कांग्रेसमा आन्तरिक रगडा- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसमा आन्तरिक रगडा

कांग्रेसलाई अहिले कसैको बपौती, कसैको अपुताली, कसैको अंशियारी र कसैको जमिनदारीमा प्लटिङ गरिएको छ । त्यति लामो इतिहास, आदर्श र जीवनमूल्य बोकेको एवं राजनीतिक आन्दोलनको पर्यायवाची रहेको पार्टीका लागि यो अत्यन्त दुःखद स्थिति हो ।
किशोर नेपाल

काठमाडौँ — आगामी फागुन ७ गते प्रारम्भ हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने लगभग निश्चित छ । कोरोना महामारीका कारण महाधिवेशन जेठमा सार्ने, त्यो सम्भव नभए भदौमा सार्ने खालका चर्चाहरू पार्टी परिसरमा सुनिने गरेका छन् ।

महाधिवेशन जेठसम्मका लागि सार्नुपर्ने धारणामा असहमति छैन । तर, कोरोनाको नाउँमा महाधिवेशनलाई आगामी २०७८ भदौसम्म लम्ब्याउन कांग्रेसका नेता र कार्यकर्ता सहमत देखिँदैनन् । महाधिवेशनसम्बन्धी ‘महत्त्वपूर्ण’ निर्णय लिन असोज १९ गतेका लागि कांग्रेस कार्यसमितिको बैठक बोलाइएको छ । त्यसभन्दा अघि नै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध कार्यसमितिका २७ जना सदस्यको विरोध वक्तव्य प्रसारित गरिसकेका छन् । यो अवस्थामा कांग्रेस महाधिवेशनसम्बन्धी विवादको टुंगो कसरी लाग्ला, यसै भन्न सकिँदैन । सभापति देउवाले नेता गोविन्दराज जोशीलाई वरिष्ठ नेता पौडेललाई चुनाव हराएको आरोप लगाएर पार्टीबाट किनारा लगाएपछि पौडेलको सद्भाव पाउने अपेक्षा गरेका थिए भने त्यो कुण्ठित भएको छ । उनको त्यो गुनको बदला वरिष्ठ नेता पौडेलले अहिले राम्रैसँग तिरेका छन् । कार्यसमितिका २७ जना सदस्यलाई सभापति देउवाविरुद्ध वक्तव्यबाजीको एउटै मालामा समेटेर पौडेल सभापति देउवालाई घुर्क्याइरहेका छन् । यस्तो लाग्छ, सभापति देउवा र वरिष्ठ नेता पौडेलले पार्टीलाई कुस्तीको अखडा बनाएका छन् ।

निश्चय पनि, सभापति देउवाले विधानसम्मत काम गरेका छैनन् । उनले आफ्नै सभापति पद तदर्थमा रूपान्तरित भैसकेको अवस्थामा जसरी पार्टीका विभिन्न समिति गठन गरेका छन्, त्यो कुनै पनि हालतमा न्यायोचित काम होइन । यसरी गठन भएका समितिहरूको सान्दर्भिकता महाधिवेशनमा सभापति देउवाको स्वार्थसँग जोडिएको छ । यसलाई सोझो अर्थमा चालबाजी भन्न सकिन्छ । सभापति देउवाले यी विभिन्न समितिमा विभिन्न समूहका मानिस राखेका छन् । उनले हिन्दुत्वको वकालत गर्ने खस–आर्य समूहका नेतादेखि माओवादी आन्दोलनको निन्दा गर्ने अनि राष्ट्रवादको नाउँमा आँखा चिम्लेर सुधारिएको नेपालको झन्डाको समर्थनमा प्रधानमन्त्री ओलीको पछि लाग्ने रैथाने कार्यकर्तादेखि युवा र तरुणको नाउँमा मुन्द्रे, जन्तरे, कुण्डले, दलाल, हुल्लडबाज र बिचौलियासम्मलाई पार्टीमा घुसाएका छन् । देउवाको यो चालबाजीविरुद्ध वरिष्ठ नेता पौडेलले वक्तव्यबाजीबाहेक केही गर्न सकेनन् । किन सकेनन् ? किन उनको नेतृत्वमा समेटिएका कांग्रेसका भीमकाय नेताहरूले यसको सक्रिय प्रतिरोध गरेका छैनन् ? वरिष्ठ नेता पौडेलसँग प्रश्नको जवाफ दिन सक्ने हैसियत नै छैन ।

