कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

डाटा प्रभुत्ववादमुनि अबको विश्व

एक्काइसौं शताब्दीको पुँजीवादको मुख्य रुप डाटाको संकलन, निजी डाटाको खरिद–बिक्री बन्न पुगेको छ ।
सुरेन्द्र पाण्डे

जर्मन इन्जिनियर तथा अर्थशास्त्री क्लाउस मार्टिन स्वाबले सन् २०१६ मा स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक सम्मेलनमा चौथो औद्योगिक क्रान्ति आरम्भ भएको उल्लेख गरे । उनले चौथो औद्योगिक क्रान्ति विगतका सबै औद्योगिक क्रान्तिभन्दा आधारभूत रूपले भिन्न हुने बताए । उनले यस क्रान्तिले नयाँ प्रविधिहरूद्वारा भौतिक, डिजिटल र जैविक विश्वलाई फ्युजन गरी अर्थतन्त्र तथा उद्योगको क्षेत्रमा मात्र होइन, मानवजाति सर्वश्रेष्ठ हो भन्ने तथ्यलाई नै चुनौती दिन सक्ने बताए ।

डाटा प्रभुत्ववादमुनि अबको विश्व

सन् २०११ मा अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआईटी) का एरिक ब्राएनलोल्फसन र एन्ड्र्यु म्याक्याफीले आफ्नो पुस्तक ‘दोस्रो मेसिनयुग’ मा यो युग धेरै संज्ञानात्मक (कग्निटिभ) कार्यहरूको स्वचालन (अटोमेसन) मा संलग्न द्वन्द्व, जसले गर्दा मानिस र सफ्टवेयर सञ्चालित मेसिनले एकअर्काको पूरकका रूपमा नभई एकले अर्कालाई विस्थापन गर्नेछ भनी औंल्याए । किनभने सफ्टवेयरले मानिसले भन्दा वस्तुगत रूपले लगातार र छिटो गतिविधिको मूल्यांकन गर्ने र मानिसको संलग्नताबिना नै अल्गारिदमले कर्पोरेटहरूको आयलगायत अनेकौं विषय र क्षेत्रमा पूर्वानुमान गर्छ ।

सन् १९५० देखि कम्प्युटरको विकासपछि दोस्रो मेसिनयुगको आरम्भ भयो । अहिले कम्प्युटर हार्डवेयर, सफ्टवेयर र सञ्जालहरू डिजिटल प्रविधिको अंग बनेका छन् । समाज र अर्थतन्त्रका लागि यो अठारौं शताब्दीको वाष्प इन्जिनजस्तै महत्त्वपूर्ण र रूपान्तरकारी छ । सन् १९६० मा अमेरिकी रक्षा विभागले विकास गरेको इन्टरनेट कम्प्युटर सञ्जाललाई जोड्ने विश्व प्रणाली बनेको छ । इन्टरनेटले सुरुदेखि अन्तसम्म अर्थात् सर्भरदेखि ग्राहक र ग्राहकदेखि सर्भरसम्म वा ग्राहकदेखि ग्राहकसम्म डाटा सूचना प्रवाह गर्छ । यसलाई सूचना वाहन वा महामार्ग पनि भनिन्छ ।

