक्कै होइन । मानिसमा तमाम विचार होलान्, कोही केही वा कसैप्रति अनुरक्त भएको होला वा विरक्त । कोही रिस बोकेर हिँडेको होला त कोही पीडा बोकेर । मानिसका फरकफरक तर्क, सोच र संवेग होलान् । ती विचार पढ्न–बुझ्न सकिन्छ कि सकिन्न ? वा, यस्तो बुझ्न सक्ने अवस्था आए के होला ?

पहिलो कुरा, कसैले चाहने हो भने अर्काको विचार अहिले पनि बुझ्छ, जसका लागि कुनै यन्त्रको आवश्यकता पर्दैन । विचार उसले कत्तिको छानेर वा मोडेर व्यक्त गर्छ भन्ने पनि विभिन्न माध्यमबाट बुझ्न सकिन्छ । सीसीटीभीबारे मतलब नभएका धेरैका परिवार र नजिकका परिचितहरू भन्छन्, ‘तिमीले नभनेर हुन्छ ?

तिम्रो अनुहारमा देखिन्छ ।’ केही समयअगाडि म छ वर्षदेखि जेलमा रहेको साथीलाई भेट्न पहिलोपटक गएकी थिएँ । उसले केही नसोधी भनेको पहिलो वाक्य थियो, ‘तँ मलाई एक दिन किताब लिएर भेट्न आउँछेस् भन्ने थाहा थियो ।’ मैले ‘किन ?’ भन्दा उसले भनेको थियो, ‘तैँले लेखेको पढ्दा कहीँ न कहीँ तेरो र मेरो भेट हुन्छ भन्ने लागेको थियो ।’ जेलको साँघुरो ठाउँमा थुनिएको एउटा साथीले वर्षौंदेखि नभेटेको अर्को साथीसँग विचार मिल्छ भन्ने कुरा पत्रिकामा लेखेका लेखहरू पढेर मात्रै पनि थाहा पाउँछ । दृष्टिविहीन साथीहरू भन्छन्, ‘हाम्रो विचार मिल्छ नि ।’

नदेखे पनि उनीहरू नजिकका मानिसका विचार बुझ्छन् । आज मानिस विभिन्न वाद बोकेर विभक्त छ, त्यो अरूको विचार बुझेरै त हो । दोस्रो कुरा, मानौँ हाम्रा विचार र भावना बुझ्ने कुनै यन्त्र बन्यो रे, के हामी खराब विचार/भावनाका मात्रै पुञ्ज हौँ ? हामी सबैमा केही असल विचार र भावना पनि छैनन् ? आज मानिस आफ्ना भावना र विचार बुझ्ने मानिस नपाएर छटपटिएको छ, सीसी क्यामेरा देखेर आत्तिएको मात्रै छैन । मै आफ्ना भावना नजिकका मानिसलाई झट्ट बुझाउन नसक्नेमध्ये पर्छु । मलाई लागिरहन्छ, सँगै बसेका, मलाई माया गर्ने मानिसहरूले मनका कुरा बुझून् । यस्तो धेरै मानिसलाई लाग्छ । मानिसको विचार वा भावना मापन गर्ने यन्त्र होस् मोबाइलजस्तो, जसमा डायल गर्नेबित्तिकै हामी उक्त मानिसको भावना, विचार, आक्रोश बुझ्न सकौँ । कत्ति सजिलो हुँदो हो !

अपराधी करार मानिसलाई पिटीपिटी झुटो–साँचो बकाउनु पर्दैनथ्यो । प्रहरी हिरासतमा कोही मर्दैनथ्यो । प्रेममा कसैले धोका पाउँदैनथ्यो । अतिशय पीडाले किचिएर हिँडिरहेको कोहीसँग हामी एउटा मुस्कान नै भए पनि साटासाट गर्दा हौँ । आत्महत्या गर्नेबारे सोचिरहेको कोहीलाई सम्झाउन सकिँदो हो । केही सयमअगाडि कान्तिपुरका पत्रकार दाइ बलराम बानियाँको मृत्यु भयो । त्यससम्बन्धी धेरै समाचारमध्ये उहाँकी आमाले ‘छोराको मनमा के छ, थाहा पाउन सकिनँ’ भनेको कुराले मलाई धेरै दिनसम्म छोइरह्यो । आफ्नो मनको कुरा बलराम दाइले व्यक्त नगरे पनि थाहा पाउन सकिने कुनै यन्त्र भएको भए उहाँकी आमालाई कति शीतल हुन्थ्यो होला ? यसरी पनि त सोच्न सकिन्छ नि !