आफैं विभिन्न गुट र उपगुटमा विभाजित पौडेल समूहले सभापति देउवासँग संलग्न भएर उनलाई राजनीतिको बिसातमा पराजित गर्ने चाहना नै राखेन । पौडेल समूहको यो विरोध र वक्तव्यबाजीले सभापति देउवाको मनोबल बढाएको छ । वरिष्ठ नेता पौडेलले जहाँ हात हालेर सभापतिलाई मात दिन सकिन्थ्यो, त्यहाँ हातै हालेनन् । कोरोना महामारीको व्यवस्थापनमा सरकार पूरै चुकेको र स्वास्थ्यसेवाका उपकरणहरूको खरिदमा भएका भ्रष्टाचारको प्रसंगमा सभापति देउवालाई पौडेल समूहले दबाब दिनै सकेन । कोरोनाको सन्दर्भमा कांग्रेस पार्टीको ध्यान केन्द्रित हुनै सकेन । वरिष्ठ नेता पौडेल र उनीसँग रहेका कांग्रेसका भीमकाय व्यक्तित्वहरू निष्प्रभावी साबित भए । कोरोनाले सिर्जना गरेको असामान्य समयमा पनि सभापति देउवा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ‘कृपादृष्टि’ पाउने र ‘भागबन्डा मिलाउने’ राजनीतिमा खुलेआम लागेका छन् । सामान्य जनताले पनि यो कुरा थाहा पाएका छन्— ओली र देउवाको ट्युनिङ मिलेको छ ।

प्रधानमन्त्री ओलीले अचानक संसद् अधिवेशनको अन्त्य गर्दा प्रमुख प्रतिपक्षी नेता देउवाले थाहै नपाएजस्तो गरे । वरिष्ठ नेता पौडेलका पक्षमा लागेका महामन्त्री शशांक कोइरालाले ‘सभापति रातिराति बालुवाटार जान्छन्, के गर्छन् थाहा छैन’ भनेर हलुका प्रतिक्रिया दिए । तर, वरिष्ठ नेता पौडेलले आफ्नो राजनीतिक प्रतिभाको प्रयोग गरेर पार्टीलाई मूलबाटोमा ल्याउने प्रयास रत्तीभर गरेनन् । सभापतिले मलाई टेरेनन् र सुनेनन् भन्ने गुनासो गरेर वरिष्ठ नेताको दिन बितेको छ । कांग्रेसका कथित महारथीहरू किन उनको पछि लागेका छन् ? कसैले भन्न सक्दैन । कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको व्यक्तित्वमा कुनै भिन्नता छैन । आफ्नो स्वार्थसिद्धिका लागि दुवै नेता पार्टीको प्रतिष्ठालाई लतार्न तत्पर देखिन्छन् ।

नेपाली कांग्रेस राजनीतिक पार्टी मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलन थियो । बीपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको क्रान्तिसँगै नेपालको आधुनिक इतिहासको प्रारम्भ भएको थियो । यो पार्टीले आफ्नो राजनीतिक आस्थाको जगेर्ना गर्न सधैं संघर्ष गर्‍यो । कांग्रेसको नेतृत्वले त्याग र समर्पणको भावना नभएसम्म राजनीतिको महत्त्व नरहने कुरा बुझेको थियो । बीपी कोइरालाले देशमा प्रजातन्त्र बहाली गर्ने क्रान्तिको संयोजन र समाजवादी आदर्शको प्रवर्द्धनका लागि स्थापना गर्नुभएको पार्टीलाई अहिले कसैको बपौती, कसैको अपुताली, कसैको अंशियारी र कसैको जमिनदारीमा प्लटिङ गरिएको छ । त्यति लामो इतिहास, आदर्श र जीवनमूल्य बोकेको एवं राजनीतिक आन्दोलनको पर्यायवाची रहेको पार्टीका लागि यो अत्यन्त दुःखद स्थिति हो । यो स्थितिका लागि अहिले संस्थापन र प्रतिपक्षमा विभाजित भएका कथित नेतागणसहित सबै उत्तिकै जिम्मेवार छन् ।