दोस्रो मेसिनयुग उत्कर्षतिर

सन् १९८९ मा एक ब्रिटिस कम्प्युटर वैज्ञानिक टिम बर्नर्स्लीले विश्वव्यापी सञ्जालको अवधारणा अघि सारे । सन् १९९० को दशकको अन्तदेखि इन्टरनेटको तीव्र प्रयोगसँगै कम्प्युटरको गणना गर्ने क्षमता पनि ह्वात्तै बढ्यो । यसै पृष्ठभूमिमा सन् १९९९ मा आधिकारिक रूपमा इन्टरनेट अफ थिङ्सको अवधारणा देखा पर्‍यो । यो दोस्रो मेसिनयुगको र चौथो औद्योगिक क्रान्तिको चुरो पूर्वाधार तत्त्व हो । एक तथ्यांकका अनुसार, अबको एक दशकमा ८० अर्बभन्दा बढी आईओटी उपकरणहरू एकआपसमा जोडिई जनताले एकआपसमा सम्पर्क र सञ्चार प्रवाह गर्नेछन् । लन्डनस्थित बजार विश्लेषक कम्पनी आईएचएसको प्रक्षेपणअनुसार, सन् २०१५ मा प्रयोग भएको १५.४ अर्ब आईओटी उपकरण २०२५ सम्ममा ७५.४ अर्ब पुग्नेछन् । सन् २०३० सम्म पुग्दा आईओटीको प्रयोगबाट विश्वको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत वृद्धि हुनेछ अर्थात् १४ ट्र्रिलियन अमेरिकी डलर विश्व अर्थतन्त्रमा थपिनेछ । आईओटीले हरेक मुख्य उद्योग, स्वास्थ्य सेवा, वित्तीय प्रणाली, यातायात, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण, कृषि, स्मार्ट सहर सेवादेखि अनगिन्ती क्षेत्रमा प्रभाव पार्नेछ ।

सन् २००५ मा रोजर मौगलसले ‘बिग डाटा’ को नामकरण गरे जसको आकार लगातार बृहत् बन्दै छ । सन् २०१२ सम्ममा रहेको केही टेराबाइट डाटाबाट जेट्टाबाइट (१ जेट्टाबाइट बराबर १ हजार अर्ब गिगाबाइट) मा पुगेको छ । आईएचएस मार्केटको प्रक्षेपणअनुसार, २०१७ सम्ममा इन्टरनेटमा जोडिएका लगभग २० अर्ब फोन, कम्प्युटर, सेन्सर र अरू उपकरणमा सन् २०२० सम्ममा अर्को १० अर्ब थपिनेछ । बजारको सूचना अध्ययन गर्ने फर्म आईडीसीका अनुसार, सन् २०१७ देखि २०२५ बीचमा विश्व ‘डाटा क्षेत्र’ वार्षिक ३० प्रतिशतले वृद्धि हुनेछ । सन् २००८ मा उत्तर अमेरिकाका तीन वैज्ञानिकले कृत्रिम बुद्धि (एआई) को विकासमा उच्च फड्को मार्दै डिप लर्निङ अल्गारिदमको विकास गरे । अल्गारिदमले ठूलो मात्रामा डाटाको अध्ययन विश्लेषण गर्न, मानिसले जस्तै निर्णय गर्न वा भविष्यवाणी गर्न सक्छ । यस्तो एआईले वा मेसिन लर्निङले भाषाको अनुवाद, व्यक्तिको स्वर पहिचान, सडक र मानव व्यवहारको डाटा अध्ययन गरी रोबोटद्वारा चालकरहित गाडी चलाउनेजस्ता काम सम्भव भएको छ । यसको माध्यमबाट अहिले बैंकको स्वरूपलाई परिवर्तन गर्न मात्र होइन, डिजिटल मुद्राले नोट र सिक्कालाई विस्थापन गर्न र कारोबारको सूचनालाई केन्द्रीकृत गर्न सकिनेछ । सन् २०३० मा पुग्दा एआईले मात्र विश्वको गार्हस्थ्य उत्पादनमा १६ ट्रिलियन अमेरिकी डलर वृद्धि हुनेछ ।