पूर्वसभामुख महरा प्रकरण

महरा प्रकरणको विरोधलाई भूषिताजीले ‘रुग्ण समाजको चित्त दशा’ को संज्ञा दिनुभएछ । त्यो रुग्ण समाजको एक सदस्य म पनि हुँ । उक्त काण्डको समाचार ढिलो गरी सुन्ने र सुन्नासाथ ज्वरो आइरहेका बेलामा डबल ब्रुफिन खाएर, सामाजिक सञ्जालमार्फत साथीहरू जम्मा पारेर माइतीघर मण्डलामा पुगेकी थिएँ म । कहिल्यै नदेखेकी ती महिलाले न्याय पाऊन् भन्ने मेरो चाहना थियो, उनले पछि बोली फेरिन् । उक्त विषयमा मैले ‘पीडितले फेरिरहने बयानको समाजशास्त्र’ (२०७६ असोज १७, कान्तिपुर) शीर्षकमा लेखिसकेकै छु ।

हिंसा प्रभावितलाई तत्काल उद्धार गर्न सम्बन्धित निकायका मानिसले शक्तिसामु खुट्टा कमाएपछि, प्रमाण नष्ट भएपछि, सत्ता र शक्तिको आडमा पीडितका अनुहारको घाउ प्रमाण नमानिएपछि बलात्कारमा संलग्नले उन्मुक्ति पाइरहेको सन्दर्भमा कैयौँ अपराधी छुटिरहेका छन् । ती कैयौँमध्ये एक महरा पनि हुन् । यहीँनिर जोडौँ, मानिसको मन पढ्ने कुनै सीसीटीभीजस्तो यन्त्र हुँदो हो त महरा काण्डमा कसैले महराको र कसैले पीडित भनिएकी महिलाको पक्षमा सवाल–जवाफ गर्नुपर्दैनथ्यो । कुन अपराधी हो भन्ने छुट्टिन्थ्यो ।

प्रेम र यौनका कुरा

प्रेम के हो, के होइन भन्नेमा धेरै तर्क–वितर्क छन्, अझै आउलान् । तर, ‘प्रेममा मान्छेले समाजको तथाकथित सभ्यताले नस्विकार्ने, सबैभन्दा घिनलाग्दो भनिएको मानवीय पक्षको पनि उपासना गर्छ’ भन्ने भूषिताजीको स्टेटमेन्टसँग म सहमत हुन सकिनँ । उहाँका कुरा पढेपछि मैले प्रेमको नाममा बलात्कृतहरूलाई सम्झिएँ; प्रेम नस्विकारेका कारण, यौन प्रस्ताव नमानेका कारण अनुहारमा एसिड छ्यापिएका र बीभत्स हत्या भएका मानिसहरूलाई सम्झिएँ । के समाजका सबै मानिसले प्रेममा यस्तो उपासना गर्छन् ? गर्छन् भने किन लेखिएका छन् अमर प्रेमका कथाहरू ? किन गाइरहेको छ मानिसले प्रेमका गीतहरू ?

होला, उहाँले भनेजस्तो गर्ने मानिस पनि समाजमा होलान् । के अब उनीहरूको निजत्वका लागि हामी बलात्कृत भइदिनुपर्‍यो ? जन्मेको एक वर्ष पनि नपुग्दै योनि र पाठेघर च्यातिएर बाँच्नुपर्‍यो ? योनि लिएर जन्मेकै कारण मरिदिनुपर्‍यो ? एसिडले पोलेको अनुहार लिएर बाँच्नुपर्‍यो ? अर्को प्रसंगमा भूषिताजीले एडवार्ड एल्वीको ‘हु इज सिल्भी’ नाटकको पात्रको कुरा गर्दा मेरो दिमागमा बाख्री पाल्ने किसान आएनन्, जो बाख्रीहरूले कहिले बोका खोज्छन् भनी हेक्का राख्ने, बोकासँग तिनको समागम गराउने, ती गर्भवती भएको पक्का गर्ने, कुन प्रकारको घाँस खुवाउँदा तिनको गर्भ रहिरहन्छ वा उल्टिन्छ/तुहिन्छ भनी ख्याल गर्ने, गोठमा बाख्रीलाई बोकाहरूबाट जोगाउने, ब्याउने बेलामा बाख्रीको थुन र योनि सफा गरिरहने काम गर्छन् । त्यो प्रसंग पढेपछि मेरा आँखाअघि बरु बलात्कारपछि बीभत्स हत्या गरिएका कलिला छोरीहरूका अनुहार आए । छलकपट नभएका, शृङ्गारको चाहना र वस्तुवादी लोभ नभएका !