अन्ततः नेपाली कांग्रेस आपसी विवादको अनन्त भुंग्रोमा फस्ने ‘नियतिको ज्ञान’ थियो किशुनजीलाई । २०४६ सालमा सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको राष्ट्रिय जनआन्दोलनपछि कांग्रेसभित्र विकसित भएको चर्को विवादलाई संकेत गर्दै किशुनजी भन्नुहुन्थ्यो, ‘अहिले पार्टीमा जे भइरहेको छ, त्यो झगडा होइन । झगडा भए त मेलमिलाप भैहाल्छ । अहिले त झगडा होइन, रगडा भइरहेको छ । रगडाले सबै कुराको अन्त्य गराउँछ ।’ किशुनजीले मूल्यको राजनीति गर्नुभयो । उहाँको राजनीतिमा कुनै निहित स्वार्थ लुकेको थिएन । उहाँ शब्द र इसाराले पनि हिंसा गर्नुहुन्नथ्यो । आफ्नै नेतृत्वमा भएको चुनावमा आफैं पराजित भएपछि त्यसलाई सहजै स्विकार्ने र प्रतिवादमा रिकाउन्टिङसम्म गराउन तयार नहुने नैतिक पुरुष हुनुहुन्थ्यो उहाँ । सर्वमान्य नेता गणेशमान सिंह पार्टीबाट पलायन हुनुभएपछि किशुनजी पनि धेरै समय सक्रिय हुनुभएन पार्टीमा । उहाँ निष्क्रिय भइदिनुभयो । त्यसपछि त कांग्रेस पार्टीमा त्यति व्यापक नैतिक आधिकारिकता भएको कोही व्यक्ति बाँकी नै रहेन जसले निरन्तर खबरदारी गर्न सकोस् ।

गिरिजाप्रसाद कोइराला, पहिलोपटक निर्वाचित प्रधानमन्त्रीको शपथ लिँदा, पार्टी महामन्त्री हुनुहुन्थ्यो । पछि किशुनजीलाई सभापति पदबाट हटाएर आफैं पार्टी सभापति हुनुभयो । किशुनजीले खुसीखुसी गिरिजाबाबुलाई सभापतिको पद हस्तान्तरित गरिदिनुभयो र आफू पृष्ठभूमिमा बस्नुभयो । यसका साथै, बीपी कोइरालाको निधनपछि कांग्रेसभित्र सुरु भएको, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, नेतात्रयको अवधारणाको पनि अन्त्य भयो ।

प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले पूर्वार्द्धमा राम्रैसँग सरकार सञ्चालन गर्नुभयो । तर, उत्तरार्द्धमा गणेशमान सिंह र किशुनजीसँग उहाँको सम्बन्ध बिग्रियो । कोइरालाका अगाडि पार्टी गौण भयो र सरकार प्रबल । यही तानातानीमा उहाँले मध्यावधि चुनाव गराउनुभयो । चुनावका लागि उहाँलाई राजदरबार, सुरक्षा संयन्त्रहरू, गुप्तचर, पार्टी र परिवारका सदस्यहरू सबैले उक्साएका थिए । उहाँको लोकप्रियताको ढिँढोरा पिटिएको थियो । तर, मध्यावधि चुनावले कांग्रेस पार्टीलाई भुत्ते बनाइदियो । कांग्रेसको विकल्पमा संवैधानिक राजतन्त्र र जनताको बहुदलीय जनवादको नारा दिने कम्युनिस्ट डिजाइनको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) देखा पर्‍यो । तर, देशमा फैलिएको असन्तोषलाई न कांग्रेसले न एमालेले, कसैले पनि देख्न र बुझ्न सकेन । पछि, यही असन्तोष हिंसामा परिणत भयो । मूलधारका राजनीतिक दलहरू खुम्चिँदै गए । माओवादी सशस्त्र विद्रोहको प्रभाव विस्तारित हुँदै गयो । एउटा समय यस्तो पनि आयो, दलहरूको शासन सदरमुकाममा केन्द्रित हुन बाध्य भयो । माओवादीहरू सदरमुकामको सिमानामा बन्दुक बोकेर उभिए ।

