कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलतन्त्रले बनाएको भीडतन्त्र

तपाईं अविवेकी भीडको हिस्सा बन्ने कि आफ्नो स्वतन्त्र चेतलाई परख गर्नपट्टि लाग्ने ? पत्थर बनेर बसिरहने समय होइन यो, आफ्नै विवेकलाई थिचेको पत्थरलाई फुटाउने समय हो ।
चन्द्रकिशोर

नेपाली समाज अहिले दुई भागमा बाँडिन पुगेको छ, जसका कारण चार्ल्स डिकेन्सको उपन्यास ‘अ टेल अफ टु सिटिज’ को सम्झना हुन आउँछ । त्यसमा उनले चित्रण गरेका छन्, ‘केही मान्छेहरूका लागि यो सबभन्दा अच्छा दिन थियो, अरूका लागि सबभन्दा खराब । केहीका लागि यो विवेकको युग थियो, अरूका लागि मूर्खताको ।

दलतन्त्रले बनाएको भीडतन्त्र

केहीका लागि विश्वासको युग थियो, अरूका लागि सन्देहको । केहीका लागि आशाको वसन्त काल थियो, अरूका लागि निराशाको शीत थियो । केहीका सामुन्ने सबै थोक थियो, अरूका सामु केही थिएन ।’ यसमा ‘थियो’ को ठाउँमा ‘हो’ राखेपछि आजको नेपाली समाजको भयावह यथार्थको सिंगो तस्बिर सामुन्ने आउँछ । यहाँ सीमित व्यक्ति वा समूहका लागि ‘लोकतन्त्र’ छ भने अरूका लागि दमनकारी सत्ता ।

जो दल सत्तामा छन् वा शक्तिविन्यासमा भागबन्डा गर्न सक्ने सामर्थ्य राख्छन्, तिनका कार्यकर्ताहरू भुइँतहसम्म छन् । लोकतन्त्रमा दलहरू चाहिन्छन् र दलहरूलाई समर्थक । तर नेपालमा कार्यकर्तातिर फर्किएका दल होइन, नेतातिर फर्किएका कार्यकर्ताहरूको संरचना निर्माण भयो । कार्यकर्ताहरू नेताहरूका दैलाबाहिर जुत्ता अटाउने स्पेस खोज्न पाउँदैमा धन्य हुन्छन् । दलीयकरणले सामाजिक संरचनामा हेरफेर, स्वतन्त्र चेतमा नियन्त्रण र नव वर्गको उदय गरायो । जो दलीय ढाँचामा छैनन् ती कतै पनि संरक्षित छैनन् । नेताहरूको आत्मकेन्द्री भाव बुझेर त्यहीअनुसार बोल्ने र गर्ने भए, त्यसैबाट पद र पैसा हसुर्ने भए । उता नेतृत्वका लागि संगठन विस्तार भनेको आफ्नो स्वार्थको संरक्षण र महिमामण्डन भयो अनि त्यसका रणनीतिक औजार भए कार्यकर्ताहरू । नेतृत्वको अधिक केन्द्रीकरणका कारण कार्यकर्ताहरू रक्षात्मक हुँदै आए । जबकि नेपाली जनआन्दोलनले निर्दलीय तन्त्रलाई विस्थापित गरी ‘बहुदलीय’ लाई पुनःस्थापित गरेको थियो, उदार राजनीतिक संस्कारका लागि ।

यसरी सघन दलीयकरणले गर्दा समाजबाट स्वतन्त्र चेतमाथि अंकुश लाग्दै आयो । कार्यकर्ताहरूले आफ्नो ल्याकत बिर्से । उनीहरू नेताको अनुकम्पामा बाँच्ने परजीवी भए । दललाई वैचारिक र सांगठनिक रूपमा धारिलो बनाउन तल्लो तहका कार्यकर्ताहरूदेखि स्वतन्त्र चिन्तनका लागि उत्प्रेरणा दिइनुपर्ने प्रक्रियामा आघात गर्दै केन्द्रबाटै चरणामृत प्रवाहित गर्न थालियो, जसले कार्यकर्ताहरूलाई कूपमण्डूक बनायो । यस्तो अवस्थामा कार्यकर्ताहरू ‘व्यक्ति’ रहेनन्, दलको आवरणमा भीडको हिस्सा भए । दलले कार्यकर्ताहरूलाई अविवेकी भीडमा बदलिदिएको छ ।