सन् २००८ मा एप्सको निर्माण एवं गुगल र एप्पलले एप्स स्टोरको सेवा सञ्चालन गरे । सन् २०२० को प्रथम त्रैमासिकसम्ममा गुगल स्टोरमा २५ लाख ६० हजार, एप्पल स्टोर (आईओएस) मा १८ लाख ८५ हजार, विन्डोज स्टोरमा ६ लाख ६९ हजार र अमेजन स्टोरमा ४ लाख ९९ हजार एप्स छन् । सन् २०१९ को अन्तसम्म सबै एप्स स्टोर्सबाट २०४ अर्ब चोटि डाउनलोड भएको छ । एक अनुमानअनुसार, युरोपियन युनियनभित्र रहेका देशहरूमा मात्र प्रतिवर्ष १० अर्ब युरो बराबरको अर्थतन्त्र एप्सले सृजना गरेको छ र ५ लाख २९ हजारले रोजगारी पाएका छन् । जुन २०२० को तथ्यांकअनुसार, रोब्लोक्स नामको खेल एप्सले मात्र प्रतिदिन २७ लाख ४० हजार अमेरिकी डलर कमाउने गरेको छ ।

फाईभजी सूचना सञ्जालले नयाँ औद्योगिक क्रान्तिको आधारशिला तयार पारेको छ । यसले स्मार्ट समुदाय, यातायात र सहरहरू बनाउने सम्भावना प्रदान गर्छ । दक्षिण कोरिया र चीनले सिक्सजीको समेत अनुसन्धान सुरु गरिसकेका छन् एवं त्यो सन् २०२७ सम्ममा बजारमा आउने अनुमान गरिएको छ । अमेरिकी अर्बपति जेफ बेजोसले ब्लुओरिजिन नामक कम्पनी खडा गरी ‘अन्तरिक्षको औद्योगीकरण’ र अन्तरिक्षमा ‘मानव पर्यटन’ को योजना अघि सारेका छन् । अर्का अमेरिकी अर्बपति एलोन मस्कले स्पेसएक्स नामक कम्पनी स्थापना गरी मंगल ग्रहमा आधिपत्य गर्ने योजना अघि सार्दै सन् २०५० सम्ममा मंगल ग्रहमा मानव सहर निर्माण गर्ने घोषणा गरेका छन् । युरोपियन युनियनले अन्तरिक्ष योजनाअन्तर्गत एरियन–६ निर्माण गर्दै छ भने, चीनले लिंक स्पेस नामक कम्पनी खडा गरी पुनः प्रयोग हुने लन्चरको पहिलो कदमको परीक्षण गरिसकेको छ । जापान, भारतजस्ता देशहरू पनि त्यस्तै प्रयासमा छन् ।

कर्पोरेटतन्त्र, डाटा प्रभुत्ववाद र सर्भेलेन्स पुँजीवाद

अमेरिकी उपन्यासकार, सम्पादक र प्रोफेसर एडगर लरेन्स डक्टोरोले डिजिटल युगको मुटु भनेको बहुराष्ट्रिय निगमहरूमा केन्द्रित सत्ता रहनु हो भनेका छन् र उनी त्यसलाई कर्पोरेटोक्रेसी भन्न उपयुक्त ठान्छन् । स्मिरनाइओसले सन् २०१६ मा गुगल, अमेजन, फेसबुक र एप्पललाई चार जनाको गिरोहको संज्ञा दिएका छन् । उनले तिनलाई छोटकरीमा ‘गाफा’ (जीएएफए) का रूपमा चित्रित गर्दै तिनीहरूले ठाडो र तेर्सो सत्ता खडा गर्दै एकआपसमा साझेदारी गरेको बताएका छन् । उनले सन् २०१७ मा एसियाली भीमकाय निगम सामसुङ, अलिबाबा, बाइडु र टेन्सेन्ट पनि माथिकै परिभाषाभित्र पर्ने बताएका छन् ।