माफ गर्नुहोला, प्रेमलाई म जैविक प्रक्रियाको उच्चतम अभिव्यक्ति मान्छु, जहाँ यौनसम्बन्ध हुन पनि सक्छ, तर यौनसम्बन्ध मात्रै हुँदैन । प्रेममा मानिसले अर्काको भावनाको सम्मान गर्छ । यदि अर्काको भावनाको सम्मान गर्दैन र अपराध गर्छ भने त्यो अपराध नै हो । त्यसलाई प्रेम हो भनेर हजारौँ साहित्य र तथ्यांकका सन्दर्भ जोडे पनि मान्न सकिन्न ।

अर्को प्रसंग, कसैको यौनसम्बन्धको सामग्री सीसीटीभीमा रेकर्ड भयो रे । कुनै उमेर पुगेका जोडीले एकअर्कालाई पीडा नपुर्‍याई सहमतिमा आफ्नो निजी क्षेत्रमा गरेको प्रेमालाप (त्यो हस्तमैथुन होस् वा मुखमैथुन होस् वा अरू नै) का बारेमा हामीले किन जज गर्ने ? हामीलाई जनावरहरूको मैथुन हेर्दा असहज लाग्दैन तर मानिसले गरेको कुरा अनैतिक किन लागिरहन्छ ? उमेर पुगेका दुई मानिसबीचको प्रेमालापलाई हामीले नैतिकताको पगरी सीसी क्यामेरा भएर लगाएका हौँ कि यौन र प्रेमलाई हेर्ने हाम्रो विषाक्त नजरिया हो त्यो ? पक्कै पनि विषाक्त नजरिया हो, सीसीटीभी होइन ।

तपाईंको अभिव्यक्ति, अरूको कुण्ठा ?

सामाजिक सञ्जालमाथि भूषिताजीले गरेको टिप्पणी पनि मलाई चित्त बुझेन । म आफैँ मनमा उठेका आग्रह–पूर्वाग्रहदेखि सन्चो–बिसन्चोको खबरसम्म फेसबुकमा पोस्ट गर्छु । मेरा कैयौँ आफन्त, साथी, गुरुहरू र विद्यार्थीको हालचाल, प्रगति–अवनतिको खबर त्यही फेसबुकबाट फुर्सदमा लिन्छु । सामाजिक सञ्जालमा कैयौँ यस्ता व्यक्ति छन् जसलाई मैले चिनेकी हुन्न तर आवश्यक पर्दा ऊ पनि छ है भन्ने कुराले आफूलाई दरिलो बनाएको महसुस गर्छु । सामाजिक आन्दोलनका कैयौँ कार्यक्रम र कसैलाई विपत् पर्दा म सामाजिक सञ्जालमा भएका परिचित–अपरिचित सबै मानिसका लागि सूचना छोड्छु । सामाजिक सञ्जालमा भएका थोपाथोपा दबाबका कारण सरकारले लिएका कैयौँ गलत निर्णय सच्चिएका छन् भन्नेमा विश्वास राख्छु ।

मानिसले निजी कुराहरूलाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्छ । एक जनाले आफ्ना संघर्ष, सफलता, पीडा व धोकाबारे अर्कोलाई बताउँछ । मनोविज्ञानमा मानिसले आफूलाई अभिव्यक्त गर्ने स्पेस हुनुपर्छ भनिन्छ । भूषिताजीकै लेख पनि उहाँको अभिव्यक्तिको एक माध्यम हो । उहाँले आफूले पढेका र मनमा लागेका कुरा लेखेर दुनियाँलाई देखाउनु चाहिँ बौद्धिकता हुने, अरूले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिचाहिँ छिल्लिएको, प्रदर्शन गरेको वा कुण्ठा पोखेको मात्रै हुने ?

अर्को कुरा, समाजमा केही बौद्धिक हुनुहुन्छ, जसका व्यक्तिगत फेसबुक अकाउन्ट छैनन्; तर उहाँहरूलाई जानकारी छ, फेसबुकमा मानिसहरू कुण्ठा पोखिरहन्छन् । आधिकारिक नामको ट्वीटर अकाउन्ट पनि छैन; तर पनि थाहा छ, ट्वीटरमा बेनामे अकाउन्ट छन्, जसमा समाजका कथित ठालुहरूलाई मानिस गाली गर्छन् । भूषिताजीहरूलाई यस्तो जानकारी कहाँबाट प्राप्त हुन्छ ? कोही नजिकको मानिसको अकाउन्टको झ्याल वा उहाँहरूले नै भनिरहेको बेनामे अकाउन्टबाट ?

अन्तमा, सरकार सर्वसत्तावादी हुन्छ पनि भन्ने र फलाना–ढिस्काना वादले केही गर्दैनन् पनि भन्ने, मानिस आदिम छ अर्थात् जनवार नै छ पनि भन्ने र निजत्व वा भयंकर विचार बोकेर हिँड्छ पनि भन्ने, धर्म मानिसले शासन गर्न बनाएको पनि हो भन्ने र अपराधका घटना दैव जानून् पनि भन्ने, प्रेम पवित्र हो पनि भन्ने र विषाक्त मानसिकता पनि प्रेम हो भन्ने भूषिताजीको लेख मलाई सूचनाको आडमा आपराधिक मानसिकतालाई दार्शनिक कलेवर लगाइएको सामग्रीभन्दा बढी लागेन ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?