देश र समाजको बृहत्तर हितको त कुरै छाडौं, कार्यकर्ताहरूले संविधानप्रदत्त आफ्नो नागरिक अधिकारप्रति समेत चासो देखाउन्नन् । दलीय प्रणालीले संसदीय सम्प्रभुतालाई शासक दलको सम्प्रभुतामा रूपान्तरण गरिदिएको छ । शासक दलमा आन्तरिक लोकतन्त्र नरहे यो सम्प्रभुता दलका विभिन्न गिरोहमा बाँडिन वा शीर्ष नेतामा एकछत्र केन्द्रित हुन पुग्छ । यस्तोमा नेताविशेषको चाहना, आँखीभौंको संकेत, शारीरिक हाउभाउलाई दलीय चिन्तनका रूपमा कार्यकर्ताहरू ग्रहण गर्न थाल्छन्, जसले दलतन्त्रलाई भेडातन्त्रमा छलाङ लगाउन टेवा दिन्छ । दलका कार्यकर्ताहरूको भीडमा तथ्य, तर्क र बुद्धिको सर्वथा लोप हुन पुग्छ । निजत्वको अनुभूति गर्ने व्यक्तिले कार्यकर्ता बन्ने योग्यता गुमाउँछ । अनि शीर्ष नेतृत्वले निहित स्वार्थलाई राष्ट्रवादको चास्नीमा घोलेर माथिबाट छर्किन्छ, यता अन्ध जमात मुख बाएर त्यो थाप्नमै आफ्नो सार्थकता रहेको ठान्ने गर्छ ।

दलको फासिज्म मूलतः भीडको फासिज्म हो । एक व्यक्तिलाई कसरी भीडको अभिन्नतासँग जोडिन्छ, यो प्रक्रिया नै नेपाली लोकतन्त्रको शोकान्तिका हो । भीड भनेको व्यक्तिको विलोममा तयार गरिने संरचना हो । आज दलले जसरी नागरिकलाई भीड बनाउँदै लगेको छ, यसको ‘पब्लिक रिडिङ’ त्यति राम्रो हुन सकिरहेको छैन । हो, कुनै पनि राजनीतिक दल भनेको यस्तो संगठित स्वरूप हो जसमा आबद्धहरूले समान राजनीतिक दृष्टिकोण राख्छन् । लोकतन्त्रले परिकल्पना गरेका दलहरू त सामाजिक गतिशीलता, नागरिकको सबलीकरण र आलोचनात्मक चेतलाई सामाजिकीकरण गर्ने माध्यम पो हुन् । आर्थिक–सामाजिक परिवर्तनका लागि दलसँग सिद्धान्त र लक्ष्य हुन्छन् । तर नेपालमा दलहरूले कार्यकर्ताहरूलाई कठपुतली पो बनाइदिए ।

कठपुतलीले, यन्त्रले स्वतन्त्र चिन्तन गर्न सक्दैन; आफ्नो हित–अहित छुट्याउन सक्दैन । कार्यकर्तारूपी यन्त्र–मानवले आफ्नै आँखासामुन्ने जे घटित भएको छ वा आफ्नो मनमस्तिष्कमा जे उब्जेको छ, त्यसलाई बेवास्ता गर्छ । उसले आफूलाई लागेका कुरा भन्न सक्दैन, देखेको कुरा दर्साउनबाट डराउँछ । कठपुतली बनेको व्यक्तिले सबभन्दा पहिला आफ्नो पहिचान गुमाउँछ; फुनगीबाट थुपारिएको नवपहिचानमा आफूलाई बाँधिएको पाउँछ जहाँ चेतनालाई विकृति पारिएको हुन्छ, भावनात्मक दोहन गरेर उसलाई केवल शीर्षहरूको स्वार्थपूर्तिको औजार ठानिएको हुन्छ । ती कार्यकर्ता नामक निरीह प्राणीलाई त्यस्तो कुरा मात्र सुनाइन्छ, जहाँ तिनले फरक तरिकाले सोच्नै सक्दैनन् । तिनीहरू केन्द्रीय व्यूह रचनाबाट प्रक्षेपित सूचनाको गोटी खाएर सधैं अर्को पक्षसँग भिड्न उत्तेजित भइरहन्छन्; तिनको दिमागलाई त्यसैअनुसार परिचालित गरिएको हुन्छ । आफ्नो असफलतालाई ढाकछोप गर्न वा शक्ति हत्याउने साँप–सिँढीको खेलमा लाभ पाउने हेतुले शीर्षले जहिले पनि नयाँनयाँ संकथन छर्ने गर्छ । नेता वा दलको शासन गर्ने अवधि ऊ भुइँमान्छेहरूसम्म पुग्न सक्ने सूचनालाई कतिको कुशलतापूर्वक नियन्त्रित गर्न सक्षम छ भन्ने पक्षबाट निर्धारित हुन्छ । किनभने यसैबाट भीडतन्त्रको निर्माण हुन्छ । यस्तोमा भुइँयथार्थको बलात्कार भइरहन्छ, जसको साक्षी यी कार्यकर्ता परिचयप्राप्त कठपुतलीहरू हुन्छन् ।