सीएनबीसी टेलिभिजनका कार्यक्रम सञ्चालक जिम केमरले सन् २०१३ मा फेसबुक, एप्पल, अमेजन, नेटफ्लीक्स र गुगल (एफएएएनजी) ले बजारमा पूर्ण नियन्त्रण गरेको बताएका छन् । सन् २०१५ पछि चिनियाँ कम्पनीहरू हुवावे, डीडी, जेटटीई र बाइट डान्स तथा विश्वस्तरका सामसुङ, इन्टेल, सिस्को र ओरेकल उदीयमान टेक जाइन्टका रूपमा छन् । ती भीमकाय टेक कम्पनीको सन् २०२० को पुँजीकरणको तथ्यांक हेर्दा एप्पलको १५७६, अमेजनको १४३३, अल्फाबेट (गुगल) को ९८०, फेसबुकको ६७६, टेन्सेन्टको ६२१ र अलिबाबाको ५८० अर्ब अमेरिकी डलर छ । यी कम्पनीहरू विश्वका एकदेखि क्रमशः सातौं धनी हुन् र यिनीहरूको सम्पत्ति कैयौं देशको भन्दा पनि धेरै छ । यस्ता डाटा वा प्रविधि भीमकाय कम्पनीहरूले ऊर्जा वा तेल निगमहरूदेखि मिडियालगायत सबै क्षेत्रलाई उछिनिसकेका छन् ।

सन् २०१४ मा अमेरिकी लेखक तथा विद्वान् सोसना जुबोफले ‘बिग डाटा’ सर्भेलेन्स पुँजीवादमा विकास भएको जनाएकी छन् । उनी भन्छिन्, ‘यो सर्भेलेन्स पुँजीवादको चुरो त्यस्तो आर्थिक प्रणाली हो जसले निजी डाटालाई नाफाको उद्देश्यले वस्तुका रूपमा किनबेच गर्छ ।’ आज डाटा वा सर्भेलेन्स पुँजीवादले विश्वको शक्ति संरचनालाई परिवर्तन गरेको छ । खास गरी राष्ट्र–राज्यको शक्ति सन्तुलन कमजोर बनी थप रूपमा ठूला निगमतर्फ ढल्केको छ । उन्नाइसौं र बीसौं शताब्दीको औद्योगिक पुँजीवादले व्यापक मात्रामा वस्तुको उत्पादन गर्थ्यो । उपभोक्ता, कामदार र जनतासँग त्यो अन्तरनिर्भर थियो । त्यसविपरीत सर्भेलेन्स पुँजीवादले डाटामा आश्रित तर सर्भेलेन्स पुँजीवादको प्रक्रियाबारे अनभिज्ञ सर्वसाधारणलाई सिकार बनाएको छ ।

सर्भेलेन्स पुँजीवादले जनताको आत्मनिर्णयको मनोवैज्ञानिक र राजनीतिक आधारलाई चुनौती दिएको छ । त्यस्ता निगमहरूले जनताको निम्न चेतना, अज्ञानता, सहायताबेगरको सिकाइ, असावधानी, असुविधा, आदत वा खास उद्देश्य नबोक्नेजस्ता मानवीय कमजोरीलाई प्रयोग गर्दै जनता वा प्रयोगकर्तालाई जालमा पार्छन् र उनीहरूको ‘आत्मनिर्णय’ माथि नराम्ररी प्रभावित गर्छन् । उदाहरणका रूपमा, यदि हामी नियमित रूपमा किन्डल प्रयोग गर्छौं भने डाटा, अनुहार पहिचान र बायोमेट्रिक सेन्सरहरूद्वारा त्यो व्यक्ति के मन पराउँछ वा मन पराउँदैन, उसको मनोभाव के छ, कस्तो पुस्तक पढ्दा उसको शरीरमा के प्रभाव पर्छ भन्ने कुरा अमेजनले थाहा पाउँछ । यहाँसम्म कि, त्यस्ता भीमकाय निगमहरूले भविष्यमा मानव दिमागलाई समेत ह्याक गर्न सक्छन् ।