त्यसपछिका घटनाक्रमहरूको ज्ञान सबैलाई छ, यहाँ त्यसको उल्लेख गरिरहनु नपर्ला । संविधानसभाको निर्वाचनपछि राजतन्त्रको समाप्ति ऐतिहासिक घटना थियो नेपालका लागि । नेपालबाट शाहवंशीय राजाहरूको सूर्य कहिल्यै नअस्ताउने विचार राख्ने मानिसहरू हेरेका हेर्‍यै भए । यो आफैंमा कालजयी घटना थियो । अहिले तत्कालीन घटनाक्रमको अवमूल्यन गर्ने र खिल्ली उडाउने गुमास्ताहरू त्यतिखेर भूमिगत थिए । यहाँसम्मको राजनीतिमा कांग्रेसको भूमिका निकै सन्तुलित थियो । संविधानसभाको निर्देशअनुसार भएको राष्ट्रपति चुनावमा माओवादी र कांग्रेसबीच भएको भनिएको गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बनाउने समझदारी कायम रहेन । राष्ट्रपति चुनावमा माओवादीको होइन, कांग्रेसका उम्मेदवार विजयी भए । प्रधानमन्त्री भए पुष्पकमल दाहाल प्रचण्ड । तर, उनका केही सहयोगीहरू उनीविरुद्ध षड्यन्त्रमा लागिसकेका थिए । सेनाप्रमुखको पदबाट जर्नेल रुक्मांगद कटवालको बर्खास्तगी प्रचण्डको आफ्नो निर्णय थिएन । त्यो बाबुराम र बादलको अहमत्याइँ थियो । यसले अन्ततः माओवादी पार्टीलाई नै छिन्नभिन्न बनायो ।

कांग्रेसका धेरै नेताले जनयुद्धपछि देशको संरचनागत र संस्थागत परिवर्तनलाई अहिलेसम्म पनि आत्मसात् गर्न सकेका छैनन् । कांग्रेसको सत्तामा अहिले पनि खस–आर्य समूहको प्रभुत्व छ । धार्मिक स्वतन्त्रताको विकल्पमा हिन्दु राष्ट्रको कल्पना गर्ने नेताहरूको कुनै कमी छैन । यो पार्टीलाई अहिलेका नेताहरूले मागिखाने भाँडो बनाएका छन् । यसमा अलिकति पनि जुझारुपन छैन । यसले प्रतिदिन आगामी चुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई चुनौती दिने साहस गुमाउँदै गएको छ । पार्टीका नेताहरूमा सत्ताको तृष्णा अत्यधिक रहने हो भने यो पार्टीको अवस्था पनि भारतीय कांग्रेस पार्टीको जस्तै हुनेछ, जहाँ आमा सोनिया गान्धी, छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धीका आ–आफ्नै स्वतन्त्र गुट रहेको ठट्टा गरिन्छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले देशका लागि बगाएको रगत–पसिनाको मूल्य ब्याज र स्याजसहित उठाइसकेका छन् । उनीहरूले आगामी समयका लागि सभापतिको दौडमा नेपाली कांग्रेस, लोकतान्त्रिक गणतन्त्र, संघीयताका लागि पसिना बहाउन सक्ने नेतृत्वका लागि बाटो छोडिदिनुपर्दछ । सभापति देउवा र वरिष्ठ नेता पौडेलले यति त्याग गर्न सके भने कांग्रेसको धेरै ठूलो बोझ हलुका हुनेछ । वयोवृद्ध नेताद्वयबाट कांग्रेसीहरूले यति त्यागको आशा गरेका छन् भने यो अस्वाभाविक होइन ।

(बिहीबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन १४, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानको शिक्षण अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानका डा.अनुपमंगल समालले जनाए । ‘परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना देखिएको छ,’ उनले भने, ‘संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरेका छौं ।’

प्रकाशित : आश्विन १४, २०७७ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×