निर्वाचित निशाकाल त्यो हो, जहाँ राज्यका एकभन्दा बढी अंगबीच यसरी अन्तरघुलन हुन्छ, जसले तत्तत् संस्थाको स्वायत्ततालाई नै हरण गरिदिन्छ । यस्तोमा चौथो अंग भनिने मिडियाबाट सत्तादृष्टि नै अन्तिम सत्य भनेर प्रस्तुत गर्न थालियो भने त्यो दलतन्त्रलाई भीडतन्त्रमा फेरिएको उत्कर्ष अवस्था हुन पुग्छ । गरिबी, बेरोजगारी, सार्वजनिक स्वास्थ्य र शिक्षा, न्यायमा पहुँचजस्ता विषयलाई विपक्षी दलले उठाएपछि मात्र सत्ताले सुन्ने हो; स्वयं तिनका कार्यकर्ताहरूले देखे–भोगेका कुरा निर्धक्क उठाउने होइनन् । श्रेणीक्रममा केन्द्रभन्दा टाढा रहेका कार्यकर्ताहरू त सामान्य अवस्थामा बढी जनसरोकारसँग परिचित हुन्छन्, तर त्यसका लागि केही गर्दैनन् । आममान्छेका समस्या र संकट किन उनीहरूले उठाउँदैनन् ?

संविधानले तोकेका शिक्षा र स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकार व्यवहारमा लागू गर भन्नु कसरी दलविरोधी गतिविधि हुन्छ ? सबै नेपालीले निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था प्राप्त गर्न सकेको छैन भनेर दलपतिलाई भन्न सकिँदैन ? अहं, सत्तारूढ दलका कुनै सदस्य चूँ गर्दैनन् । किनभने उनीहरूको वैयक्तिक विवेक दलमा बन्धकी हुन पुगेको छ र उनीहरू दलद्वारा निर्माण गरिएको अविवेकी भीडको हिस्सा बन्न पुगेका छन् । यो भीड सत्तास्वार्थको कवच हुन पुग्छ । कसैले यथास्थितिका विरुद्ध बोल्न थाले प्रत्याक्रमण गर्न यही भीड जाइलाग्छ । दलहरूलाई कहिलेसम्म शंकाको लाभ दिने ? आक्षेपका निश्चित आधारहरू छन् । तर पनि भन्नुपरेको छ– दलीय अभ्यास आफैंमा खराब होइन, यसका सारथिहरूको स्वार्थ र शैलीले गर्दा यस्तो दुर्दशा भोग्नुपरेको हो । एउटा दलले अर्कोका राम्रा अभ्यासहरू सिक्दै लोकतन्त्रको उपस्थिति र सेवा वितरणको विकेन्द्रीकरणप्रति सजगता अपनाउन सक्थे । तर यहाँ सत्ताबाहिर रहेका मुख्य दलहरूमा पनि उही ढंग र ढाँचा छ । यसले राजनीतिमा संलग्न सिंगो तप्कालाई नै असलमा ‘जीविकावाद’ मा संलिप्त गराइदिएको छ । कार्यकर्ताहरू कानुन र अधिकारका दृष्टिले सोच्दैनन्; दलले जे अह्रायो, जे घोकायो त्यही गर्छन्, त्यही बोल्छन् । फुनगीबाट डिजिटल माध्यममा आएका कुसूचना, अफवाह, अर्धसूचना वा कुतर्कबारे निमेषभर सोच्दैनन्; कपी–पेस्ट गर्छन् र पोस्ट गर्छन् वा सोझै सेयर/फरवार्ड गरिहाल्छन् । यस्तो गर्दा त्यस्ता कार्यकर्ताले आफ्नो व्यक्तिगत जिम्मेवारीबाट पनि आफूलाई मुक्त राख्न पाउँछन्, किनभने तिनले स्वतन्त्र चेत राख्न मन गरे भने अनेकौं प्रश्न उठाउनुपर्ने हुन्छ ।