सर्भेलेन्स पुँजीवादको अर्को रूप राजनीतिक अभियान या चुनाव अभियानलाई प्रभाव पार्नु पनि रहेको छ । ‘द ग्रेट ह्याक’ डकुमेन्ट्री फिल्ममा क्याम्ब्रिज एनालिटिक नामक कम्पनीले फेसबुकलाई प्रयोग गरी सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित गरेको देखाइएको छ । सो विवादका कारण फेसबुकले आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचनको मितिभन्दा एक हप्ताअगाडिदेखि राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको छ । सन् २०१० देखि २०१२ सम्मको अरब विद्रोह र २०१८ को फ्रान्सको ‘पहेंलो भेस्ट आन्दोलन’ समेत सामाजिक सञ्जालको भूमिकाका कारण शक्तिशाली बनेका थिए । जुबोफको विचारमा अहिलेको सर्भेलेन्स पुँजीवाद माथिबाट गरिएको सत्तापलटजस्तै हो ।

अबको विश्व र हामी

माथिका तथ्य र विश्लेषणलाई हेर्दा अहिलेको पुँजीवादको मूल चरित्र डाटा पुँजीवाद वा डाटा प्रभुत्ववाद रहेको छ । बिग डाटाको विकास, कम्प्युटरको गणना गर्ने क्षमतामा गुणात्मक फड्को, एआईको विकास एवं जैविक रासायनिक र जैविक प्राविधिक क्षेत्रमा देखिएको फड्कोका कारण अबको सामाजिक–आर्थिक रूपान्तरणको स्वरूप विगतको भन्दा नितान्त भिन्न हुनेछ । अल्गारिदमको प्रयोगबाट मानिसहरूका जैविक रासायनिक डाटाहरूको विश्लेषण गरी मानिसहरूले के सोच्दै छन् र उनीहरूभित्र कस्तो संवेदना प्रकट भएको छ, कस्ता रोगहरू देखा पर्दै छन् वा पर्न सक्छन् भन्ने सुरुमै थाहा पाउन सकिने हुँदा कैयौं रोगको उपचार सहज र सम्भव हुने कुराजस्ता कैयौं सकारात्मक पक्ष पनि छन् ।

यो २१ औं शताब्दीको पुँजीवादको मुख्य रूप डाटाको संकलन, खरिद–बिक्री (विशेष रूपले निजी डाटाको खरिद–बिक्री) बन्न पुगेको छ । फेसबुक लगायतका सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले पोस्ट गरेका निजी डाटाहरू ती व्यक्तिले केही समयपछि बिर्सन सक्छन्, तर ती निगमहरूले अनन्तसम्म सुरक्षित राख्छन्, त्यसको विश्लेषण गर्छन् र त्यस आधारमा व्यापारलगायत विभिन्न क्षेत्रमा आफ्ना रणनीति तयार गर्छन् । ती ठूला निगमहरू निरन्तर धनी बन्दै छन् र देश–देशबीचको अन्तर पनि चुलिँदै छ । तिनीहरू डाटा (सूचना र ज्ञान) लाई नियन्त्रण गर्ने होडमा छन् । आजको अमेरिका र चीनबीचको व्यापारयुद्धको चुरो प्रश्न सूचना, प्रविधि र ज्ञानमाथि कसले कसलाई उछिन्ने भन्ने रहेको छ ।

विश्व अर्थतन्त्र मूल रूपले वस्तु आधारितबाट ज्ञान आधारितमा फेरिएको छ । पहिला धनको मुख्य स्रोत भौतिक सम्पत्ति, सुनखानी, जमिन, तेलका कुवा आदिलाई मानिन्थ्यो । जमिन, सुनका खानी र तेलका कुवा लडाइँबाट जित्ने र कैयौं देशमा उपनिवेश खडा गरिन्थ्यो । तर अहिले ज्ञानद्वारा विजय प्राप्त गर्ने होडमा देशहरू रहेका छन् । डाटा र प्रविधिमा आएको यो क्रान्तिले गर्दा सडकमा चालकरहित गाडी वा रोबोटले गाडी चलाउने, डाक्टरका रूपमा अपरेसन गर्ने, सुरक्षा गार्डको काम गर्ने, घरको सफा गर्ने, होटल –रेस्टुराँमा वेटरको काम गर्ने, पढाउने, सामान बिक्री गर्ने, उद्योग, व्यापार, कृषिलगायत अनेकौं क्षेत्रमा रोबोट र एआईको प्रयोगका कारण थुपै पेसा र कामदारहरूको पेसा जोखिममा परेको छ वा पर्नेछ । इनटुइट नामक संस्थाको अनुमानमा सन् २०२० सम्ममा संयुक्त राज्य अमेरिकामा मात्र १० देखि ५० प्रतिशत कामहरू जोखिममा पर्नेछन्् । ४० प्रतिशत कामदारहरू स्वतन्त्र ठेकेदार हुनेछन् । त्यहाँ गिग अर्थतन्त्र (अस्थायी काम तथा कामदारहरू रहने व्यवस्था) सामान्य बन्नेछ । कम्पनीहरूले कामदारहरूलाई केवल छोटो अवधिका लागि मात्र काममा भर्ती गर्नेछन् । चीनमा फक्स्कन नामक कम्पनीले रोबोटको प्रयोग गरी सन् २०१६ यताका दुई वर्षमा मात्र ६० हजार कामदारहरूलाई बिदा दिएको छ । एआईसम्बन्धी विद्वान् र वैज्ञानिक काई फु लीका अनुसार, यस क्रान्तिले एउटा ‘काम नलाग्ने’ वर्गको सृजना गर्नेछ । उनी भन्छन्– ५० वर्षको उमेरसम्म गाडी चलाइरहेका चालकलाई त्यस उमेरमा रोबोटले विस्थापन गर्‍यो भने उनीहरू बेकामे हुनेछन् । अर्को पेसा सिक्न उनीहरूका लागि त्यस उमेरमा असम्भव हुनेछ । त्यस अवस्थामा ती क्षेत्र र व्यक्तिहरूलाई कसरी अन्य क्षेत्र वा पेसाका लागि सक्षम बनाउने भन्ने प्रश्न सरकार र पार्टीहरूका काँधमा आइसकेको छ । डाटा सुरक्षा र डाटा गोपनीयतासम्बन्धी कानुनी र अन्य बन्दोबस्त आवश्यक बनेको छ ।

उपर्युक्त तथ्य र जानकारीले हामीलाई के सिकाउँछ भने, हिजोको परिस्थिति वा अनुभवको व्याख्या गरेर आजको समाजको नेतृत्व गर्न, रूपान्तरण गर्न सम्भव छैन । एक जना विद्वान्ले भनेका छन्, ‘इतिहासकारहरू विगतको अध्ययन यसलाई दोहोर्‍याउन होइन, त्यसको कमजोरीबाट आफूलाई मुक्त गर्नका लागि गर्छन् ।’ तसर्थ नेपालले विश्वको यो मार्गचित्रको गहिरो अध्ययन गर्दै तदनुरूप आफूलाई बदली अगाडि बढ्न तयार पार्नुपर्छ । सरकार, राजनीतिक दलहरू, प्रशासनयन्त्र, सुरक्षा अंग, शैक्षिक क्षेत्रको सांगोपांगो रूपान्तरणबिना यो सम्भव छैन । त्यसमध्ये पनि सबैभन्दा महत्त्वपूर्ण रणनीतिक विषय हो– शिक्षाको सुधार । नयाँ खोज र प्रविधिको प्रयोगद्वारा नयाँ नेपालको नयाँ उचाइको अर्थतन्त्रको जग बसाल्नुपर्छ र जनताका मागलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ ।

(पाण्डे पूर्वअर्थमन्त्री हुन् ।)

प्रकाशित : आश्विन ४, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?