यी कार्यकर्ताहरूले आफ्नो ‘व्यक्तिध्वंस’ नगरेका भए डाक्टर गोविन्द केसीका माग असामयिक हुने थिएनन्; उनले पटके अनशन बस्नुपर्ने थिएन । दलले निर्माण गर्ने भीडको मनोविज्ञानले कार्यकर्ता र हितैषीवृत्तलाई एउटा निर्देशित सोचका निम्ति उत्प्रेरित गर्छ जहाँ त्यो व्यक्तिले आफ्नै हितमाथि बन्चरो चलाउन पुग्छ । नत्र भने कसलाई थाहा छैन, केसीले अनशनमा उठाएका मागको चुरो हो– सबै नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता । के यो मागमा एकएक कार्यकर्ताको हित गाँसिएको छैन ?

दलतन्त्रले जब आफ्नो हितसमूहलाई भीडतन्त्रमा ढाल्छ, त्यहाँ उत्पन्न आवेग कहिल्यै ज्ञान र विवेकमा परिणत हुँदैन । यस्तो भीडलाई देशको वास्तविक समस्याको मतलब हुँदैन । तिनलाई त्यस कुराको समर्थक बनाइन्छ जो नक्कली हुन्छ । र, जब व्यक्तिगत विवेक र विचार निलम्बित गर्ने फराकिलो वृत्त बन्न पुग्छ, स्वभावतः त्यसको छालले किनारामा रहेकाहरूलाई समेत आफ्नो संवेगसँग जोड्छ । यसकारण पनि नागरिक हित वा भनौं लोकतान्त्रिक हितप्रति हस्तक्षेपकारी दबाब बन्न सकिरहेको छैन । यस्तोमा सचेत नागरिकबाट गरिने आन्दोलन अहिंस्रक हुन जरुरी छ ।

अन्यायका विरुद्ध प्रत्येक स्तरमा संघर्ष गर्नु आवश्यक छ र त्यसको सुरुआत त्यो पहिलो अन्यायबाट गर्न सकिन्छ जसलाई देखेर तपाईंभित्र असहमति वा क्रोध उत्पन्न हुन्छ । किनकि सम्भावना यही हुन्छ– त्यही अन्यायलाई देखेर ती व्यक्तिहरूलाई पनि रिस उठ्न सक्छ जसलाई तपाईंले चिन्नुहुन्छ । विगत अनुभवले देखाएको छ, एक व्यक्तिको असहमति, एक व्यक्तिको अन्यायविरुद्धको कारबाहीले अन्य व्यक्तिलाई समेत अन्यायविरुद्ध लड्न प्रेरित गर्छ । तपाईं–हामीले ससाना अन्यायविरुद्ध इमानदारीपूर्वक प्रश्न गर्‍यौं, असहमति जनायौं भने ठूला अन्यायविरुद्ध गोलबन्द हुने प्रक्रिया सुरु भैहाल्छ । अहिले ठाउँठाउँबाट शासकीय वा सामाजिक सत्ताविरुद्ध जे–जति हाँक दिने काम हुँदै छ, यो त्यही प्रक्रिया हो । के तपाईं यस्तो एउटा उदाहरण सम्झिन सक्नुहुन्छ, जहाँ कोही एउटा व्यक्ति अथवा केही व्यक्तिबाट असमानता, अन्याय वा बेथिति सपार्ने काम भएको छ ? इतिहास किताबमा मात्र पढिँदैन, इतिहासको अनाम पात्र बन्ने मौका पनि जुर्छ । तपाईं अविवेकी भीडको हिस्सा बन्ने कि आफ्नो स्वतन्त्र चेतलाई परख गर्नपट्टि लाग्ने ? पत्थर बनेर बसिरहने समय होइन यो, आफ्नै विवेकलाई थिचेको पत्थरलाई फुटाउने समय हो ।

प्रकाशित : आश्विन २२, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?